मंगलबार, ११ वैशाख २०८१

श्वासप्रश्वास पुनःस्थापना केन्द्र सञ्चालन गर्न जापानसंँग थप सम्झौता

RSS २०७६ फागुन १५ गते १८:२६

Advertisement

भक्तपुर नगरपालिकाले सञ्चालन गर्न लागेको श्वासप्रश्वास पुनःस्थापना केन्द्रको निर्माण एवं सञ्चालनका लागि जापानी दूतावास, जापानको एक संस्था र नगरपालिकाबीच त्रिपक्षीय सम्झौता भएको छ ।

दीर्घरोगका रुपमा रहेको दमखोकी रोगका बिरामीहरुको उपचारका लागि जापान अन्तर्राष्ट्रिय चिकित्सा प्रविधि संस्था (जिम्टेफ) को प्राविधिक तथा आर्थिक सहयोगमा भक्तपुर नगरपालिका–९ तुमचोमा निर्माणाधीन श्वासप्रश्वास पुनःस्थापना केन्द्रको दोस्रो चरणको सम्झौता सम्पन्न भएको नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले जानकारी दिनुभयो ।

जापानी दुतावासमा आयोजित एक समारोहबीच सम्पन्न भएको उक्त सम्झौतामा केन्द्रको भवन निर्माण तथा चिकित्सा उपकरण खरिदपश्चात नेपाली चिकित्सकहरुलाई उपचारसम्बन्धी तालीम दिने तथा जापानी विज्ञहरुको उपस्थितिमा उपचार गराउनेबारे सम्झौता भएको हो ।

समारोहमा नेपालका लागि जापानी राजदूत सामिची साइगोले जापानका वरिष्ठ सरकारी चिकित्सकहरुको संस्था जिम्टेफको सहयोगमा भक्तपुर नगरपालिकाले स्थानीय जनताको सहभागिता र उपभोक्ता समितिमार्फत केन्द्रको भवन निर्माण गरेकामा खुशी व्यक्त गर्नुभयो । उहाँले दुई देशका जनताबीचको सम्बन्धलाई थप सुमधुर पार्न केन्द्रले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।

बढ्दो शहरी विकाससँगै वायु प्रदूषण बढेको कारणले जनताहरुमा श्वासप्रश्वाससम्बन्धी रोगहरु देखा परेको चर्चा गर्दै उहाँले दीर्घ रोगीहरुलाई जापानी प्रविधिबाट उपचार गराउन नेपालमै पहिलो पटक भक्तपुरमा केन्द्र स्थापना गर्न खोजेको भन्नुभयो ।

जिम्टेफका नेपाल प्रतिनिधि मायदा नोरिकोले भक्तपुरमा श्वासप्रश्वास पुनःस्थापन केन्द्र सञ्चालनको तीनवर्षे योजनाअन्तर्गत पहिलो वर्षको भवन निर्माण र उपकरण खरिद प्रक्रिया सम्पन्न भएको र दोस्रो वर्षमा नेपाली चिकित्सकहरुलाई यस उपचार विधिबारे तालीम सञ्चालन गरी बिरामीको उपचार शुरु गर्ने तयारी भइरहेको बताउनुभयो ।

भक्तपुर नगरपालिका–९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले नगरपालिकाले आप्mनै जग्गामा नियमानुसार नक्सापास गरी स्थानीय जनताको सहभागितामा उपभोक्ता समितिमार्फत केन्द्रको भवन निर्माण गर्दा लागत अनुमानभन्दा कम खर्चमा गुणस्तरीय भवन निर्माण सम्पन्न भएको बताउनुभयो ।

सम्झौता कार्यक्रममा त्रिवि शिक्षण अस्पतालका वरिष्ठ डाक्टर एवं सोलिड नेपालका कार्यकारी निर्देशक डा खेमबहादुर कार्कीले भक्तपुरमा स्थापित श्वासप्रश्वास केन्द्रलाई उत्कृष्टताको नमूना परियोजना बनाउने र यसैलाई केन्द्र बनाई देशका अन्य नगरपालिकाका चिकित्सकहरुलाई पनि तालीम सञ्चालन गर्ने तयार भइरहेको जानकारी दिनुभयो ।

जिम्टेफले भक्तपुर नगरपालिकालाई केन्द्रको भवन निर्माणका लागि निःशर्त रु एक करोड ७० लाख आर्थिक सहयोग प्रदान गरेको र नगरपालिकाले आप्mनै पाँच आना तीन पैसा तीन दाम क्षेत्रफलको जग्गामा उपभोक्ता समितिमार्फत भवन निर्माण कार्य सम्पन्न गरेको छ ।

केन्द्रमा दीर्घ दम र खोकी रोगका बिरामीहरुलाई फिजियोथेरापी विधिबाट उपचार सेवा प्रदान गरिने र त्यसका लागि आवश्यक चिकित्सकीय उपकरणहरु जडान गर्ने कार्य भइरहेको छ । आगामी चैत्र ३ गतेबाट सर्वसाधारण बिरामीहरुलाई कम शुल्कमा उपचार सेवा शुरु गरिने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री