पाल्पा सिमेन्टले आजदेखि स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्कासन गर्दै

पाल्पा सिमेन्टले आजदेखि स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्कासन गर्दै

काठमाडौं । पाल्पा सिमेन्ट इण्डस्ट्रीज लिमिटेडले आज (पुस २५ गते, २०८२) देखि उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि साधारण शेयर (आईपीओ) निष्कासन तथा बिक्री खुला गरेको छ।

Advertisement

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी पूँजीको २० प्रतिशत अर्थात् ७५ करोड रुपैयाँ बराबरको ७५ लाख कित्ता शेयर निष्कासन गर्ने अनुमति पाएको छ। यसमा उद्योग प्रभावित क्षेत्रका स्थानीयका लागि १८ लाख ७५ हजार कित्ता (१८ करोड ७५ लाख रुपैयाँ बराबर) र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ५ लाख ६२ हजार ५०० कित्ता (५ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबर) छुट्याइएको छ।

प्रति कित्ता अंकित मूल्य १०० रुपैयाँ रहेको यो आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिनेछ। स्थानीय बासिन्दाका लागि आवेदन म्याद छिटोमा माघ ९ गते र ढिलोमा माघ २५ गतेसम्म तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छिटोमा पुस ३० गते र ढिलोमा माघ ९ गतेसम्म रहेको छ।

उद्योग प्रभावित क्षेत्रमा पश्चिम नवलपरासी (साविक नवलपरासी) र खानी क्षेत्र पाल्पा जिल्ला पर्दछन्। स्थानीयले नबिल बैंकका तानसेन, बर्दघाट, बुलिबटार, गैंडाकोट शाखा; प्रभु बैंकका पाल्पा, बर्दघाट, परासी र बेलातारी शाखा तथा सिद्धार्थ बैंकका पाल्पा, बर्दघाट र परासी शाखाबाट आवेदन दिन सक्नेछन्। फाराम बापत २ रुपैयाँ शुल्क लाग्नेछ।

वैदेशिक रोजगारीमा रहेकाहरूले सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट अनलाइन आवेदन दिन सक्नेछन्।

Advertisement

कम्पनीलाई इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले ‘आईआरएन डबल बी प्लस’ रेटिङ प्रदान गरेको छ, जसले दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्छ।

कम्पनीको नेट प्रिजेन्ट भ्यालु १२ अर्ब ९९ करोड ८७ लाख रुपैयाँ छ भने इन्टरनल रेट अफ रिटर्न १३.७८५ प्रतिशत रहेको छ। लगानी फिर्ता अवधि साधारणमा ६ वर्ष ८ महिना र डिस्काउन्टमा ९ वर्ष १२ महिना छ।

कम्पनीको दैनिक क्लिंकर उत्पादन क्षमता १८०० मेट्रिक टन र सिमेन्ट २२०० मेट्रिक टन छ। यसले २०७६ बैशाखदेखि क्लिंकर र २०७७ बैशाखदेखि सिमेन्ट उत्पादन गर्दै आएको छ।

शेयर निष्कासन तथा बिक्री प्रबन्धक नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री