रास्वपाको समानुपातिक बन्दसूचीबाट यी पाँच चर्चित अनुहारले फिर्ता लिए उम्मेदवारी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगमा बुझाएको समानुपातिक बन्दसूचीबाट पाँच जनाले आफ्नो उम्मेदवारी फिर्ता लिने घोषणा गरेका छन् ।

Advertisement

डा. महेन्द्र लावती, डा. त्रिशला गुरुङ, सचिन ढकाल, आशिफ शाह र टासी ल्हाक्पा शेर्पाले व्यक्तिगत तथा आत्ममूल्यांकनका आधारमा नाम फिर्ता लिने निर्णय गरेका हुन् ।

युवा उद्यमी तथा आईएमई ग्रुपका निर्देशक सचिन ढकालले शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत नाम फिर्ता लिएको जानकारी गराएका छन् । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालका छोरा सचिनको नाम सूचीमा परेलगत्तै समानुपातिक प्रणालीको मर्मविपरीत धनी तथा प्रभावशाली वर्गलाई प्राथमिकता दिएको भन्दै व्यापक आलोचना भएको थियो । उनले संविधानले व्यवस्था गरेको समानुपातिक प्रणालीको सम्मान गर्दै व्यक्तिगत कारणले नाम फिर्ता लिने बताएका छन् ।

Advertisement

अभिनेता तथा टेलिभिजन कार्यक्रम प्रस्तोता आशिफ शाह मुस्लिम क्लस्टरबाट पहिलो नम्बरमा थिए । उनी रास्वपाका पूर्वसांसद असिम शाहका दाइ हुन् ।

यसअघि डा. त्रिशला गुरुङले शुक्रबार फेसबुकमार्फत नाम फिर्ता लिने घोषणा गरेकी थिइन् । गायिका तथा चिकित्सक गुरुङले पार्टीबाट सिफारिस हुनु ठूलो सम्मान भएको बताउँदै गहन आत्ममूल्यांकनपछि स्वास्थ्य र कला क्षेत्रमा स्वतन्त्र रूपमा योगदान दिने निर्णय लिएको उल्लेख गरेकी छन् ।

प्राध्यापक डा. महेन्द्र लावती र चर्चित पर्वतारोही टासी ल्हाक्पा शेर्पाले पनि उम्मेदवारी फिर्ता लिने घोषणा गरेका छन् । शेर्पा फोर्टिन पिक्स एक्सपिडिसनका सीईओ हुन् र हालै रास्वपामा प्रवेश गरेका टासी मिङ्मा शेर्पाका भाइ हुन् ।

रास्वपाले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि विभिन्न क्षेत्रका चर्चित तथा प्रभावशाली व्यक्तित्वहरूलाई समेटेर समानुपातिक बन्दसूची बुझाएको थियो । सूची सार्वजनिक भएपछि चितवनकेन्द्रित उम्मेदवारी, समावेशिताको कमी र धनी वर्गको प्रभुत्वजस्ता विषयमा चौतर्फी आलोचना भएपछि यी उम्मेदवारहरूले नाम फिर्ता लिएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री