बिहीबार, १५ चैत २०८०

कोभिडले बीमालाई ग्रामीणस्तरसम्म चिनायो

समयपोष्ट २०७७ फागुन १४ गते ११:०८

Advertisement

निर्जीवन बीमा क्षेत्रमा कोभिडले कस्तो प्रभाव पर्यो ?
कोभिड–१९ ले बीमा व्यवसायको आवश्यकता तथा महत्व जनसुदायमा महशुस गराउन थप सहयोग गरेको छ । कोभिड बीमालेख जारीतर्फ उल्लेखनीय मात्रामा वृद्धि भए तापनि यसले अर्थतन्त्रमा पारेको प्रभावले गर्दा अन्य बीमालेखतर्फ आर्थिक गतिविधिमा आएको कमीले यसमा समेत कमी आउनु स्वभाविक हो ।

कोभिड–१९ ले अन्य क्षेत्रलाई जस्तै बीमा क्षेत्रलाई पनि नयाँ ढङ्गले अघि बढ्न सिकायो । बीमा क्षेत्रका लागि यो अवसर बन्यो कि चुनौती ?
कोभिडको महामारीले बीमा क्षेत्रमा चुनौती ल्याए पनि हामीले यसलाई अवसरको रुपमा हेरेका छौं । कोभिडको बीमालेखले बीमा बजारमा सचेतना ल्याएको छ । जनमानसमा बीमाको आवश्यकता तथा सचेतना थप वृद्धि गरेको छ । यसैबीचमा यस कम्पनीले अघिल्लो आर्थिक वर्षको प्रथम चौमासिक अवधिको तुलनामा यस आर्थिक वर्ष २०७७/०७८ को सोही अवधिमा बीमाशुल्क आर्जन ५० प्रतिशतभन्दा धेरैले वृद्धि गरेको छ ।

कोरोना बीमा धेरै विवादित भयो । यसले बीमा क्षेत्रमा कस्तो प्रभाव पारेको छ ?

मलाई लाग्दैन कि यो कोभिड बीमा विवादित भयो भनेर । दाबी भुक्तानीको हकमा केही कठिनाइ भए तापनि कोभिडले बीमालाई ग्रामीणस्तरसम्म चिनाएको तथा यसले बीमाको विश्वसनीयतासमेत बढाएको छ ।

जोखिम बहन गर्ने बीमा कम्पनीका अहिलेका मुख्य जोखिम के–के हुन् ?

बीमासम्बन्धी जनचेतनाको अभाव, दक्ष तथा अनुभवी कर्मचारीको अभाव, बीमा कम्पनीहरुबीच अस्वस्थ प्रतिस्पर्धा, सीमित बजार, नयाँ बीमालेख ल्याउन नसक्नु, ग्राहकको चाहनाअनुसार सेवा दिने चुनौतीजस्ता जाखिम बीमा कम्पनीहरुमा रहेका छन् ।

युनाइटेड इन्स्योरेन्सलाई ग्राहकले किन छान्ने ? के छन् यसका विशेषता ?

आजको समयमा बीमा कम्पनीले आफूलाई अन्य कम्पनीभन्दा फरक देखाउने एकमात्र माध्यम ग्राहक सेवा हो । त्यसैले हामीकहाँ ग्राहकका लागि सरल तथा सहज बीमा सेवा प्रक्रिया, शीघ्र दाबी भुक्तानी, दक्ष तथा अनुभवी कर्मचारी, डिजिटल माध्यमको सेवाजस्ता विशेषता भएकोले यस कम्पनी ग्राहकको प्राथमिकतामा पर्दछ ।

यो कम्पनीले बीमा योजनाको पहुँच वृद्धि गर्न के–कस्ता योजनाहरुका साथ अघि बढ्दैछ ?

विगत करिब तीन दशकदेखि ग्राहक सेवालाई निरन्तरता दिँदै बीमासम्बन्धी जनचेतनामूलक कार्यक्रममा अग्रसर हुने, नयाँ–नयाँ बीमालेखको विकासतिर जोड दिने, नयाँ बजारमा प्रवेश गर्ने तथा नयाँ प्रविधिको प्रयोगमा जोड दिई सरल एवम् शीघ्र बीमा सेवा, दक्ष जनशक्तिको नियुक्ति तथा कर्मचारीलाई तालिमको माध्यमबाट कार्यक्षमतामा थप सुधार गर्ने, दाबी भुक्तानी प्रक्रियामा थप सरलता तथा सहजता प्रदान गर्नेजस्ता विविध कार्य योजना कम्पनीको रहेको छ ।

कम्पनीको वर्तमान अवस्था र आगामी योजना के–के छन् ?

आ.व. २०७७ को सुरुको अवस्थामा १८औं स्थानमा रहेको यस कम्पनी दोस्रो त्रैमासिक अवधिको अन्त्यसम्म आइपुग्दा १५औं स्थानभित्र आइपुग्न सफल भएको छ । बढ्दो लोकप्रियतासँगै कम्पनीले ग्राहकसेवालाई प्राथमिकता दिँदै नयाँ बीमालेख जारी गर्ने, दक्ष जनशक्तिको नियुक्ति तथा निरन्तर तालिमको माध्यमबाट कार्य दक्षतामा सुधार गर्ने, नयाँ प्रविधिको प्रयोगमा जोड दिने चौबीसै घण्टा सेवा प्रदान गर्न पहल गर्नेजस्ता कार्ययोजना रहेका छन् ।

बीमा क्षेत्रकै पहिलो महिला निमित्त प्रमुख कार्यकारी अधिकृत हुनुहुन्छ । महिलाका लागि त्यस्तो केही स्पेसिफिक योजना ल्याउने सोच छ कि ?

कम्पनीको योजनालाई दुई तर्फी रुपमा हेर्नुपर्दछ– आन्तरिक तथा बाह्य । आन्तरिकरुपमा हेर्दा महिला विशेष योजनाभन्दा पनि महिला तथा पुरुष दुवैका लागि समायोजन गरेर सम्पूर्ण कर्मचारी योजनातर्फ हेर्नुपर्दछ । कर्मचारीका लागि सहज कार्य वातावरण, कर्मचारी तालिम तथा वृत्ति–विकासका विविध कार्ययोजनातर्फ जोड दिएका छौं । बाह्यरुपमा हेर्दा आफ्ना सम्पूर्ण ग्राहकवर्गका लागि ग्राहकसेवामा सरलता तथा सहजता प्रदान गर्नेतर्फ विशेष जोड दिएका छौं । महिलाका लागि महिला विशेष बीमालेख ल्याउन अध्ययनतर्पm लागिपरेका छौं ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री