
नेपाली कांग्रेसको गत पुस २७ देखि ३० गतेसम्म भृकुटीमण्डपमा सम्पन्न दोस्रो विशेष महाधिवेशनबाट सर्वसम्मत रूपमा सभापतिमा निर्वाचित गगनकुमार थापाको नेतृत्वमा बनेको नयाँ केन्द्रीय कार्यसमिति आज पार्टीको केन्द्रीय कार्यालय सानेपामा पुग्दै छ ।
सभापति थापा पक्षका नेता मनोजमणि आचार्यले आज दिउँसो १ बजे सभापति थापा, पदाधिकारीहरू तथा केन्द्रीय सदस्यहरू पार्टी कार्यालय सानेपा पुगेर पद बहाली गर्ने जानकारी दिएका छन् । यो विशेष महाधिवेशनबाट चयन भएको नेतृत्वले पहिलो पटक पार्टीको केन्द्रीय कार्यालयमा प्रवेश गर्न लागेको हो ।
विशेष महाधिवेशनले गगन थापालाई सभापति, विश्वप्रकाश शर्मा र पुष्पा भुसाललाई उपसभापति, गुरुराज घिमिरे र प्रदीप पौडेललाई महामन्त्री तथा डा. डिला सङ्ग्रौला पन्त, फरमुल्लाह मन्सुर, योगेन्द्र चौधरी, उदय शमशेर राणा, कर्णबहादुर बुढा, बहादुर सिंह लामा र मुक्ता यादवलाई सहमहामन्त्रीमा सर्वसम्मत चयन गरेको थियो । यसैगरी १३५ सदस्यीय केन्द्रीय कार्यसमिति पनि सर्वसम्मत निर्वाचित भएको थियो ।
२०७८ मा सम्पन्न १४औँ महाधिवेशनपछि महामन्त्री बनेका गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा आयोजित यो विशेष महाधिवेशनलाई शेरबहादुर देउवा नेतृत्वको संस्थापन पक्ष र डा. शेखर कोइराला पक्षले अस्वीकार गरेका थिए । दुवै पक्षले निर्वाचन आयोग र सर्वोच्च अदालतसम्म पुगे पनि निर्वाचन आयोगले थापा नेतृत्वको समितिलाई आधिकारिक मान्यता दिइसकेको छ ।
सर्वोच्च अदालतले देउवा तथा कोइराला पक्षले दायर गरेको रिटमा अन्तरिम आदेश नदिएपछि नयाँ कार्यसमितिले पद बहालीको प्रक्रिया अघि बढाएको हो ।










प्रतिक्रिया