बिहीबार, १३ वैशाख २०८१

मेगा बैङ्क नेपाली बजारमा पृथक पहिचान कायम गर्न सफल भएको छ

समयपोष्ट २०७७ माघ १९ गते ८:१५

Advertisement

कोभिड–१९ले थलिएको अर्थतन्त्र क्रमशः पुरानै लयमा फर्कन थालेको देखिन्छ । बैङ्कमा लोन लिन आउने लगानीकर्ताको मनोबल कस्तो पाउनुभएको छ ?

कोभिड–१९ले थलिएको अर्थतन्त्र क्रमशः पुरानै लयमा फर्कन थालेसँगै बैङ्कमा कर्जा लगानी पनि बढ्दो छ । समग्र बैङ्किङ क्षेत्रमा अघिल्लो आर्थिक वर्षको पहिलो पाँच महिनामा कुल कर्जा लगानी रु. १७९ अर्बले बढेकोेमा चालू आर्थिक वर्षको पहिलो पाँच महिनामा कर्जा रु. २४९ अर्बले बढेको पाइन्छ । यसलाई लगानीकर्ताको मनोबल बढेको मान्नुपर्छ । कोभिड महामारीको समयमा स्वदेशी तथा वैदेशिक रोजगारी गुमाएका धेरै युवाहरुमा अब साना तथा मझौला उद्योगहरुबाट आफ्नै कुनै व्यवसायमा आबद्ध हुनुपर्ने मानसिकताको विकास भएको छ । सरकारको नीति तथा कार्यक्रमहरुले पनि ती युवाहरुको परियोजनालाई प्रोत्साहन गरिरहेको छ । साथै, रोकिएका परियोजनाहरु र निर्माण कार्यहरुले पनि गति लिएको पाइन्छ भने सेयर बजार प्रतिविम्बित गर्ने नेप्से परिसूचकको बढ्दो क्रमले पनि लगानीकर्ताहरु उत्साहित भएको बुझ्न सकिन्छ । अहिले बैङ्कको व्याजदर पनि न्यून रहेको अवस्थाले व्यवसायीहरुको लागत पनि कम हुन गई व्यापार प्रबद्र्धनमा टेवा पुगेको महशुस गरेकी छु ।

राष्ट्र बैङ्कले यही पुस मसान्तभित्र अति प्रभावित भएकाहरुले कर्जा पुनर्संरचना र पुनर्तालिकीकरण गराइसक्नुपर्ने भनेको छ । यसको अवस्था के छ ? यसले खराब कर्जा झन् बढाउने जोखिम कत्तिको देख्नुहुन्छ ?

कोभिड महामारी प्रभावित सबै व्यवसायहरुले कर्जा पुनर्संरचना र पुनर्तालिकीकरण गरेको अवस्था छैन । तर, आवश्यकता महशुस गरेका व्यवसायहरुले कर्जा पुनर्संरचना र पुनर्तालिकीकरण गरिसकेका छन् । समस्यामा परेका व्यवसायहरुले पहिले पनि कर्जा पुनर्संरचना र पुनर्तालिकीकरण गर्ने गरेका थिए तर अहिलेको अवस्था फरक छ । यो राष्ट्रिय मात्र नभएर अन्तर्राष्ट्रिय समस्या भएकोले पनि यस्ता व्यवसायहरुलाई कर्जा तथा व्याज भुक्तानी गर्ने सहुलियत प्रदान गर्न आवश्यक देखिन्छ । पुनर्संरचना र पुनर्तालिकीकरणले त्यस्ता व्यवसायहरुलाई बाउन्स व्याक गर्न समय मिल्छ भने देशको अर्थतन्त्र उकास्नलाई पनि यो अनुकूल व्यवस्था भएको भन्न मिल्छ । पुनर्संरचना र पुनर्तालिकीकरणले खराब कर्जा बढ्ने सम्भावना म देख्दिन । पुनर्संरचना र पुनर्तालिकीकरण गरिएका कर्जालाई नेपाल राष्ट्र बैङ्कले समेत असल वर्गमा राख्न निर्देशन दिएकोले बैङ्कको वित्तीय अवस्थामा तात्विक असर नपार्ने र व्यवसायीले पनि आफ्नो व्यवसायलाई लयमा ल्याउन समय पाउने भएकोले पुनर्संरचना र पुनर्तालिकीकरणले बाध्यात्मक खराब कर्जा बढाउन रोकी बैङ्क तथा व्यवसायी दुवैलाई सहयोग गर्ने मैले बुझेकी छु ।

कोभिड लम्बिदै जाँदा नेपाल राष्ट् बैङ्कले एनपीए देखाउनु नपर्ने, प्रोभिजिङ सहजीकरणलगायतका सुविधा दियो । यसले बैङ्कलाई कत्तिको सघाउ पुर्यायो?

तोकिएको समयमा कर्जाको साँवा, व्याज तथा किस्ता रकम प्राप्त नभएमा त्यस्ता कर्जालाई एनपीए मानी कर्जाको साँवा रकमलाई व्यवस्था गरी खर्च लेख्नुपर्ने (प्रोभिज्निङ) व्यवस्था नेपाल राष्ट्र बैङ्कको रहेको छ । हाल कोभिड महामारी प्रभावित व्यवसायीले आफ्नो कर्जाको साँवा, व्याज तथा किस्ता रकम भुक्तान गर्न नसक्नु असामान्य होइन भने अर्थतन्त्रको बृहतस्तरको समस्यामा परेका व्यवसायहरुले नगद भुक्तान नगरेकै आधारमा उक्त कर्जाहरुलाई खराब कर्जा भनी व्यवस्था गरी खर्च लेख्नुपर्ने बाध्यतालाई नेपाल राष्ट्र बैङ्कले सहज बनाइदिएको मात्र हो । यसले बैङ्कहरुलाई आ.व. २०७६/७७ को वित्तीय विवरणमा उल्लेख्य असर पर्ने गरी सार्वजनिक गर्नुपर्ने बाध्यात्मक अवस्था नल्याउन सघाउ पुर्याएको छ तर आर्थिक वर्ष २०७५/७६ मा करिब रु. ६५ अर्बको मुनाफा गरेका वाणिज्य बैङ्कहरुको मुनाफा आर्थिक वर्ष २०७६/७७ मा करिब रु. ५५ अर्ब रहने अवस्थाले बैङ्कहरुको मुनाफा अघिल्लो वर्षको तुलनामा खस्किएको अवस्था भने रहने देखिएको छ ।

कोभिडका कारण बैङ्किङ क्षेत्रमा यहाँले देखेका मुख्य जोखिमहरु के–के छन् ?

बैङ्किङ र डिजिटलाइजेसन (प्रविधि) पर्यायवाची जस्तै भइरहेको अवस्थामा आईटी जोखिमलगायत अन्य विभिन्न सञ्चालन जोखिमहरु पनि बैङ्किङ क्षेत्रले सामना गर्नुपर्ने चुनौती भने रहेको छ ।

कोभिड महामारीबाट अति प्रभावित व्यवसायहरुमध्ये केही साना तथा मझौला व्यवसायहरुलाई बाउन्स व्याक गर्न कठिनाइ पर्नु असामान्य होइन । त्यस्ता केही कर्जामा कर्जा जोखिमको सामना गर्नुपर्ने अवस्था आउन सक्ने आँकलन गरेकी छु । अहिलेको बैङ्किङ प्रविधिमा आधारित बैङ्किङ हो । कोभिडका कारण बन्दाबन्दीको अवस्थामा आम नेपालीलाई पनि उपलब्ध प्रविधिको उपयोग गरी बैङ्किङ सेवा तथा सुविधा लिनुपर्ने पाठ सिकाएको छ । बैङ्किङ र डिजिटलाइजेसन (प्रविधि) पर्यायवाची जस्तै भइरहेको अवस्थामा आईटी जोखिमलगायत अन्य विभिन्न सञ्चालन जोखिमहरु पनि बैङ्किङ क्षेत्रले सामना गर्नुपर्ने चुनौती भने रहेको छ । नेपालजस्तो विकासोन्मुख देशमा व्याजदर पनि स्थिर हुन सकेको छैन । नाकाबन्दी, भूकम्प र हाल आएर कोरोनाको महामारीजस्ता विभिन्न घटनाक्रमले पनि नेपालमा व्याजदरमा अस्थिरता रहेको व्यहोरा दर्शाएकै छ । त्यसैले व्याजदर अस्थिरताका कारण स्थिर दरमा लामो समयको स्रोत जुटाउन र लगानी गर्न दुवै अवस्थामा व्याजदर जोखिमको सामान बैङ्कले गर्नुपरेको छ ।

नेपाली बैङ्कहरुले खाली धितो लियो, ऋण दियो, नाफा, घाटा र सेयरहोल्डरलाई दिने प्रतिफलभन्दा बाहिर आएर समग्र देशकै अर्थतन्त्रलाई फाइदा हुने नवीनतम काम गर्न नसकेको आरोप पनि लाग्ने गर्दछ । नवीनतम काम गर्न के–कस्ता समस्या छन् ?

नवीनतम गर्ने भनेको उद्यमीहरुले नै हो र उहाँहरुको सम्भाव्य योजनालाई स्रोत जुटाउने कार्य बैङ्कले गर्ने हो भने अन्य पूर्वधार तथा नीतिमार्फत् सहजता दिलाउने काम सरकारको रहन्छ । अहिले प्रविधिको युगमा आफूले प्रदान गर्ने सेवा–सुविधा प्रविधिमुखी बनाउनु बैङ्कको कर्तव्य हुन जान्छ ।

सामान्यतया कर्जा प्रवाह गर्दा नेपाली बैङ्कहरु धितोमुखी भएको सत्य हो । तर, परियोजनाहरु र प्राथमिकता प्राप्त क्षेत्रहरुमा बैङ्कहरुले बिनाधितो वा कम धितोमा पनि कर्जा प्रवाह गरिरहेका नै छन् । ठूलो स्केलमा सञ्चालित संस्था तथा व्यवसायहरु व्यवस्थित तवरले सञ्चालन भइरहेका हुन्छन् । तिनीहरुमा नियमनकारी निकायको नियमन पनि हुने र योजनाहरु प्रायः जनचासोको विषय पनि हुने भएकाले कर्जा चुक्ता नहुने जोखिम पनि कम हुने हुन्छ । तर, अन्य सामान्य व्यवसायहरुमा तुलनात्मक रुपमा पद्धतिको विकास कम हुनु, पारदर्शिता कम हुनु र नियमनको व्यवस्था पनि कमजोर हुने भएकोले त्यस्ता कर्जामा जनताकै निक्षेपबाट लगानी गर्ने बैङ्कहरुले कर्जा जोखिम निराकण गर्नु न्यायोचित नै हुन्छ । बैङ्किङ क्षेत्र नाफामूलक संस्था हो तर यसले दिने प्रतिफल औषत १४ प्रतिशतको हाराहारीमा मात्र छ । त्यसैले नाफामुखी भएको भन्न मिल्ने देखिँदैन । बैङ्कले गरेको योगदान सेयरधनीलाई मात्र हुँदैन । यसले वृद्घि गर्ने मूल्यमा अर्थतन्त्रको विभिन्न क्षेत्रले योगदान पाएको हुन्छ जस्तै– निक्षेप लगानीकर्ताले व्याज, बैङ्कलाई सेवा दिने सेवाग्राहीहरुले सेवा शुल्क, कर्मचारीले पारिश्रमिक र नेपाल सरकारलाई कर जो सबै सार्वजनिक हितमा नै खर्च हुन्छ । यसका अलावा बैङ्कले आफ्नो मुनाफाको केही हिस्सा संस्थागत उत्तरदायित्वअन्तर्गत शिक्षा, स्वास्थ्य, सुरक्षाजस्ता क्षेत्रमा पनि आफ्नो खर्चमा प्रत्यक्ष लगानी गरेको हुन्छ । देशको अर्थतन्त्रमा बैङ्कको प्रत्यक्ष योगदान रहन्छ । बैङ्कले वृद्धि गर्ने मूल्यबाट सिर्जित विभिन्न करहरुबाट नै सरकारले पूर्वाधारको परियोजना बनाउँछ भने बैङ्क आफै पनि विभिन्न उत्पादनशील क्षेत्र जस्तै– कृषि, ऊर्जा, निर्माण, उत्पादन, शिक्षा, सेवा, पर्यटन, यातायात आदिमा लगानी गरेको हुन्छ, जसले गर्दा नै देशको आर्थिक वृद्घिको सूचकले उकालो चढ्ने गर्दछ । बैङ्कले गर्ने भनेको विशुद्घ बैङ्किङ नै हो । नवीनतम गर्ने भनेको उद्यमीहरुले नै हो र उहाँहरुको सम्भाव्य योजनालाई स्रोत जुटाउने कार्य बैङ्कले गर्ने हो भने अन्य पूर्वधार तथा नीतिमार्फत् सहजता दिलाउने काम सरकारको रहन्छ । अहिले प्रविधिको युगमा आफूले प्रदान गर्ने सेवा–सुविधा प्रविधिमुखी बनाउनु बैङ्कको कर्तव्य हुन जान्छ ।

मेगा बैङ्क नेपालको अहिलेको अवस्था कस्तो छ ? आफूलाई कसरी फरक पहिचानसहित अगाडि लैजाँदै छ ?

 

वाणिज्य बैङ्क स्थापनाका पछिल्लो अवधिमा स्थापित यस मेगा बैङ्क नेपाल लिमिटेडले आफ्ना समकालीन बैङ्कहरुलाई पछाडि छाडी आफूभन्दा अघि स्थापना भएका अग्रज ठूला बैङ्कहरुसँग प्रतिस्पर्धामा रहेको छ ।

बैङ्कका वित्तीय परिसूचकहरु सबै राम्रा छन् । हामीले भर्खरै दशौं वार्षिक साधारणसभा पनि सम्पन्न गर्यौं र अघिल्लो वर्षको भन्दा बढी र बजारको औषत दरको सेरोफेरोमा रहेर लाभांश घोषणा गरी पारित पनि भइसक्यो । बैङ्कले आफै पनि व्यवसाय विस्तारमा लागेको छ भने मर्जर तथा प्राप्तिलाई पनि प्राथमिकतामा राख्दै हामी अगाडि बढेका छौं । वाणिज्य बैङ्क स्थापनाका पछिल्लो अवधिमा स्थापित यस मेगा बैङ्क नेपाल लिमिटेडले आफ्ना समकालीन बैङ्कहरुलाई पछाडि छाडी आफूभन्दा अघि स्थापना भएका अग्रज ठूला बैङ्कहरुसँग प्रतिस्पर्धामा रहेको छ । स्थापनाको दशौं वर्षमा यस बैङ्क व्यवसायको आधारमा ठूला ११ वाणिज्य बैङ्कहरुमध्ये एकमा आफूलाई स्थापित गरेको छ । बैङ्कको शाखा सञ्जाल देशको ५८ वटा जिल्लामा फैलिएको छ भने पुँजीको आधारमा पनि यो बैङ्क ६ ठूला वाणिज्य बैङ्कहरुमध्ये रहन सफल भएको छ । सुरुदेखि नै हलोदेखि हाइड्रोको नारामा काम गरिरहेको यस बैङ्कले ११ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आफ्नो नारालाई सार्थक तुल्याएको छ । हाम्रो कामले मान्यता प्राप्त गरेअनुरुप विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरबाट समेत पुरस्कृत भइसकेको मेगा बैङ्क नेपाली बजारमा पृथक पहिचान कायम गर्न सफल भएको छ ।

सुस्ताएको मर्जरबारे फेरि बजारमा चर्चा–परिचर्चा हुन थालेको छ । मेगा बैङ्क मर्जरमा जाने योजना के छ ?

गत वर्ष प्राप्ति गरेको साविक गण्डकी विकास बैङ्कबाट प्राप्त व्यवसायलाई यस वर्ष समायोजन तथा व्यवस्थापन गर्ने र शाखाहरु समायोजन गर्ने योजनामा मेगा बैङ्क रहेको छ । त्यसैले तत्काल नै मर्जर तथा प्राप्ति गर्ने गरी कुनै कार्यदिशा अगाडि बढाएको अवस्था भने छैन । तर, मर्जर तथा प्राप्तिको कार्य मेगा बैङ्कका लागि सदैव सोच र अवसरको विषय भने रहेको छ । हाम्रो सञ्चालकस्तरीय मर्जर तथा प्राप्ति समिति मर्जर तथा प्राप्तिको उचित अवसरहरुको अध्ययनमा रहेको छ । निकट भविष्यमा मर्जरमा जाने–नजाने वा जानै पर्ने भए कस्तो संस्थासँग सहकार्य गरेर अगाडि बढ्ने भन्ने विषय नेपाल राष्ट्र बैङ्कको नीति, प्राप्त हुने सहुलियत र छुट तथा उपयुक्त बैङ्क तथा वित्तीय संस्था आदिको आधारमा सञ्चालक समितिले निक्र्योल गर्नेछ । यसका लागि बैङ्कको दशौं साधारणसभाले सञ्चालक समितिलाई अख्तियारीसमेत प्रदान गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री