बुधबार, १२ वैशाख २०८१

पार्टी एकताका लागि यस्ता छन् ‘प्याकेज छलफल’का एजेन्डा

समयपोष्ट २०७४ फागुन ६ गते १:२८

एमाले र माओवादी केन्द्रले पार्टी एकता र सरकार विस्तार प्याकेजमै टुंग्याउने गरी छलफल केन्द्रित गरेका छन् ।

Advertisement

आजको नयाँ पत्रिकामा खबर छ, प्रधानमन्त्री केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच शनिबार भएको छलफलपछि दुवै विषयलाई प्याकेजमै टुंग्याउने समझदारी भएको हो । छलफल सकारात्मक दिशामा अघि बढेको दुवै पक्षका नेताहरूको दाबी छ ।

‘एकता र सरकार गठन टुंगो लगाउने गरी सकारात्मक दिशामा छलफल अघि बढेको छ,’ छलफलपछि प्रचण्डले सञ्चारकर्मीसँग भने, ‘आइतबार पार्टी एकता संयोजन समितिको बैठकमा छलफल हुन्छ ।’

विदेशी शक्ति एकता भाँड्ने षड्यन्त्रमा : प्रचण्ड
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेपालमा वामपन्थीबीचको एकता भाँड्न विभिन्न तत्वले षड्यन्त्र गरिरहेको बताएका छन् । महोत्तरीको हात्तीनेटमा आयोजित कार्यक्रममा प्रचण्डले पार्टी एकता र गठबन्धनको प्रक्रिया सुरु भएदेखि पार्टी एकता हुन नदिन षड्यन्त्र भइरहेको दाबी गरे ।

‘नेपालमा ७० वर्षदेखि कहिल्यै राजनीतिक स्थिरता भएन, कुनै पनि सरकार पाँच वर्ष टिकेन । त्यसैले सुशासन, समृद्धि र समाजवादी नेपालको लागि कम्युनिस्ट शक्तिबीच एकता र वाम गठबन्धन जरुरी छ भनेर मैले नै प्रस्ताव अगाडि बढाएँ,’ प्रचण्डले भने, ‘जनताको चाहना पनि यही भएकाले अहिले झन्डै दुईतिहाइ बहुमत वामपन्थीको आएको छ । तर, वाम एकता नहोस् र नेपाली जनताले विकास निर्माण र समृद्धिको यात्रा प्राप्त गर्न नसकून् भनेर देशी विदेशी प्रतिक्रियावादी लागिपरेका छन् ।’

वाम गठबन्धनको झन्डै दुईतिहाइ बहुमत आएपछि एमाले र माओवादी केन्द्रलाई प्रलोभन र धम्की दिएर एकता भाँड्ने षड्यन्त्र भएको उनको भनाइ थियो । ‘निर्वाचनमा दुईतिहाइ आएपछि कहिले माओवादीलाई, कहिले एमालेलाई प्रलोभन र कहिले धम्की दिएर गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको छ,’ प्रचण्डले भने ।

यी हुन् प्याकेज छलफलका एजेन्डा
प्रधानमन्त्री ओली र प्रचण्डबीचको समझदारीअनुसार एकता संयोजनको बैठकमा पार्टी एकताका बाँकी विषय, मन्त्रिपरिषद् भागबन्डालगायत सबै मुद्दामा छलफल हुनेछ । सैद्धान्तिक–वैचारिक विषय र नेतृत्व करिब टुंगो लागिसकेकाले एकीकृत पार्टीको सांगठनिक स्वरूपका विषयमा संयोजaन समितिमा छलफल हुनेछ । दुवै अध्यक्षबीच अन्तरिम कालका लागि सकभर दुई अंकको केन्द्रीय कमिटी र छरितो स्थायी समिति बनाउने दिशामा छलफल भए पनि औपचारिक छलफल भएको छैन । तर, सरकारमा दुवैले आलोपालो नेतृत्व गर्ने समझदारी भइसकेको छ ।

राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख, राष्ट्रिय सभाको अध्यक्ष र उपाध्यक्षका साथै मन्त्रालय भागबन्डा टुंगो लाग्न बाँकी छ । १५ वटा मन्त्रालयमा दुवै पार्टीले चुनावी परिणामका आधारमा सम्मानजनक भागबन्डा गर्ने तयारी गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री