बिहीबार, १३ वैशाख २०८१

गिद्ध संरक्षणमा नेपालको अन्तर्राष्ट्रिय प्रशंसा (फोटोफिचर)

समयपोष्ट २०७३ माघ ५ गते ६:०१

मनोज पौडेल

Advertisement


संरक्षणकर्मी र नेपाली सरकारी अधिकारी अहिले निकै खुसी र हर्षित छन् । उनीहरूले नेपालको गिद्ध संरक्षणको प्रयासले अन्तर्राष्ट्रियस्तरमै राम्रो प्रशंसा पायो । त्यतिमात्र होइन, अफ्रिकी मुलुकहरूले गिद्ध संरक्षणमा नेपालले गरेको राम्रो र सफल अभ्यासबारे मुक्तकण्ठले गुणगान गाए । अनि सिको गर्दै अघि बढ्ने घोषणासमेत गरे ।
अमेरिकाको हवाइको होनोलुलुस्थित हवाई कन्भेन्सन सेन्टरमा हालै सम्पन्न अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आईयूसीएन) को साता लामो विश्व सम्मेलनमा गिद्ध संरक्षणबारे नेपालको प्रशंसा भएको हो । नेपालको राष्ट्रिय निकुञ्ज विभागका उपमहानिर्देशक डा. महेश्वर ढकाल र पक्षी संरक्षण संघ (बीसीएन) का प्रमुख कार्यकारी अधिकृत डा. नरेन्द्रमानबाबु प्रधानले उक्त सम्मेलनमा गिद्ध संरक्षणबारे मुलुकको प्रस्तुति गरेका थिए । 

8f


‘हामीले गरेको काममा विश्वले चासो देखाउँदा निकै खुसी लाग्यो,’ पक्षी संरक्षण संघ (बीसीएन) का कार्यकारी अधिकृत डा. प्रधानले भने, ‘यसले सँच्चिकै गर्वले छाती फुल्यो ।’ ‘हाम्रो काम सही दिशातिर गइरहेको रहेछ भन्ने सन्देश विश्वलाई दियो,’ उनले भने, ‘यसले थप हौसलासमेत दिँदा काम गर्ने ऊर्जा बढेको छ ।’
‘गिद्ध अप्राकृतिक र नाटकीय रूपमा लोप हुने थालेपछि नेपाली संरक्षणकर्मी चिन्तामा परे । यसको मुख्य कारण खोजी हँुदा पीडानाशक औषधि डाइक्लोफेनेक पाइयो । त्यसकारण संरक्षणकर्मीको पहल र आग्रहमा सरकारले मुलुकभरि डाइक्लोफेनेक बिक्री वितरण र आयातमै २०६३ जेठ २३ देखि रोक लगाएको छ । डाइक्लोफेनेक उत्पादन गर्ने, बेच्ने र भण्डारण गर्नेलाई औषधि ऐन २०३५ अनुसार तीन वर्षसम्म कैद वा २५ हजार जरिवाना वा दुवै सजाय हुन सक्ने कानुनी प्रावधान राखेको छ । त्यसको सट्टा त्यतिबेलैदेखि ‘मेलोक्सिक्याम’ उत्पादन गरी प्रवद्र्धन गरिएको छ । त्यसले गिद्धलगायत चराचुरुंगीलाई कुनै असर नगर्ने भएकाले संरक्षणमा मात्र सहयोग गरेन, संख्या बढाउन पनि मद्दत पुग्यो, सम्मेलनमा डा. ढकालले अफ्रिकी अधिकारीलाई सुनाएका थिए ।

2f


गिद्ध सिनो खाएर प्रदूषित र दुर्गन्धित वातावरणलाई स्वच्छ र सफा राख्न महत्वपूर्ण भूमिका खेल्दै आएको छ । गिद्धले वातावरणलाई स्वच्छ राखेर हैजा, रेबिज, प्लेग र एन्थ्राक्सजस्ता महामारी फैलन नदिन सहयोग गर्छ । वातावरणीय चक्र र खाद्य शृंखला सन्तुलित तथा गतिशील राख्न महत्वपूर्ण भूमिका खेल्ने गरेका कारण गिद्ध समाज उपयोगी पक्षी हो । पहिले गिद्धले छोए स्वस्तिशान्ति गर्नुपर्छ भन्ने थियो बीसीएनका गिद्ध संरक्षण अधिकृत कृष्णप्रसाद भुसालले भने, ‘सर्वसाधारण गिद्धको महत्व बुझेपछि संरक्षणमा सहयोग पुगेको हो ।’ 

3f


एसियाली मुलुकहरूमै गिद्ध संकटमा परिरहेका बेला नेपालले सन् २००६ देखि गिद्ध संरक्षण अभियान सुरु गरेको हो । सरकारले त्यतिबेला नै गिद्ध संरक्षणका लागि सरोकारवाला निकायको सहकार्यमा कार्ययोजना बनाएर अघि बढ्न थालेको थियो । सन् २०१० मा दाङबाट पशु उपचार प्रयोगमा डाइक्लोफेनेक मुक्त गिद्ध सुरक्षित क्षेत्र बनाउने अभियान चल्यो । उक्त अभियानअन्तर्गत ५४ जिल्लाको १ लाख १२ हजार ६५ वर्गकिमि क्षेत्रफल डाइक्लोफेनेक मुक्त क्षेत्र घोषणा गरिएको छ । नेपालले १० वर्षअघि नै प्रतिबन्ध लगाएको डाइक्लोफेनेकको प्रयोगलाई विश्वभरि बन्देज गर्ने मुद्दा अहिले आएर आईयूसीएन सम्मेलनमा प्रस्तावका रूपमा आएको छ । यसले पनि हामी गिद्ध संरक्षणमा अग्रणी छौं भन्ने पुष्टि हुन्छ, कार्यक्रममा सहभागी जुलोजिकल सोसाइटी अफ लन्डन नेपाल च्याप्टर देशीय प्रतिनिधि डा. हेमसागर बरालले भने । उनले स्थानीय समुदायसँग हातेमालो गरेर गरिएका कामले नै गिद्ध संरक्षणमा अन्तर्राष्ट्रिय सफलता हात पार्न सफल भएको बताए । ‘हाम्रो सिकाइमा अफ्रिकी मुलुकले चासो देखाउनु गर्वको कुरा हो,’ उनले भने, ‘यसले विश्वलाई नेपालबाट केही सिक्न सकिन्छ भन्ने सन्देश गएको छ ।’ 

4f


अफ्रिका २० देशका अधिकारी र संरक्षणकर्र्मी तथा सरोकारवाला सहभागी कार्यक्रममा डा. ढकालले प्रस्तुतिक्रममा भनेका थिए, ‘स्थानीयस्तरमा समुदायसँग मिलेर काम गर्न थालेपछि गिद्धको संख्या बढ्दै गएको छ । हाम्रो सफलताको कडी त्यही हो, त्यसमा सरकारले पनि सहयोग र सहकार्य दिल खोलेर ग¥यो ।’ त्यो प्रस्तुति सुनेका अफ्रिकी मुलुकले तत्कालै नेपाली सिकाइको सिको गर्ने घोषणा गरेका थिए ।सन् १९९० को मध्येदेखि नेपाल, भारत र पाकिस्तानमा गिद्धको संख्या घट्नुको मुख्य कारण घरपालुवा पशुको उपचारमा प्रयोग हुने ‘डाइक्लोफेनेक’ भएको सन् २००४ मा पुष्टि भएको थियो । पेरिग्राइन कोषले भारतको जंगलमा मरेका २ सय १९ वटा गिद्धको अनुसन्धान गर्दा ८५ प्रतिशत गिद्धको भित्री अंगमा युरिक एसिडका पत्थर जम्मा भएको थाहा भयो र मिर्गौलाले काम गर्न नसकेपछि गिद्ध भकाभक मरेको पुष्टि भयो ।

 

7f


‘मिर्गौला परीक्षण गर्दा डाइक्लोफेनेकको अवशेष पाइएपछि त्यो घातक प्रमाणित भएको हो । ३० मिलिलिटर डाइक्लोफेनेक प्रयोग भएको पशुको सिनो खाँदा ३ सय ५० देखि ८ सय गिद्ध मरेको अध्ययनले देखाएको थियो । लोपोन्मुख गिद्धलाई डाइक्लोफेनेकरहित शुद्ध आहार उपलब्ध गराई संरक्षण गर्ने उद्देश्यले शुद्ध आहार खुवाउन गिद्ध रेस्टुरेन्ट खोलिएको छ,’ डा. प्रधानले अफ्रिकी अधिकारीलाई सुनाए, ‘त्यसले मृत्युदर घटायो र संख्या पनि बढ्यो ।’ सन् २००६ देखि सामुदायिक वन उपभोक्ताको सक्रियतामा बीसीएनले नवलपरासीमा जटायु रेस्टुरेन्ट खोल्यो भने अहिले रूपन्देहीको गैडहवा, दाङको लालमटिया, कञ्चनपुर र कास्कीलगायत ठाउँमा रेस्टुरेन्ट खुलेका छन् । ती रेस्टुरेन्टमा गिद्धको आहार राखिन्छ । वृद्ध र अशक्त पशु संकलन गरिन्छ र ती मरेपछि वा मर्नुअघि काटेर गिद्धको आहारमा प्रयोग गरिँदै आएको छ ।
नेपाल दक्षिण एसियाली मुलुकमध्येमा समेत गिद्ध संरक्षणमा अग्रस्थानमा छ । भारत, पाकिस्तानभन्दा पनि पहिला नेपालले गिद्ध संरक्षणमा सफलता हात पारेको हो । त्यसैले अहिले गिद्ध संरक्षणसम्बन्धी क्षेत्रीयस्तरको समितिको नेपालले नेतृत्व गर्दै अध्यक्षता गरिरहेको छ ।

6f


बीसीएनका कार्यकारी अधिकृत प्रधानले सन् २००२ देखि २०१५ सम्मको ‘राजमार्ग ट्रान्सेक्ट सर्भे’ बाट डंगर गिद्ध ९९ र सानो खैरोगिद्धको मृत्युदर ९८ प्रतिशतले घटेको बताए । आईयूसीएनले नेपालमा पाइने सानो खैरो, डंगर, लामो ठुँडे र सुन गिद्धलाई अति संकटापन्न र सेतो गिद्धलाई संकटापन्नमा सूचीकृत गरेको छ । ‘हामीले गरिरहेको गिद्ध संरक्षण कार्यक्रम विश्वकै लागि अनुकरणीय, चासो र अनुसन्धानको विषय हो भन्ने अमेरिकाको हवाईमा पुष्टि भयो,’ प्रधानले भने ।
गिद्धको संख्या बढाउने उद्देश्यले सहयोगी संस्थासँग मिलेर सरकारले चितवन राष्ट्रिय निकुञ्जको मुख्यालय कसरामा सन् २००८ मा गिद्ध प्रजनन केन्द्र स्थापना गरेको थियो । त्यसबारे पनि अफ्रिकीहरूलाई नेपाली अधिकारीले जानकारी गराएका थिए । ‘केन्द्रमा हुर्काइएका दोस्रो पुस्ताका गिद्धलाई सुरक्षित प्राकृतिक वातावरणमा छाडिन्छ,’ प्रस्तुतिका क्रममा प्रधानले थपे, ‘त्यसले पनि हामीकहाँ गिद्धको संख्या बढाउन मद्दत गर्यो ।’हिन्दु धर्ममा गिद्धलाई शनि देवताको वाहनका रूपमा पुजिन्छ बीसीएनका गिद्ध संरक्षण अधिकृत कृष्णप्रसाद भुसालले भने धार्मिक कुराले पनि संरक्षणमा टेवा पुगेको छ । नेपालको हिमाली क्षेत्रमा बस्ने तिब्तियनमूलका लामा समुदायले शव गिद्धलाई खुबाउँछन् । गिद्धले राम्ररी शव खाएको व्यक्ति धार्मिक र स्वर्ग जाने विश्वास रहेको छ । यसले पनि गिद्ध जोगाउनुपर्छ भन्ने सचेतना छ उनले भने । 

10f

संसारमा २३ प्रजातिका गिद्ध पाइन्छन् । दक्षिण एसियामा नौ प्रजातिका छन् । नेपालमा हाडफोर, सेतो, डंगर, लामो ठुँडे, सानो खैरो, हिमाली, खैरो, राज र सुन गिद्ध गरी नौ प्रजातिका गिद्ध पाइन्छन् । डंगर गिद्ध, सानो खैरो गिद्ध, सेतो गिद्ध, हिमाली गिद्ध र हाडफोर गिद्धले नेपालमै गुड बनाई बच्चा कोरल्छन् । राजगिद्ध हिउँदे आगन्तुक हो । खैरो गिद्ध बटुवाका रूपमा आउँछ भने लामो ठुँडेगिद्ध कहिलेकाहीं भौंतारिएर आउँछ । यिनीहरू सबै अग्ला र ठूला रूख तथा चट्टानी पहरामा गुँड बनाएर बस्छन् ।
 

प्रतिक्रिया

सम्बन्धित सामाग्री