शुक्रबार, २ साउन २०८२

कानुन विपरीतको कार्य नगर्न कन्सल्टेन्सीहरूलाई शिक्षा मन्त्रालयको चेतावनी

समयपोष्ट २०८१ माघ २१ गते १७:२०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक परामर्श सेवा प्रदायक संस्था (कन्सल्टेन्सी) लाई कानुन विपरीतका कार्य नगर्न कडा चेतावनी दिएको छ। कतिपय कन्सल्टेन्सीहरू अनुमति दिएको स्थानभन्दा बाहिर गएर सेवा प्रदान गरिरहेको र अनुमति प्राप्त नभएको स्थानमा शाखा सञ्चालन गरेको गुनासो आएपछि मन्त्रालयले यस्तो निर्देशन जारी गरेको हो।

मन्त्रालयले अनुमति प्राप्त संस्थाहरूलाई शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षण सम्बन्धी निर्देशिका, २०७३ अनुसार मात्र सेवा सञ्चालन गर्न सचेत गराएको छ। मन्त्रालयअन्तर्गत शैक्षिक परामर्श तथा प्रमाणीकरण शाखाका उपसचिव सेमन्तराज कोइरालाले एक सूचना जारी गर्दै निर्देशिका विपरीत सञ्चालन गरेको पाइएमा कारबाही हुने चेतावनी दिएका छन्।

सूचनामा उल्लेख भएअनुसार, निर्देशिकाले तोकेको अधिकार क्षेत्र बाहिर गएर सेवा सञ्चालन गरेमा निर्देशिकाको दफा ६ अनुसार सम्बन्धित संस्थाको स्वीकृति रद्द गरिनेछ।

२०७५ साल १४ गतेभन्दा अगाडि स्थापना भएका कन्सल्टेन्सीहरूको यो वर्ष नवीकरण गरिएको थियो। तर, नवीकरण गरेका कतिपय संस्थाहरूले अनुमति नलिई शाखा विस्तार गर्ने तथा तोकिएको स्थानभन्दा बाहिर सेवा दिने गरेको गुनासो मन्त्रालयमा पुगेको छ। मन्त्रालयले यस्ता गतिविधिहरू तुरुन्त बन्द गर्न आग्रह गर्दै कानुन उल्लङ्घन गर्ने संस्थामाथि कडा कारबाही गरिने चेतावनी दिएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री