नगरपालिकामा मेलमिलापसम्बन्धीे प्रशिक्षण

‘आफ्नो विवाद आफ्नै समाधान’ भन्ने नाराका साथ महालक्ष्मी नगरपालिकाले प्रत्येक वडाबाट छानिएका दुई जनालाई मेलमिलापसम्बन्धी आधारभूत प्रशिक्षण दिइरहेको छ ।

Advertisement

नगरपालिकामा आउने स–साना विवाद वडाबाटै समाधान गराउने उद्देश्यले उक्त नगरपालिकाले नेपाल मेलमिलापकर्ता समाजको सहयोगमा माघ २ देखि नौ गतेसम्म सो प्रशिक्षण दिइरहेको हो ।

नगरप्रमुख रामेश्वर श्रेष्ठले स्थानीय पदाधिकारीलाई उक्त प्रशिक्षणमा सहभागी गराई वडास्तरबाटै विवाद अन्त्य गराउन प्रयास थालिएको जानकारी दिए । उक्त प्रशिक्षणमा नगरपालिकाका पाँच पदाधिकारीसहित प्रत्येक वडावटा दुई–दुईका दरले मेलमिलाप गराउन इच्छुक २० जनाको सहभागिता रहेको छ ।

आठदिने प्रशिक्षण समापनपछि समाजमा हुने घटनाका सम्बन्धमा प्रशिक्षार्थीको परीक्षण गरिने जानकारी दिँदै नगरप्रमुख श्रेष्ठले भने, “प्रशिक्षार्थीको परिक्षणले उनीहरूको कमीकमजोरी पहिचान हुनाका साथै वडामा दक्ष व्यक्तिको सहभागितामा मेलमिलाप समिति निर्माण गर्न सहयोग पुग्ने छ । ”

उक्त नगरपालिका न्यायिक समिति प्रमुख निर्मला थापाले वडामै समाधान गर्न सकिने मुद्दामा नगरपालिकालाई बोझ नहोस् भन्ने उद्देश्यले प्रशिक्षण अघि बढाइएको जानकारी दिए ।
“ वडा कार्यालयले समाधान गर्नसक्ने स–साना मुद्दा वडामै समाधान हुनुपर्छ”, उनले भने । वडाले मेलमिलाप गराउन नसक्ने मुद्दा नगरपालिकाले हेर्छ ।

Advertisement

उक्त नगरपालिकाका कानूनी सल्लाहकार अच्युतराज बुढाथोकीले प्रशिक्षार्थीलाई मेलमिलाप के हो, मेलमिलाप कसरी गराउने, विवादको जड के हो, यसको पहिचान कसरी गर्ने, फौजदारी प्रकृतिका विवाद वडा कार्यालयमा दर्ता किन गरिँदैन, ती कार्यालयले देवानी प्रकृतिको मुद्दा मात्र किन मेलमिलाप गराउन पाउछनजस्ता विषयमा जानकारी गराउनुभएको थियो । रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री