बीमा व्यवसायमा आफ्नो उपस्थितिलाई दीर्घकालीन बनाउनुपर्ने चुनौती थपिएको छ : नेपाल इन्स्योरेन्सका सिइओ विजयबहादुर शाहको अन्तर्वार्ता
नेपाल इन्स्योरेन्सको पछिल्लो अवस्था कस्तो छ ?
अघिल्लो वर्षको तुलनामा कम्पनीले तुलनात्मक रूपमा बढी व्यवसायिक कारोबार गरेको अवस्था छ । यसले पहुँच अभिवृद्धि गर्दै लगिरहेको छ । हामीले पाँचवटा नयाँ शाखा खोल्यौँ र २१ वटा पोइन्ट अफ सेल्स पनि थप्यौँ । त्यस हिसाबले गत वर्षको तुलनामा २६ वटा नयाँ ठाउँबाट ग्राहकहरूले सेवा पाइरहेको अवस्था छ । यो वास्तवमा असाध्यै उत्साहप्रद पनि हो । ७० वर्षको इतिहासमा यस कम्पनीले जम्मा १९ वटा शाखा मात्र खोलेको थियो । कम्पनीले चाहँदा–चाहँदै पनि पहुँच केही ठाउँमा सीमित देखिएको थियो । त्यस कारण अहिले हामी नेपाल इन्स्योरेन्सलाई कसरी नेपालीको घर–घरमा पुर्याउन सकिन्छ, कसरी यसको व्यवसायिक सञ्जाललाई विस्तार गर्न सकिन्छ भन्नेतीर लागेका छौँ ।
बीमा भनेकै जोखिमको व्यवस्थापन गर्ने र त्यो जोखिमबाट उत्पन्न दाबीहरूको सकेसम्म छिटो र उचित फछ्र्यौट हुनुपर्ने सिद्धान्तमा आधारित व्यवसाय हो । त्यसैले दाबीलाई अझ चुस्त बनाउनका लागि विभागमा भएका स्रोतहरूलाई अधिकतम परिचालन गरिएको छ । त्यतिले मात्र हाम्रो भविष्यको मागलाई धान्न सक्दैन कि भनेर भर्खरै मात्र दाबी विभागमा वरिष्ठ प्रबन्धकको पद खुला गराएका छौँ । त्यसैले हामीले यो विभागलाई अझ बढी सुदृढ र जनमुखी बनाउँदै लैजाने काम गरिरहेका छौँ । समष्टिगतरूपमा नेपाल इस्योरेन्सको आर्थिक वर्ष २०७४–७५ को व्यवसायिक कारोबार उत्साहप्रद नै छ ।
यहाँहरूले पुँजी वृद्धिको लागि सतप्रतिशत हकप्रद प्रस्ताव गर्नुभएको छ, हकप्रदपछि पुँजी कति हुन्छ र कसरी पुर्याउँदै हुनुहुन्छ ?
हामीले पुँजी वृद्धि गर्ने कार्ययोजनाहरू बीमा समितिले तोकेकै समयमा पेस गरिसकेको अवस्था हो । अहिले कम्पनीको चुक्ता पुँजी ३० करोड रूपैयाँ छ । हामीले १ बराबर १ सतप्रतिशतका दरले हकप्रद सेयर निष्कासन गर्नका लागि धितोपत्र बोर्डसँग निष्कासन अनुमति माग गरेका छौँ । त्यति भइसकेपछि हाम्रो चुक्ता पुँजी ६० करोड रूपैयाँ पुग्छ । बीमा समितिले निर्दिष्ट गरेको १ अर्ब पुर्याउन फेरि केही हकप्रद दिनुपर्ने अवस्था रहन्छ । हाम्रो आर्थिक वर्ष ०७३–७४ को साधारण सभा भइनसकेको अवस्था छ । हामीले हकप्रद जारी गरिसकेपछि कति पुँजी अपुग हुन्छ, त्यसलाई मध्यनजर गर्दै आगामी साधारण सभाबाट सो सम्बन्धमा उचित निर्णय दिने छौँ । त्यही साधारण सभाले नै नियामक निकायले तोकेको समयभित्र तोकेको चुक्ता पुँजी पुर्याउन आवश्यक निणर्य गर्ने छ ।
बीमा क्षेत्रमा पुँजी वृद्धिका लागि हकप्रद र बोनसबाहेक अन्य विकल्प छैनन् ?
विकल्प छन् । साधारणतया पुँजी वृद्धि गर्दा नयाँ कम्पनी हो भने लगानीकर्ताले पैसा राख्नुप¥यो । चलिरहेको कम्पनी हो भने उसले आर्जन गरेको मुनाफालाई पुँजीकृत गर्दै लैजाने र नपुग रकमहरूलाई लगानीकर्ताले हाल्ने नै हो । संसारभरि यही नै प्रक्रिया हो । कतिपयको कम्पनी स्थापना भएको समय हेरेर पुरानै लगानीकर्ताले पनि हाल्न सक्छ । या स्ट्राटिजिक पार्टनरको हिसाबले कोही नयाँ लगानीकर्ता भित्रिन सक्ने अवस्था रहन्छ । साधारणतया पुँजी वृद्धिको योजना यसैको सरोफेरोमा रहेर बनाउने हो ।
नेपाल इन्स्योरेन्सको हकमा यो कम्पनी विगत ७१ वर्षदेखि सञ्चालनमा आइरहेको कम्पनी हो । साथै, एउटा लेबलको कारोबार गरिरहेको र पुँजी पनि भएको कम्पनी हुनाले आफूले आर्जन गरेको मुनाफालाई पनि पुँजीकृत गर्दै लैजाने र त्यसमध्ये अपुग भएको रकम सेयरधनीहरूलाई हकप्रद सेयर आह्वान गरेर पुर्याउने योजना छ ।
बीमा क्षेत्रमा नयाँ बीमा कम्पनी आएसँगै एक किसिमको अस्वस्थ प्रतिस्पर्धा देखिन्छ । यसले दीर्घकालीनरूपमा कस्तो असर गर्ला ?
नयाँ कम्पनीहरू आइसकेपछि बीमा बजार तरङ्गित भइराखेको अवस्था छ । नयाँ शाखा विस्तार गर्ने, नयाँ जनशक्तिहरूको विकास गर्ने, नयाँ ठाउँहरूमा आफ्नो पहुँच अभिवृद्धि गर्ने, त्यो स्वाभाविक प्रक्रिया नै हो । व्यवसाय गर्दा संसारमा सबै वस्तुहरू चलायमान छन् । त्यस कारण पुँजी पनि जता बढी प्रतिफल आउँछ, जता बढी सुरक्षा छ, त्यता जाने, कर्मचारीहरू पनि उहाँहरूले जतापट्टि बढी भविष्य देख्नुहुन्छ, त्यतै आकर्षित हुने हुन्छ । मलाई यो नियमित प्रक्रिया जस्तो लाग्छ । त्यति हुँदाहुँदै पनि बीमा क्षेत्रमा हाल कार्यरत जनशक्ति अपर्याप्त रहेको हुनाले एउटा कम्पनीमा कार्यरत कर्मचारीलाई अर्को कम्पनीमा लगेर मात्र समस्याको समाधान हुँदैन । यस आवश्यकताको परिपूर्तिको लागि दीर्घकालीन योजना बनाउन जरुरी छ । दीर्घकालीन योजना भनेको बीमाको जनशक्ति कसरी विकास गर्ने, बीमालाई पाठ्यक्रमका रूपमा कसरी परिचित गर्ने, बीमाप्रतिको जागरुकता व्यवसायिको मात्र नभएर विद्यार्थीको, आमनागरिकको कसरी अभिवृद्धि गर्दै लैजाने यिनै चुनौतीहरू छन् ।
मलाई लाग्छ, नेपाली बीमा क्षेत्रलाई एउटा अवसर आएको छ । एक्कासि धेरै कम्पनीहरू आएका छन् । सबैलाई यस व्यवसायमा आफ्नो उपस्थितिलाई दीर्घकालीन बनाउनुपर्ने चुनौती छ । यस्तो परिप्रेक्ष्यमा भएका स्रोत–साधनहरूलाई अपग्रेड गर्दै लैजाने र नयाँ स्रोत–साधनहरूलाई क्रमशः आकर्षित गर्दै लैजाने चुनौती छ । मैले यसलाई अवसरको रूपमा लिएको छु । बीमा क्षेत्रमा कार्यरत हामी जति पनि छौँ, यसलाई अझ समृद्ध पार्दै लैजानेतिर अग्रसर हुनुपर्छ ।
नेपालमा बीमासम्बन्धी प्रशिक्षण दिने संस्था छैन, अहिले जनशक्ति अभाव महसुस भयो । अब बन्छ त तालिम केन्द्र ?
बीमा क्षेत्रमा तालिम केन्द्रको आवश्यकता छ भन्ने कुरा बीमा क्षेत्रमा आबद्ध सबैलाई महसुस भइसकेको छ । पहिले महसुस गराउनै जरुरी थियो, किनभने यसले पेरिनियलरूपमा अथवा कन्टिनियोस्ली त्यस संस्थालाई आवश्यक पर्ने जुन तालिमहरू छन्, त्यो तालिम सञ्चालन गर्न सक्छ कि सक्दैन भन्ने किसिमको द्विविधा देखिएको थियो । तर अहिले बीमामा प्रत्यक्षरूपमै करिब–करिब पाँच हजार मानिसले रोजगारी पाइसकेको अवस्था छ ।
यो क्रमशः बढ्दो अवस्थामा रहेको हुनाले बीमाको लागि तालिम दिने डेडिकेटेड संस्थाको खाँचो रहेको कुरा सबै बीमा कम्पनीलाई महसुस भइसकेको छ र नियामक निकायलाई पनि थाहा छ । यसको सुरुवात कहाँबाट गर्ने त भन्दा केही शैक्षिक संस्थाहरूले यसलाई ऐच्छिक रूपमा राखेको अवस्था छ । जस्तै– पोखरा विश्वविद्यालयले राखेको होला, त्रिविले एक सेमेस्टर एक पटक ऐच्छिक रूपमा राखेको थियो । जसमा रिसोर्स पर्सनको रूपमा म पनि थिएँ । त्यसपछि त्यसमा निरन्तरता भएन । केही अन्य संस्थाहरूले बीबीए, बीबीएसमा बीमाको बारेमा केही जानकारी दिनुपर्छ भन्ने महसुस गरिसकेको अवस्था छ । त्यति हुँदाहुँदै पनि बीमामा काम गर्ने जनशक्तिलाई कसरी अध्यावधिक गर्ने भन्ने सन्दर्भमा तालिमको खाँचो हामी सबैलाई महसुस भएको हुनाले अब सङ्गठितरूपमा गर्नुपर्छ भन्ने किसिमबाट एक चरण हाम्रो छलफल भइसकेको छ । निकट भविष्यमै नियामक निकायको संयोजकत्वमा बीमा कम्पनीहरूले तालिम सञ्चालन गर्ने भन्नेसम्बन्धी केही निर्णय हुने विश्वास मैले राखेको छु । त्यो भइसकेपछि जीवन तथा निर्जीवन बीमा दुवैलाई आवश्यक जनशक्तिको लागि एउटा पाठ्यक्रम तयार गरेर तालिम दिन सुरु गर्छौं ।
बीमाको पहुँच बढाउन नयाँ–पुराना कम्पनीहरू कसरी जानुपर्ला ?
लगानी त्यो ठाउँमा आउँछ, जहाँ लगानीकर्ताले सम्भावित प्रतिफल देखेको हुन्छ । त्यो प्रतिफल उसको पुँजीको खर्चभन्दा बढी हुनुपर्छ । यो परिप्रेक्ष्यमा कसैले अल्पकालीनरूपमा हेरेको होला, कसैले दीर्घकालीनरूपमा हेरको हुन सक्छ । हामी सबैलाई के चुनौती छ भने हिजो १० करोड चुक्ता पुँजी हुँदा जुन व्यवसाय गरेका थियौँ, त्यही व्यवसायमा बस्यौँ भने हामीले सय करोड अथवा दुई सय करोडको लगानीलाई जष्टिफाई गर्न सक्दैनौँ । त्यसैले हामीले हाम्रो व्यवसाय वृद्धि गर्नु नै छ । १० करोडपछि चुक्ता पुँजी २५ करोड भयो । २५ बाट सय करोड हुँदैछ । जब हाम्रो पुँजी नै ४ गुणा बढेको छ भने हामी सबैले त्यही तुलनामा व्यवसाय वृद्धि गरेनौँ भने हाम्रा लगानीकर्ता अथवा हामीसँग आबद्ध स्टेक होल्डरहरूले उचित प्रतिफल पाउँदैनन् । यो त्यहीँबाट गाइडेड छ । त्यस कारण बीमाको पहुँच अभिवृद्धि गर्ने, बीमाका प्रडक्टहरूको विविधीकरण गर्ने, हिजोको दिनका जस्ता परम्परागत प्रडक्टहरू मात्र नभई नयाँ प्रडक्टहरू ल्याउने, जोखिम हस्तान्तरणका बारेमा व्यापक रूपमा लागिपर्ने बाध्यता हामीलाई छ । त्यस कारण भोलिका दिनमा निश्चय पनि बीमाको पहुँचको दायरा धेरै नै बढ्छ भन्नेमा म आशावादी छु ।
हामीलाई बल्ल एउटा एक लेबलको चुनौती आएको छ । हिजोका दिनमा हामी साना थियौँ र आफ्नै दुनियाँमा रमाइरहेको अवस्था थियो । अब सबै कम्पनीहरूले आफूलाई राष्ट्रियरूपमा स्थापित गरिसकेका छन् । शाखाहरूको व्यापक वृद्धिमा लागिरहेका छन् । नयाँ थप जनशक्तिलाई रिक्रुट गरिरहेको अवस्था छ । यी सबैले बीमाकै बारेमा भन्ने र बुझाउने हो । त्यस कारण आगामी दिनमा बीमाको पुहँच व्यापक रूपमा अभिवृद्धि हुन्छ भन्नेमा म आशावादी छु । यसमा जति पनि हामीहरू लागिपरेका छौँ, अर्को उचाइ छुनका लागि हामी सबै लाग्नुपर्छ । लागेपछि अवस्य गन्तव्यमा पुगिन्छ ।
नेपाल इन्स्योरेन्सलाई अब कसरी अगाडि बढाउँदै हुनुहुन्छ, के छन् आगामी योजना ?
नेपाल इन्स्योरेन्स कम्पनी त्यो बेलाको निजी क्षेत्रको बैङ्क भनौँ नेपाल बैङ्क लिमिटेडबाट प्रवर्धित संस्था हो । त्यसमा नेपाल सरकारको पनि ठूलो लगानी रहेको छ । त्यति हुँदाहुँदै पनि नेपाल इन्स्योरेन्सको शक्ति भनेको यससँगै ७० वर्षभन्दा पुरानो इतिहास छ र नयाँ व्यवस्थापनको जोस छ । यी दुईवटाको संयोजन भयो भने व्यवसायले अर्को उचाइ छुन्छ ।
बीमामा सबैभन्दा ठूलो विश्वसनीयता हो । यस कम्पनीले ७१ वर्षदेखि त्यो विश्वसनीयता दिइरहेको हुनाले त्यो विश्वसनीयताको कसीमा यो कम्पनी खरो उत्रिएको छ । त्यही विश्वसनीयतालाई अझ अगाडि बढाउँदै यसलाई व्यवसायमा रूपान्तरण गर्नुपर्ने जुन चुनौती छ, त्यो हामीले स्वीकार गरिसकेका छौँ । त्यस कारण हामी अहिले व्यापक रूपमा सञ्जाल विस्तारमा लागेका छौँ । अर्को, नियामक निकायले तोकेको पुँजी उहाँहरूले तोकेको सीमाभन्दा अगाडि नै पुगोस् भनेर त्यही कार्ययोजना अनुसार काम भइरहेको छ । हामीले व्यापक रूपमा हाम्रो जुन जनशक्ति छ, त्यसलाई परिचालित गरिराखेका छौँ । हामीले हाम्रो जनशक्तिलाई लगातार नियमितरूपमा तालिमहरू दिइरहेका छौँ । उहाँहरूसँग भएका गाह्रो–अप्ठ्याराहरूलाई सम्बोधन गरिरहेका छौँ । यो संस्थालाई स्मार्ट कम्पनी बनाउनका लागि यसका सबै क्षेत्रहरूलाई अप्टिमाइञ्जड गर्न लागेका छौं । हामीले नयाँ कर्पोरेट भवनको निर्माण गर्दै छौँ । अब हामीले काम गर्ने तरिका फरक हुन्छ । हिजोका दिनमा जस्तो अब हामी बन्द कोठाभित्र हुँदैनौँ । खुला कार्यालयमा काम गर्छौं ।
हाम्रो कम्पनी ७१ वर्ष पुरानो भए पनि प्रविधिको मामिलामा धेरै कम्पनीहरू भन्दा अगाडि छ । यस कम्पनीका सबै शाखाहरू र पोइन्ट अफ सेल्सहरू अनलाइन छन् । ग्राहकहरूसँग हाम्रो नियमितरूपमा अन्तरक्रिया भइराख्छ । उहाँहरूसँग बीचमा छलफल, कुराकानी भइराखोस् भनेर हामीले विभिन्न सोसल मिडियाका प्लेटफर्महरू प्रयोग गरिरहेको अवस्था छ । त्यसैले यो कम्पनी स्मार्ट कम्पनीको रूपमा रूपान्तरित भएर हिजोका दिनबाट आर्जन गरेको विश्वासलाई व्यवसायमा कसरी रूपान्तरण गर्ने भनेर लागिपरेको छ । मलाई लाग्छ, आगामी दिन नेपाल इन्स्योरेन्सको लागि असाध्यै उज्याला छन् । अब यसले गरिरहेको व्यवसायमा ठूलो फड्को मार्छ ।
प्रतिक्रिया