आगामी चैत १ देखि आर्थिक गणना, गणक र सुपरिवेक्षक वैशाख २ देखि फिल्डमा

नेपालमा दोस्रो राष्ट्रिय आर्थिक गणना सञ्चालन हुने भएको छ। राष्ट्रिय तथ्यांक कार्यालयले देशभर यो गणना गर्ने तयारी गरेको हो। ‘अर्थतन्त्र मापनको लागि आर्थिक गणना’ भन्ने नाराका साथ चैत १ गतेदेखि असार मसान्तसम्म गणना हुने योजना छ। कार्यालयले हालै गणनाको तालिका, लोगो र नारा सार्वजनिक गरेको छ।

Advertisement

पहिलो राष्ट्रिय आर्थिक गणना वि.सं. २०७५ (सन् २०१८) मा भएको थियो। जसमा देशभर ९ लाख २३ हजार ३५६ प्रतिष्ठान/व्यवसाय गणना भएका थिए र तीमा कुल ३२ लाख २८ हजार ४५७ व्यक्ति संलग्न रहेका थिए। त्यसमा करिब २९.६ प्रतिशत महिला व्यवस्थापक रहेको र औपचारिक तथा अनौपचारिक प्रतिष्ठानहरूको संख्या लगभग बराबर रहेको पाइएको थियो।

Advertisement

दोस्रो गणनामा आर्थिक विवरणदेखि उद्योगहरूको उत्पादनसम्मका जानकारी संकलन गरिनेछ। यसले उद्योगको अवस्था, रोजगारी सिर्जना, लगानी, उत्पादन र सेवा प्रवाहजस्ता पक्षहरूको विस्तृत तथ्यांक उपलब्ध गराउने छ। गणनामा उद्योग, व्यापार, व्यवसाय, सेवा क्षेत्र, सहकारी र निजी/सार्वजनिक संस्थाहरू समेटिनेछन्। कुल १८ वटा मुख्य क्षेत्र का आधारभूत विवरणहरू संकलन हुने बताइएको छ।

यो गणनाका लागि करिब ५ हजार गणक नियुक्त गरिनेछ। फागुन मसान्तसम्म पूर्वतयारी पूरा गरी वैशाख २ गतेदेखि असार ७ गतेसम्म तालिमप्राप्त गणक र सुपरिवेक्षकहरू स्थलगत रूपमा खटिनेछन्।

राष्ट्रिय तथ्यांक कार्यालयका प्रमुख डा. कमलप्रसाद पोख्रेलका अनुसार यो गणना आर्थिक क्रियाकलाप गर्ने इकाइहरूको वास्तविक अवस्था पहिचान गर्न र सरकारलाई नीति निर्माणमा सहयोग पु¥याउन महत्वपूर्ण हुनेछ। यसले मूल्यवृद्धि, रोजगारी, जनशक्ति आवश्यकता र भावी योजनाहरूका लागि आधार प्रदान गर्ने छ। पहिलो गणनाको अनुभवलाई सुधारेर अन्तर्राष्ट्रिय मापदण्डअनुसार यो पटक थप प्रभावकारी बनाइने उनको भनाइ छ।

उपप्रमुख तथा प्रवक्ता ढुण्डीराज लामिछानेले यो गणनाले अर्थतन्त्रका विभिन्न क्षेत्रको योगदान, वृद्धिदर र नीति प्राथमिकताको आधार तयार पार्ने बताए। यसले कुल गार्हस्थ्य उत्पादन अनुमानको आधार वर्ष परिवर्तन र राष्ट्रिय लेखा प्रणालीलाई थप मजबुत बनाउन पनि सहयोग पुग्ने छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री