मंगलबार, १३ माघ २०७७

शहीद परिवारको गुनासो,‘राज्यले बेवास्ता गर्यो’

समयपोष्ट २०७३ माघ १६ गते १३:४५

शहीद परिवारजनले राजनीतिक दलका नेताहरूले सहिदको र बलिदानीलाई अपमान र शहीदका नाममा राजनीतिक खेति गरिरहेको आरोप लगाएका छन्। 
आईतबार रिपोर्टर्स नेपालले शहीद दिवसका अवसरमा आयोजना गरेको विशेष साक्षात्कारमा सहिद परिवारजनले वर्तमान राजनीतिक दलका नेताहरूले शहीदको नाममा खेति गरेर अपमान गरेको आरोप लगाएका हुन्। 
शहीद गंगालाल श्रेष्ठका भाई विजयलाल श्रेष्ठले नेताहरूले ईतिहास भूलेपनि जनताले कहिल्यै नभुल्ने विश्वास व्यक्त गर्दै भने,‘नेताहरू शहीदको नाममा खेति गरिरहेका छन्, शहीदलाई धोका दिईरहेका छन्, मधेशको आन्दोलनमा मर्नेलाई ५० लाख दिने भनेर आदेश दिएर मानिस मारिरहेका छन्, के यहि हो ? लोकतन्त्रको सही अर्थ?’ 
दाजु गंगालालको मृत्युको सम्झनामा विजयले भने,‘म ६ बर्षको थिएँ, १९९७ सालमा राणाको बिरुद्धमा दाजुको निर्मम हत्या भयो।’
त्यस्तै दोस्रो जनआन्दोलनका शहीद यमलाल लामिछानेका छोरा द्रोणप्रसाद लामिछानेले शहीद दिवसको अवसरमा शहीद परिवार मात्रै नभएर सम्पर्ण जनता दुःखित भएको बताए। 
उनले भने,‘यति लामो दुःख, सँघर्ष र बलिदानबाट प्राप्त लोकतन्त्र संस्थागत गर्नको लागि कोही पनि जिम्मेवार देखिएका छैनन्, हाम्रो प्रश्न छ, शहीदका लामा लामा सपनाहरूलाई कुल्चियौ ? किन शहीदको रगतलाई अपमान गर्यौ?राजनीति एकातिर जनता अर्कोतिर हुँदैछ, यसको सबै दोषी राजनीतिक दल र नेताहरूनै हुन्।’
अर्का शहीद सगुन ताम्राकारकी आमा जया ताम्राकारले शहीद परिवारलाई राज्यले केही दिन नसकेको भन्दापनि देश र जनतालाई घात गरेकोमा चिन्ता व्यक्त गरिन् ।
देशको आमुल परिवर्तन र जनताका हक अधिकारहरूको सुनिश्चितताको लागि निरङ्कुशताको बिरुद्धमा मैदान उत्रिएको छोरो गोलीको सिकार भएको दृश्यले मर्माहित बनेकी जयाले रुदै भनिन्‘हामीलाई केही चाहिदैन, देश र जनताको लागि संबिधान कार्यन्वयन गरेर देशलाई आत्मनिर्भरताको बाटोमा लैजानुस् नेता ज्यू, अनि मात्र शहीदको रगत र बलिदानिको सच्च कदर गरेको सम्झिनेछौँ।’
शहीद प्रधुम्न खड्काकी श्रीमती प्रभा खड्काले बोल्न र भन्न चाहेका अनेकन शब्दहरूले गला अवरुद्ध बनाए। उनले आँशु पुच्दै आफ्नो श्रीमानको सपना आजको स्थिति आउने नभएको बताईन् । 
दोस्रो जन–आन्दोलनका घाइते मेघराज आचार्यले जनताको लागि लोकतन्त्र भन्ने चिज कागलाई बेल पाक्यो हर्ष न विष्मात जस्तै भएको टिप्पणी गरे। 
उनले भने,‘म एउटा पत्रकार हुँ र त यस्तो हालत छ, आन्दोलनमा घाईते भएका अरु सामान्य नागरिकको के हालत होला? त्यो कल्पना पनि गर्न सकिदैन, हामी घाईतेलाई दिँदै आएको उपचारमा सरकारले कटौती गरेको छ, मेरो मुटुमा गोली लागेको छ, यसको सघन उपचार वीर अस्पतालमा नहुने हुँदा मेरो मृत्यु अनिश्चित छ, म चाहन्छु, मेरो मृत्यु गोलीबाटै होस्।’
त्यस्तै अर्का घाईते ढाल बहादुर बस्नेतले वैदेशिक रोजगारमा जानको लागि ०६२ साल राजधानी आएको स्मरण गर्दै त्यही बेला जनआन्दोलन सुरु भएको र आन्दोलनमा होमिदा आधा जीवनको भएको बताए। 
उनले भने,‘मरेर जाने शहीद भएर जानुभयो, हामी घाईतेहरूलाई न त राज्यले उचित व्यबस्था गर्न सकेको छ, अर्कोतर्फ घरपरिवारले पनि राम्रो व्यबहार गर्दैैनन्, कहिलेकाँही त बिस खाएर मरौंजस्तो लाग्छ।’ 

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री