शुक्रबार, १६ चैत २०८०

राजधानीका सडक बेहाल : सडकले ज्यान लिँदै, जिम्मा कस्को ?

समयपोष्ट २०७३ माघ १२ गते ३:२८

मेलम्चीको पाइप बिछ्याउन सडक खनिएपछि चाबहिल र गौशाला क्षेत्र पनि हप्तौँदेखि अस्तव्यस्त छ । बिहानदेखि बेलुकीसम्मै त्यहाँ जाम हुन्छ र धुलोले सडक कुहिरीमण्डल हुँदा मोटरसाइकलचालक नचिनिने हुन्छन् । कतिपय ठाउँमा पानी चुहावटले हिलो पनि भएको छ । सोमबार दिउँसो एउटा ट्रक जयबागेश्वरीनजिक यस्तै खाल्डोमा पर्‍यो । चालकले निकाल्न जोड गर्दा चक्का झन् धसिएर अगाडिको भाग ढिकीजस्तै उचालियो । ट्रक फसेपछि ट्राफिक व्यवस्थापन झन् अस्तव्यस्त भयो । 

Advertisement

तर, मंगलबार बिहान मात्र ट्रक निकाल्न सम्भव भयो । ‘पाइप बिछ्याइएको खाल्डामा लोड गरिएको ट्रक फस्यो । सोमबार दिनभर ट्राफिक व्यवस्था अस्तव्यस्त बन्यो,’ महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसएसपी मिलन बस्नेतले भने, ‘तत्काल हटाउन सकिएन । मंगलबार बिहान बल्लतल्ल हटाइयो ।’ आयोजना कार्यान्वयन निर्देशनालयका प्रवक्ता लीलाप्रसाद ढकालले पुरानो पाइपबाट रसाएको पानीले ट्रक फसेको, तर तत्काल निकाल्न नसक्दा जनताले दुःख पाएको बताए ।

शनिबार बिहान झिसमिसेमै मर्निङवाकमा निस्किएका हिमाल आरोही सञ्जय पण्डितले कोटेश्वरनजिकै खाल्डोमा एउटा मोटरसाइकल खसेको देखे । त्यसअघि यही खाल्डोमा कार खस्दा केही व्यक्ति घाइते भएका थिए ।

तर, कार र मोटरसाइकल दुर्घटनापछि पनि त्यो सडक बनाउने त परै जाओस्, ट्राफिक संकेत राख्नेसम्म काम भएको छैन । यस्तो लापरबाहीले काठमाडौंमा दुर्घटना बढेका छन् ।

यो सडकखण्ड बन्न थालेको भुइँचालोअघि नै हो । तर, काम सुस्त हुँदा यात्रु र चालकले धुलो खाने मात्र होइन, ज्यानको जोखिमसमेत मोल्नुपरेको छ ।

खन्नेले नै पिच गर्नुपर्ने हो तर, कारबाही कसले गर्ने ?
आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी)का वरिष्ठ इन्जिनियर तथा प्रवक्ता लीलाप्रसाद ढकालले खनिएका सडक कालोपत्रे नहुँदा धुलो बढेको स्विकारे । ‘पाइप बिछ्याएलगत्तै सडक कालोपत्रे गर्नुपर्ने ठेकेदार कम्पनीसँगको सम्झौता हो । तर, उनीहरूले गरेका छैनन् । जसले गर्दा उपत्यकाका सडकमा जताततै खाल्डाखुल्डी छन् र धुलोले समस्या छ,’ उनले भने ।  तापक्रम अनुकूल नभएकाले सडक कालोपत्रे गर्न समस्या भएको उनको भनाइ छ ।

सडकको दुरावस्थाले राजधानीमा दुर्घटना बढ्दै 
चक्रपथ सडकअन्तर्गत बालकुमारी–कोटेश्वर सडकखण्डका ठेकेदार बेपत्ता भएपछि सडक निर्माण अलपत्र छ । सडकको बीचमै ठुल्ठूला खाल्डा छन्, जसका कारण दैनिकजसो दुर्घटना हुने गरेको प्रहरीले जनाएको छ । सोमबार कोटेश्वरको ताजमहल रेस्टुरेन्टअगाडिको खाल्डोमा बा.९च ५३१३ नम्बरको कार खस्यो । चालक शिव घले घाइते भए । उक्त खाल्डोमा पटक–पटक मोटरसाइकल र साइकलसमेत खसिसकेको महानगरीय ट्राफिक प्रहरी प्रभाग कोटेश्वरका प्रहरी निरीक्षक पुरुषोत्तम पाण्डेले जानकारी दिए । सडक निर्माणका ठेकेदार बेपत्ता हुँदा उक्त सडकखण्ड अस्तव्यस्त भएको उनी बताउँछन् । खाल्डोमा गाडी पर्ने र ‘ब्याक’ भएर अर्काे गाडीसँग ठोक्किने घटना दैनिक हुने गरेका छन् ।

धुलोका कारण दिउँसै अन्धकार
ताजमहलअगाडिको खाल्डोमा पटकपटक सवारीसाधन खसेपछि खाल्डो पुर्न ठेकेदार फेला नपारेपछि प्रहरीले त्यसको वरिपरि डिभाइडर राख्ने तयारी गरेको छ । राजधानीमा पहिलेदेखि नै सडक अवस्था खराब रहेकोमा पछिल्लो समय मेलम्ची खानेपानी आयोजनाले सडक भत्काउने र लामो समयसम्म नबनाउँदा दुर्घटना बढेको ट्राफिक प्रहरीले जनाएको छ । कहिले धुलोको कारण त कहिले हिलोको कारण दुर्घटना हुने गरेका छन् । ‘धुलोको कारण दिउँसै अन्धकार हुन्छ,’ महानगरीय प्रहरी वृत्त गौशालाका डिएसपी नवराज कार्की भन्छन्, ‘कहिले धुलोले बाटो नदेखिएर सवारीसाधन ठोक्किने गरेका छन्, कहिले धुलो हटाउन पानी हाल्दा हिलोमा चिप्लिएर मोटरसाइकल दुर्घटनामा परेका छन् ।’

गौशालामै केही दिनअघि धुलो कम गर्न बाटोमा पानी छ्याप्दा सडक हिलाम्मे भई मोटरसाइकल दुर्घटनामा परेको थियो । त्यस्तै, मेलम्ची खानेपानीको पाइप बिछ्याउन खनिएका खाल्डोमा परेर पनि धेरै दुर्घटना भएका छन् । खाल्डो खनेका ठाउँबारे कुनै संकेतसमेत राख्ने गरिएको छैन ।

सडकले ज्यान लिँदै
गत १८ मंसिरमा ना.५ख ९०१४ नम्बरको ट्रकले नैकापमा बा.४६प ४३८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार नैकाप घर भएकी निर्मला विकको मृत्यु भयो । सडकको खराब अवस्थाका कारण उक्त दुर्घटना भएको थियो । सडकको खाल्डोमा परेर मोटरसाइकल अनियन्त्रित हुँदा पछाडि बसेकी महिला लडेकी हुन् । सडककै कारण बल्खु तथा कलंकी क्षेत्रमा दुर्घटना बढेको कालिमाटी वृत्तका डिएसपी नवराज अधिकारी बताउँछन् ।

बल्खुको सडकमा रहेको खाल्डोकै कारण सर्वाेच्च अदालतका शाखा अधिकृत राजाराम बिडारीले गत २४ कात्तिकमा श्रीमतीलाई गुमाउनुपर्‍यो, आफू पनि घाइते भए । घरबाट अफिस जाने क्रममा बल्खु चोकमा पुगेपछि मोटरसाइकल खाल्डोमा पर्‍यो । अनियन्त्रित भएर दाहिनेतर्फ पल्टिएपछि ट्रकले ठक्कर दिँदा बिडारीकी श्रीमतीको मृत्यु भएको थियो । जडीबुटीमा पनि गत कात्तिकमा सडकको खाल्डोमा खसेर एक साइकलयात्रीको मृत्यु भएको थियो । आजको नयाँ पत्रिकाबाट

प्रतिक्रिया

सम्बन्धित सामाग्री