शुक्रबार, ७ वैशाख २०८१

‘मर्जरपछि मन र व्यवहार मिलाउन समय लाग्दो रहेछ ’

समयपोष्ट २०७३ माघ १७ गते ४:३४

बैंकहरूमा तरलता अभावको कारण  बैंकहरूले नयाँ कर्जा दिन नसक्ने भएकै हुन् ?

Advertisement

यो वर्ष कर्जाको वृद्धिदरभन्दा निक्षेपको वृद्धिदर कम भएको छ । त्यसकारण समग्र रूपले हेर्दा कर्जा निक्षेप अनुपातको केही दबाब देखिएकोछ । राष्ट्र बैंकले बीस प्रतिशतको न्यूनतम तरलता अनुपात कायम राख्नुपर्छ भनेको थियो, त्यो सबै बैंकहरूले मेन्टेन नै गरेका छन् । सबै बैंकहरू त्योभन्दा माथि नै छन् । निक्षेप अनुपातमा कर्जाको वृद्धिदर बढी भएको हुनाले त्यसबाट दबाब पर्न गएको हो । त्यो निक्षेप कर्जाको अनुपातमात्रै फरक हो । तर, तरलताको अभाव भनिहाल्न मिल्दैन । किनभने इन्टर बैंक निक्षेप त्योभन्दा माथि गएको छ । 

तरलता अभाव भन्दै कतिपय बैंकहरूले ११.१ प्रतिशत निक्षेपको ब्याज पुर्याइसके त ?

मैले अघि नै भनिसकें । बैंकहरूले एकआपसको कारोबार गर्दा अहिले अन्तर बैंक कारोबारको दर पनि २ प्रतिशतकै हाराहारीमै छ । पैसा नभएको भए त त्यो सबै कुरा बढ्नुपथ्र्यो । पैसा नभएको पक्कै होइन तर नयाँ निक्षेप चाँडो वृद्धि नभएको हो । त्यस अवस्थामा निक्षेपको ब्याजदर बढ्नुपर्यो । यस किसिमको निक्षेप र अन्तर बैंकको डिफ्रेन्स भनौं, त्यो बीचको ग्याप अलि ठूलै हुन गएको छ । निक्षेपको ब्याजदरहरू बढेकाले समग्र तरलता अभाव भएर समग्र रूपले ब्याजदर बढेको अनुभूति गर्न सकिँदैन । 

ब्याजदरकै कुरा गर्दा मुद्धति निक्षेपमा ११.१ पुगिसक्यो तर अर्को साधारण बचतमा औसतमा २ प्रतिशत भन्दा बढ्न सकेको छैन नि ?

हाम्रो देशमा निक्षेपको अभाव छोटो समयका लागि रहने गरेको छ । छोटो समयको बेला निक्षेपको अभाव छ भने यस्तो बेला अलि स्थायी प्रकृतिको निक्षेप बैंकहरूले रुचाउँछ । त्यो भनेको मुद्धति निक्षेप नै हो । त्यसकारण मुद्धति निक्षेपमा आकर्षक ब्याजदर दिने पहिले हुन्छ । सरकारले विकास खर्च पुस मसान्तपछि बढाउँछ । फेरि त्यो तरलता बजारमा फर्केर आएर निक्षेप स्वतःस्फूर्त रूपले बढ्छ । तर, अहिले मुद्धति निक्षेपको ब्याजदर अलि बढी हुन गएको हो।ajay shrestha 1 

अहिले बैंकहरू पुँजी वृद्धिको अभियानमा छन्, यस्तो बेला यो तरलता अभावले दीर्घकालीन रूपमा कस्तो प्रभाव पार्छ ?

पुँजी वृद्धि भएपछि बैंकहरूले आफ्नो वासलातको आकार पनि बढाउनुपर्ने हुन्छ । बैंकहरूको वासलातको आकार भन्नाले वासलात भनेको ८० प्रतिशत कर्जा र निक्षेप हुन्छ । त्यसकारण वासलात बढाउनका लागि सम्भावना भएन भने त्यो पुँजीलाई सर्भिस गर्न गाह्रो हुन्छ । तर, यो पुँजी वृद्धिको समय सीमा दुई वर्षमा दुईबाट आठ गर्ने भनेको छ, त्यो समयसीमासँग कर्जा निक्षेपको वृद्धिदरको सामन्जस्यता नभएको मात्र कुरा हो । तर, एउटा लङरनमा त फेरि त्यहाँ त्यो पुँजी चाहिने हुन सक्छ । वासलातको वृद्धि पनि भइहाल्छ । यो दुई वर्ष सोचेअनुसारको निक्षेप र कर्जाको वृद्धिअनुसारको पुँजीवृद्धि अधिक मात्रामा भएको देखिन्छ ।

पुँजी वृद्धिमा तपार्इंहरू करिब–करिब लक्ष्यमा पुगिसक्न थाल्नुभएको छ तर बढेको पुँजीअनुसार लगानीका क्षेत्र नहुँदा त्यसले दीर्घकालीन असर गर्छ भनिदै छ ? 

यसको प्रभावको बारेमा पोलिसी मेकरहरू सजग भएर यसमा लागिपर्यो भने यसको नकारात्मक प्रभावबाट बच्न सकिन्छ । नकारात्मक प्रभावमात्रै छ भन्न पनि मिल्दैन । सकारात्मक प्रभाव भन्नाले बैंकहरू पहिलेभन्दा अझ बढी पुँजीको हिसाबले सशक्त भएका छन् । ठुल्ठूला कारोबार गर्न सक्छन् । अझ बढी आफ्नो क्षमता वृद्धि गर्न सक्छन् । त्यो सकारात्मक पक्ष भयो । सकारात्मक पक्षहरूबाट फाइदा लिएर नकारात्मक पक्षहरूलाई कन्ट्रोल गर्ने पोलिसीहरू आएमा यसबाट बच्न सकिन्छ । 

 तपार्इंहरूले पुँजी वृद्धिका लागि लुम्बिनी बैंकसँग मर्ज गर्नुभयो, त्यसपछि अहिले हकप्रद र बोनस प्रस्ताव गर्नुभएको छ, त्यसपछि पुँजी कति अपुग हुन्छ र कसरी पुँजी वृद्धि गर्दै हुनुहुन्छ ?

हामीहरूले पुँजी वृद्धि योजना प्रस्तुत गरिसकेका छौं । त्यसमा मर्जर, विभिन्न किसिमको सेयर जारी गरेर पुर्याउन सकिन्छ भनेर सबै अप्सनहरू राखेका छौं । एउटा मर्जर गर्यौं । अब मर्जर गर्ने बैंकहरूमध्ये बैंक र बैंक मर्जर भएको उदाहरण यहीमात्र भयोजस्तो लाग्छ । मर्जरबाट एउटा फाइदा के हुन्छ भने थप क्यास इन्जेक्ट गर्नुपर्दैन । यहींभित्रकै क्यास भए पुग्छ । एउटा कन्सोलिडेसन हुन्छ, त्यसबाट थप पुँजीको लोड पर्दैन भन्ने अनुमान गर्न सकिन्छ । त्यसको फाइदा हामीले लियौं । नपुगेको पुँजी हाम्रो यो सालको नाफा कति हुन्छ, त्यो हामीले जे गर्नुपर्ने हो त्यही नै गर्नुपर्ने हुन्छ । त्यसमा जुन राष्ट्र बैंकले सर्त राखेको छ ५१ प्रतिशत प्रमोटर सेयर पुर्याउनुपर्छ भनेर त्यसबाट पनि थप प्रमोटर सेयर जारी हुन्छ । हामीले त्यो प्रयास गरिरहेका समाचारहरू पनि आइसकेका छन् । यसरी नै हाम्रो पुँजी तोकिएकै समयमा पुग्छ । 

ajay shrestha 2

तपाईंहरूले दुईवटा ‘क’ वर्गको बैंक मर्ज गर्नुभयो । अहिलेसम्म आउँदा कस्तो रह्यो अनुभूति ?

दुईवटा वाणिज्य बैंक मर्जर भएको उदाहरणहरू धेरै त छैन । यो सायद तेस्रोमा पर्छ । एउटा एनआईसी र बैंक अफ एसियाको भयो र अर्को कर्मज एन्ड ट्रस्ट र ग्लोबल आईएमईको भयो । हाम्रो तेस्रो उदाहरणमा पर्छ । तेस्रो उदाहरणको पहिलो विशेषता के भयो भने यी दुवै बैंकहरू अठार वर्ष नाघेका, अलि पुरानो बैंकको मर्ज भएको हो । छ महिनाको अवधिमा हामीले मर्ज गर्यौं र छ महिनायता आइरहेका छौं । त्यो छोटो समयमा अलि अप्ठ्यारो काम पार गरेर जान सफल भयौं । त्यसको अनुभव त राम्रै भयो । सबैले तपाईंहरूले छोटो समयमै गर्नुभयो भन्नुभयो । प्रत्येक मर्जरको मर्जरपूर्व केही चुनौतीहरू हुन्छन् । जस्तो पोलिसी मिलाउनुपर्यो, कर्मचारीहरू मिलान गर्नुपर्यो, मन, व्यवहार मिलाउनुपर्यो । त्यसमा करिब करिब मोटामोटी ठुल्ठूला पोलिसिजहरू सबै मिलाएर गरिसकेका छौं । व्यावहारिक पक्षहरू जस्तै एउटै काममा लागेको कर्मचारीहरूलाई विभिन्न ठाउँमा स्थानान्तरण गर्दै छौं। त्यसबाट हामीले व्यवहार पनि मिलाउन सकिन्छ कि भनेर आशा गरिरहेका छौं । अहिलेसम्म ओभरअलमा राम्रै छ । 

भर्खरै ब्रान्ड एम्बेस्डर पनि नियुक्त गर्नुभयो, यो वर्षका योजना के छन् ?

हामीले यस वर्ष ब्रान्ड एम्बेस्डर नियुक्त गरेका छौं। ब्रान्ड एम्बेस्डर नियुक्त गर्नुको पछाडि अहिलेको मात्र इनिसियटिभ होइन, अलि पहिलेदेखिकै हो । हामीले गत वर्षदेखि नै उहाँहरू (धुर्मुस–सुन्तली) ले गर्नुभएको प्रोजेक्टमा केही योगदान गरेका थियौं। त्यो हामीलाई अलि चित्त पनि बुझ्यो । राम्रै काम गरिराख्नुभएको रहेछ । त्यसमा पारस्परिक रूपले केही गर्न सकिन्छ कि भन्ने थियो । यसमा मुख्य कुरा हाम्रो वित्तिय पहुँचसम्बन्धी विषयवस्तुलाई उहाँहरूले पनि अलिकति सामाजिक रूपमा त्यो वर्ग, जोसँग वित्तिय ज्ञान छैन उहाँहरूसँग क्रियाकलाप गरिराख्नुभएको थियो । त्यो हिसाबले हामी सहकार्य गर्न सक्छौं  । हामीले वित्तिय पहुँच पुर्याउनेखालका प्रडक्टहरूलाई त्यो ब्रान्ड एम्बेस्डरको माध्यमबाट गर्छौं । त्यसमा साना निक्षेप र साना कर्जा दुवैलाई हामी समावेश गरेर अगाडि बढ्छौं । 

यो वर्ष दुईवटा विषय ट्रान्जिसन फेजमा छ, एउटा पोलिसिवाइज पुँजी वृद्धि । यो सालको अन्त्यसम्ममा पुँजी वृद्धिको एउटा साइकल कम्प्लिट हुँदै छ । अर्को बैंक पनि मर्जपछिको साइकलमा छ । आन्तरिक र बाह्य कामको व्यवस्थापना गरेर जानुपर्ने अवस्थामा छौं । मलाई यो पिरियड निकै रोचक लागेको छ । असार मसान्तपछि मात्र केही सफलता भएको अनुभुति होला ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री