‘पर्यटकीय क्षेत्रको संरक्षणमा लागेका छौँ’: मुख्यमन्त्री कमलबहादुर शाह
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सरकार पर्यटकीय क्षेत्रको संरक्षण र विकासमा निरन्तर लागेको बताउनुभएको छ ।
प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन एकाइ धनगढीले कैलालीको घोडाघोडी नगरपालिका–१ स्थित घोडाघोडी सिमसार क्षेत्रमा आज आयोजना गरेको रैथाने तथा प्रवासी पन्छी अवलोकन कार्यक्रममा उहाँले विशेष गरी प्रदेशमा रहेका पर्यटकीय क्षेत्रको विकासमा सरकार लागेको बताउनुभयो ।
“सुदूरपश्चिममा ऐतिहासिक, धार्मिक, पुरातात्विक महत्वका धेरै स्थान छन् । यी सबैलाई पर्यटनसँग जोडेर अगाडि बढ्नुपर्छ”, उहाँले भन्नुभयो, “रोजगारी सिर्जना, आयआर्जन, आर्थिक वृद्धि पनि हुने गरी समृद्धिका बाटा सँगसँगै बनाएर जानुपर्ने हुन्छ । यस्ता क्षेत्रमा सरकार लगानी गर्न तयार छ ।”
घोडाघोडी सिमसार क्षेत्रलाई पनि पर्यटनसँग जोडेर अगाडि बढ्नुपर्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “घोडाघोडी सिमसार क्षेत्रमा रैथाने मात्रै नभएर प्रवासी चरा पनि आउने भएकाले अन्तर्राष्ट्रियस्तरका पर्यटक भित्र्याउने वातावरण कसरी बनाउने भन्ने बिर्सिनुहुँदैन । यसलाई पर्यटनसँगै जोडेर लैजान जरुरी छ ।”
“स्वदेशी तथा विदेशी चराको बासस्थान बन्दै आएको यस क्षेत्रलाई हामी पर्यटनसँग जोडेर अगाडि बढ्न चाहान्छौँ”, मुख्यमन्त्री शाहले भन्नुभयो, “अन्तर्राष्ट्रिय क्षेत्रले पनि मान्यता दिएको यो क्षेत्रको महत्व निकै ठूलो छ । राज्य, स्थानीय सबैले यो क्षेत्रको महत्व कति छ भन्ने कुरा बुझ्न जरुरी छ ।” पर्यटन क्षेत्रको विकासमा लाग्ने क्रममा आयआर्जन हुने, ठूलो पर्यटनको विकास हुने आयोजनामा मात्रै अगाडि बढ्ने प्रदेश सरकारको नीति रहेको उहाँले प्रष्ट पार्नुभयो ।
सुदूरपश्चिमका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रमेशसिंह धामीले खासगरी घोडाघोडी क्षेत्र जनताका जनजीविका, पर्यटन, रोजगारीसँग जोडिएको क्षेत्र भएको बताउनुभयो । उहाँले घोडाघोडी सिमसार क्षेत्रलाई दुई वर्ष पहिले घोषणा भएको ‘वर्ड सेञ्चुरी’ कार्यक्रमलाई मन्त्रालयले निरन्तररुपमा अगाडि बढाइ रहेको बताउँदै तीनै तहका सरकारले यस्ता क्षेत्रको समग्र विकासको योजना अगाडि बढाउनुपर्नेमा जोड दिकनुभयो ।
“विश्व रामसार सूचीमा सूचीकृत यो घोडाघोडी सिमसार क्षेत्रलाई विश्वले चिनेको छ”, उहाँले भन्नुभयो, “यहाँ विश्वभरका पर्यटक आउँछन् । यसको संरक्षण, प्रवद्र्धन गर्न जरुरी छ । यसका लागि प्रदेश सरकारको सधँै सहयोग रहने छ ।”
सुदूरपश्चिम प्रदेश वन निर्देशनालयका निर्देशक हेमराज विष्टले यस क्षेत्रमा नेपालभित्रका मात्रै नभएर साइबेरिया, मङ्गोलियाबाट चरा आउने बताउनुभयो । उहाँले घोडाघोडी ताल क्षेत्रमा २४ प्रजातिका वन्यजन्तु, ३२ प्रजातिका माछा, ३२ प्रजातिका पुतली, तीन सय प्रजातिका रैथाने तथा बसाइँसराइ गरी आउने चरा, छ सय ४७ प्रजातिका वनस्पति, २२ प्रजातिका शङ्खेकिरा, १२ प्रजातिका सीपिहरु र सात प्रजातिका घसे्रर हिँड्ने जीव रहेको बताउनुभयो ।
प्रतिक्रिया