
नेकपा (एमाले) का अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलन नियन्त्रणका लागि नेपाली सेना परिचालन गर्न खोजिएको तर विविध कारणले सम्भव नभएको बताएका छन्। भदौमा भएको हिंसात्मक घटनाको छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगलाई दिएको लिखित बयानमा ओलीले यस्तो खुलासा गरेका हुन्।
एमाले सचिव महेश बस्नेतले सामाजिक सञ्जालमार्फत ओलीको बयानका मुख्य बुँदाहरू सार्वजनिक गरेका छन्। बस्नेतका अनुसार ओलीले भदौ २२ गते साँझ बसेको राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा आन्दोलनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्न दिने, बल प्रयोग नगर्ने र युवा–विद्यार्थीलाई सहजीकरण गर्ने नीति लिएको उल्लेख गरेका छन्।
तर, आन्दोलनमा अराजक समूहको घुसपैठ भएको र तोडफोड तथा हिंसा सुरु भएको ओलीको दाबी छ। उनले आन्दोलनमा संलग्न युवाहरूले नै घुसपैठ र अराजकता स्वीकार गरेको तथा तत्कालीन फोटो र भिडियोहरूले सहभागीहरू अधिकांश ‘जेनजी’ पुस्ताका नभएको देखाएको बताएका छन्।
भदौ २३ गते एक्कासि तोडफोड र गोली प्रहार सुरु भएपछि तत्कालीन गृहमन्त्रीसहित सुरक्षा प्रमुखहरूसँग छलफल गरी छानबिन समिति गठन गर्ने निर्णय लिएको ओलीले स्पष्ट पारेका छन्। साथै, उनले आयोगका संयोजक पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको निष्पक्षतामाथि प्रश्न उठाउँदै घटनाको दिन र त्यसअघि–पछिसमेत सामाजिक सञ्जालमा धारणा सार्वजनिक गरेकाले प्रतिवेदन निष्पक्ष नहुने आशंका व्यक्त गरेका छन्।











प्रतिक्रिया