आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको २८औँ साधारणसभा सम्पन्न, लाभांश वितरण गर्ने प्रस्ताव पारित

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडको २८औँ वार्षिक साधारणसभा २०८२ पौष २४ गते बिहीबार काठमाडौँको भाटभटेनी, नक्शालस्थित अम्रपाली बैङ्क्वेटमा सम्पन्न भएको छ।

सभामा अध्यक्ष हेमराज ढकालले शेयरधनीहरूलाई स्वागत गर्दै बीमाको महत्वपूर्ण भूमिकाबारे प्रकाश पार्नुभयो। उहाँले बीमाले व्यक्तिको जीवन, सम्पत्ति, व्यवसाय र दायित्वको संरक्षण गर्दै प्राकृतिक तथा मानवसिर्जित जोखिमबाट हुने आर्थिक संकटविरुद्ध सुरक्षा कवचको काम गर्ने बताउनुभयो। राष्ट्रको अर्थतन्त्रको विकास र दिगोपनामा बीमा बजारको पहुंच तथा विश्वसनीयतालाई प्रमुख सूचक मानिने उल्लेख गर्दै कम्पनीले स्थापनाको २८ वर्ष सफलतापूर्वक पूरा गरेको र बीमा बजारलाई स्वच्छ, पारदर्शी तथा भरपर्दो बनाउन प्रतिबद्ध रहेको जानकारी गराउनुभयो।

Advertisement

सभाले समीक्षा वर्षको नाफाबाट चुक्ता पूँजीको ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ। यसैगरी, कम्पनीको पानीपोखरीस्थित २ रोपनी ६ आना २ पैसा ३ दाम जग्गामा निर्माणाधीन ११ तले भवन (२ तल्ला पार्किङसहित करिब ६० हजार वर्गफिट) सम्पन्न भई ठेकेदारबाट हस्तान्तरण प्राप्त भएको जानकारी दिइयो। यही २०८२ माघ महिनाभित्र कम्पनीको प्रधान कार्यालय हालको नारायणचौर, नक्शालबाट पानीपोखरीको आफ्नै भवनमा सारिने र आवश्यक ४ तल्ला प्रयोग गरी बाँकी तल्ला भाडामा लगाएर आम्दानी गर्ने योजना रहेको बताइएको छ।

अध्यक्ष ढकालले चालु आर्थिक वर्षमा जेनजी आन्दोलन (भाद्र २३–२४) बाट निर्जीवन बीमा क्षेत्रमा करिब २३ अर्ब ४४ करोड र असोज १८ देखिको अविरल वर्षा, बाढी तथा पहिरोबाट करिब ४ अर्बको दाबी परेको उल्लेख गर्दै सरकारको नीतिगत सुधार, आर्थिक सूचकहरूमा क्रमिक सुधार र शेयर बजारको सकारात्मक संकेतले दीर्घकालमा व्यवसायिक वातावरण सुदृढ हुने अपेक्षा व्यक्त गर्नुभयो। साथै, सूचना प्रविधिमार्फत छरितो, सुरक्षित तथा प्रभावकारी सेवा प्रदान गर्न प्रविधिमैत्री सेवामा जोड दिइएको र चालु वर्षमा डिजिटल तथा ग्राहकमैत्री सेवा विस्तार गर्ने लक्ष्य रहेको बताउनुभयो।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले सभामा कम्पनीले सातै प्रदेशमा ९० शाखा सञ्जाल, ५३१ कर्मचारी, ४३० अभिकर्ता र १९२ सर्भेयरमार्फत सेवा प्रदान गरिरहेको जानकारी गराउनुभयो। चुक्ता पूँजी ३ अर्ब २ करोडसहित निर्जीवन बीमा कम्पनीहरूमा सबैभन्दा ठूलो कम्पनी रहेको र माघ महिनासम्म प्रधान कार्यालय पानीपोखरीमा सर्ने बताउनुभयो।

गत आर्थिक वर्ष २०८०/८१ मा निर्जीवन बीमा क्षेत्रको कुल बीमा शुल्क ४१ अर्ब १७ करोडबाट ६.७७ प्रतिशतले वृद्धि भई ४३ अर्ब ९५ करोड पुगेको तथा कम्पनीको बीमा शुल्क ३ अर्ब ६३ करोड ६१ लाखबाट ६.३२ प्रतिशतले बढेर ३ अर्ब ८६ करोड ५९ लाख पुगेको उहाँले बताउनुभयो। समीक्षा वर्षमा १८ हजार ५०० दाबीका लागि २ अर्ब ४६ करोड ३३ लाख भुक्तानी गरेको र सरकारलाई ७९ करोड ८७ लाख कर बुझाएको जानकारी दिनुभयो।

Advertisement

कम्पनीले नयाँ स्वास्थ्य बीमा योजना ‘IGI Health Care’ सुरु गरेको तथा नेपालका अस्पतालहरूबाट नगदरहित सेवा र भारतमा पनि सुविधा उपलब्ध गराएको छ। यसैगरी, ट्रेकिङ र पर्वतारोहणका लागि आउने विदेशी नागरिकलाई लक्षित गरी ‘Himalayan Guardian Nepal’ सँग सहकार्यमा नयाँ बीमालेख सुरु गरेको छ, जसले दुर्घटना तथा उचाइजन्य रोगमा नगदरहित उपचार सुविधा प्रदान गर्छ।

अन्तमा, अध्यक्ष ढकालले सभामा उपस्थित शेयरधनीहरूको सुझाव, विश्वास र सहयोगप्रति आभार व्यक्त गर्दै नेपाल सरकार, बीमा प्राधिकरण, नियामक निकाय तथा ग्राहकहरूप्रति धन्यवाद ज्ञापन गर्नुभयो। सभा शेयरधनीहरूको सक्रिय सहभागितामा सम्पन्न भएको थियो।

प्रतिक्रिया

सम्बन्धित सामाग्री