शुक्रबार, १४ वैशाख २०८१

मध्यमस्र्याङदी जलविद्युत केन्द्र बन्द हुने, विद्युत आपूर्तिमा समस्या आउँला कि नआउँला ? यसो भन्छन् कुलमान

समयपोष्ट २०७४ फागुन ६ गते ६:१८

मध्यमस्र्याङदी जलविद्युत केन्द्र  फागुन १० बाट एक साताको लागि बन्द  हुने भएको छ । ७० मेगावाट  क्षमताको  केन्द्र  मर्मतका लागि बन्द गर्न लागिएको हो ।

Advertisement

मध्यमस्र्याङदीको बाँधको वायाँतिरको भाग पानीले हिर्काएर खोतल्दा पहिले बनाइएको संरचनामा क्षति पुगेको छ । थपक्षति हुन नदिन मर्मत गर्न लागिएको केन्द्र प्रमुख पशुपति गौतमले जानकारी दिए  ।

गतवर्ष नै  मर्मत गर्न लागे पनि भार प्रेषण केन्द्र (एलडिसी)बाट विद्युत व्यवस्थापनमा गाह्रो हुने बताएपछि रोकिएको उनले बताए ।

उनले  यस वर्ष नगरिए  थप क्षतिपुग्ने देखिएपछि सातदिनभित्र मर्मत सक्ने गरी एलडिसीबाट सट डाउन पाएको जानकारी दिए ।  गौतमकाअनुसार, मर्मतको काम २४ सै घण्टा तीन सिफ्टमा सञ्चालन हुने छ ।

मध्यमस्र्याङदीको विद्युत उत्पादन बन्द भएपनि यसका कारणले आम उपभोक्तालाई लोडसेडिङ गर्नु नपर्ने नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए ।

तर यसका कारणले कथंकदाचित प्रणालीमा कुनै समस्या आएमा विद्युत आपूर्ति कहीकतै कुनै समय अवरुद्ध हुन सक्ने घिसिङले प्रष्ट पारे ।

उनले भने ,‘यस अवधिमा लोडसेडिङ हुन नदिन कुलेखानी पहिलो र दोस्रो विद्युत गृह पूर्ण क्षमतामा चलाउने लगायतका वैकल्पिक व्यवस्थाको बन्दोवस्ती गरिसकेका छौं ।’ उनकाअनुसार, कुलेखानी जलाशयमा पानीको सतह १५२१.९८.मिटर छ, जुन गतवर्षको यही अवधिको तुलनामा करिव ३ं.८३ मिटर बढी हो । कुलेखानी पहिलोबाट ६० मेगावाट र दोस्रोबाट ३२ मेगावाट गरी ९२ मेगावाट विद्युत उत्पादन हुन्छ ।

केन्द्रबाट विद्युतको माग बढी हुने साँझ र विहान (पिकआवर)मा ७० मेगावाट र अन्य समयमा करिव ३० मेगावाट विद्युत उत्पादन हुन्छ । मध्यमस्र्याङदी अर्धजलाशययुक्त (पिकिङ रन अफ रिभर) आयोजना हो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री