सोमबार, १७ वैशाख २०८१

२० वर्षभित्र ४२ हजार मेगावाट विद्युत् उत्पादन गर्छौँ : ऊर्जामन्त्री

समयपोष्ट २०७७ माघ २२ गते १६:१६

Advertisement

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले नेपालमा आगामी २० वर्षभित्र ४२ हजार मेगावाट विद्युत् उत्पादन गर्ने गरी संरचना निर्माण भएको बताउँनुभएको छ ।

कुश्मा नगरपालिका–२ खुर्कोट र म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ मा स्थापना भएको नेपालकै दोस्रो ठूलो खुर्कोट–दाना सबस्टेशनको समुद्धघाटन कार्यक्रममा बिहीबार उर्जामन्त्री रायमाझीले विद्युत् उत्पादनभन्दा पनि खपतको समस्या रहेको बताउँदै परिमाणमा विद्युत् खपत गर्नुपर्ने ठूलो अवाश्यकता रहेको बताउनुभयो ।

उहाँले विसं २०७२ मा ओली प्रधानमन्त्री र आफू ऊर्जामन्त्री हँुदा नेपालको ऊर्जा क्षेत्रमा विकास गर्ने गरी ९९ बुँदे गुरुयोजना बनाएको र त्यसैको जगमा उभिएर अहिले ऊर्जा क्षेत्रमा धमाधम काम भइरहेको बताउनुभयो । उहाँले विगतमा झोलामा खोला हालेर हिँड्ने अवस्थालाई अन्त्य गरिएको बताउँदै सरकार टेक अर पे को नीतिअनुसार अघि बढेको बताउनुभयो । उहाँले व्यवसायीले तोकिएको समयभित्र योजना सम्पन्न नगरे जरिवना गर्ने र समयभित्रै सम्पन्न गरे विद्युत् खरीद गरिदिने नीति बनाएर सरकार अघि बढेको बताउनुभयो ।

अर्को प्रसङ्गमा नेकपा स्थायी कमिटी सदस्य रायमाझीले बहुमतप्राप्त प्रधानमन्त्रीलाई काम गर्न नदिएर सडकमा जानु विडम्वनापूर्ण भएको बताउँदै मुलुकको हित र रक्षाका लागि ताजा जनादेशमार्फत अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्साल, तत्कालीन संविधानसभा सदस्य कल्पना चापागाईँ, पूर्वसांसद पदम गिरी, प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीलगायतले सम्बोधन गर्नुभएको थियो ।

सो अवसरमा प्राधिकरणका कामु कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले कुश्मा–दाना सबस्टेशन र प्रसारण लाइन आयोजनाका बारेमा जानकारी गराउनुभएको थियो । विसं २०७३ जेठ १७ गते शुरु भएको योजना गत जेठ १८ मा सम्पन्न हुनुपर्नेमा केही ढिलाइ भएको छ । आयोजनाको अझै तीन प्रतिशत काम सम्पन्न गर्न बाँकी छ । कालीगण्डकी प्रसारण करिडोर आयोजना निर्माणका लागि जेभी अफ टाटा प्रोजेक्ट एण्ड चिन्ट इलेक्ट्रिक कम्पनीले जिम्मा पाएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री