
चालू आर्थिक वर्षको पहिलो ६ महीनामा देशभर करीब ९ लाख कित्ताकाट भएका छन् । गत वर्ष भने सोही अवधिमा साढे ५ लाख कित्ताकाट मात्रै भएका थिए । चालू वर्षको तथ्याङ्क गत वर्षको सोही अवधिको भन्दा ६० प्रतिशत बढी हो ।
चालू वर्षको साउनदेखि पुस सम्म ३ लाख ८१ हजार कित्ता जग्गालाई काटेर ८ लाख ७४ हजार कित्ता कायम गरिएको भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्याङ्क छ ।
गत वर्ष सोही अवधिमा भने २ लाख ४९ हजार कित्ता जग्गा काटेर ५ लाख ५६ हजार टुक्रा कायम गरिएको थियो ।
घरजजग्गाको कारोबारमा कमी आइरहेको बेलामा कित्ताकाटको तथ्याङ्क भने डरलाग्दो देखिएको विभागका अधिकारीहरु बताउँछन् ।
जग्गाको मूल्य बढ्दा कित्ताकाट पनि बढ्यो
घरजग्गाको मूल्य बढेको बढ्यै भएपनि जग्गा किन्नेहरुको आम्दानी नबढ्दा सानो सानो टुक्रा जग्गाको किनबेच बढेको घरजग्गा व्यवसायीहरु नै बताउँछन् ।
आज भन्दा २/४ वर्ष अघि सम्म काठमाडौंमा जग्गा किन्नेहरुले कम्तिमा ४ आना जग्गा किन्थे । तर अहिले जग्गाको मूल्य यति धेरै बढेको छ की त्यतिबेला ४ आना जग्गा किन्ने पैसाले अहिले १ आना जग्गा पनि किन्न सकिन्न ।
मानिसहरुको किन्ने क्षमता घटेसँगै जग्गा व्यवसायीहरुले स-साना टुक्रा जग्गाको विक्रीवितरण बढाएका छन् । वर्षेनी दोब्बर कित्ताकाट हुनुमा यो पनि एउटा कारण रहेको व्यवसायीहरु बताउछन् ।
अहिले काठमाडौमा २ आना २ पैसा देखि ३ आना २ पैसा सम्मका घडेरीहरुको विक्री बढी हुने गरेको छ । जवकी केही समय अघि सम्म ४, ५ र ६ आनाका घडेरीहरु बढी विक्री हुन्थे ।
उपत्यका बाहिर तराइका जिल्लामा पनि केहि समय पहिले सम्म घडेरीका लागि कम्तिमा १/२ कठ्ठा जग्गा किन्ने चलन थियो । तर अहिले घरजग्गाको मूल्य निकै बढेपछि मानिसहरु ५ देखि ७ धुर सम्मका घडेरीहरु किन्न थालेका छन् । यसै कारण कित्ताकाटको संख्या पनि बढिरहेको छ ।
कित्ताकाटमा अनेक विकल्पको प्रयोग
कित्ताकाटमा रोक लगाएको भएपनि यति धेरै कित्ताकाट कसरि भइरहेको छ भन्ने प्रश्न उठ्ने गरेको छ ।
अंशबण्डा र अदालती आदेश ल्याएर कित्ताकाट गर्नेको संख्या पछिल्लो समय निकै बढेको मालपोत कार्यालयहरू नै बताउँछन् ।
नियमसँगत वर्षमा २ पटक कित्ताकाट गर्न पाउने नियमले आवश्यक परेको बेला जग्गा बेचौला भनेर पहिलेनै कित्ताकाट गरेर राख्नेहरु पनि बढेका छन् । यसकारण पनि कित्ताकाटको ग्राफ पछिल्लो ५ वर्ष देखि निरन्तर उकालो लागेको विभागको भनाई छ । आजको आर्थिक अभियान दैनिकमा यो समाचार छ ।










प्रतिक्रिया