बुधबार, १२ वैशाख २०८१

डकुमेन्ट्रीमा नालापानीको कथा

समयपोष्ट २०७३ माघ १५ गते ८:१०

‘गोर्खाली’ अर्थात् युद्धकला र वीरतासँग जोडिएको नाम । यही नामले नेपाललाई संसारमा चिनाएको छ । तर, गोर्खाली इतिहासका धेरै महत्वपूर्ण घटनाहरूको अझै पनि पर्याप्त अनुसन्धान र खोजी हुन बाँकी नै छ । विभिन्न प्राज्ञिक अनुसन्धानमा संलग्न संस्था नेपाल फाउन्डेसन अफ एड्भान्स स्टडिजले यस्तै गोर्खाली वीरताको एउटा तथ्य कोट्याउने प्रयत्न गरेको छ । संस्थाले बलभद्र कुँवरले नेतृत्व गरेको नेपाली सेनाले नालापानी किल्लामा कसरी अंग्रेज सेनासँग मुकाबिला ग¥यो भन्ने तथ्यमा आधारित डकुमेन्ट्री फिल्म ‘कथा नालापानीको’ हालै सार्वजनिक गरेको छ ।

Advertisement

एक घन्टा लामो डकुमेन्ट्रीमा नेपाल एकीकरणको प्रसंग कोट्याउँदै आधुनिक नेपाली सेनाको स्थापनाको पाटोसम्मलाई समेट्न सकेको छ । सानो नेपाली सैन्य शक्तिले शक्तिशाली अंग्रेज सेनासँग नालापानी किल्लामा देखाएको बहादुरीलाई डकुमेन्ट्रीले महत्वसाथ देखाउने प्रयास गरेको छ ।

इतिहासको तथ्यलाई आउँदो पुस्ताले पनि उत्तिकै ख्याल गरेर अगाडि बढोस् भन्ने उद्देश्यले डकुमेन्ट्रीको निर्माण गरिएको बताउँछन्– सम्पादक तथा प्राविधिक निर्देशक मानबहादुर थापा । ‘सैन्य बहादुरी’ का धेरै डकुमेन्ट्री बनाएको अनुभव भएका थापाले यो डकुमेन्ट्री एउटा ‘एकेडेमिक दस्तावेज’ बनेको ठान्छन् । विषयवस्तुको गहिरो अनुसन्धान गरेरमात्र डकुमेन्ट्री निर्माणको टुंगोमा पुगेको थियो निर्देशक फणीन्द्र सुब्बालगायत प्राध्यापकहरूको एक समूह । राजधानीमा हालै भएका सार्वजनिक प्रदर्शनीमा सर्वसाधारण र नेपाली सेनाबाट प्रशंसा पाएको डकुमेन्ट्री निर्माण समूहले छिट्टै मुलुकमा अन्य स्थान र देश बाहिरसमेत प्रदर्शनीको तयारी गर्दै छ ।  
 

प्रतिक्रिया

सम्बन्धित सामाग्री