चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदर औसतभन्दा बढी हुने राष्ट्र बैंकको अनुमान

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो वर्षको तुलनामा आर्थिक वृद्धिदर बढी हुने अनुमान गरेको छ । आर्थिक क्रियाकलापमा सुधार आएकाले वृद्धिदर औसतभन्दा माथि रहने बैंकको हालै सार्वजनिक ‘आर्थिक गतिविधि अध्ययन वार्षिक प्रतिवेदन’मा उल्लेख छ ।

Advertisement

प्रतिवेदनमा मुद्रास्फीतिको चाप कम रहेको, विश्वव्यापी इन्धन तथा खाद्य वस्तुको मूल्यमा गिरावट आएको, कर्जा तथा निक्षेपको ब्याजदर घट्दो क्रममा रहेको, जलविद्युत् उत्पादनमा उल्लेख्य वृद्धि भएको, बाह्य पर्यटक आगमनमा वृद्धि भएसँगै निर्यात र विप्रेषण आप्रवाहमा पनि सुधार भएको तथा विगत वर्षहरूमा संकुचनमा रहेको निर्माण र उत्पादनमूलक उद्योग क्षेत्र मौद्रिक सहजताका कारण विस्तार हुँदै गएकाले आर्थिक वृद्धि औसतभन्दा बढी हुने देखिएको जनाइएको छ ।

Advertisement

चालु आर्थिक वर्षमा आर्थिक क्रियाकलाप अघिल्लो वर्षको तुलनामा सकारात्मक रहने बैंकको अनुमान छ । अर्थतन्त्रमा तरलता पर्याप्त रहेको, सरकारले सुशासन प्रवर्द्धन गर्दै पुनर्निर्माणलाई अघि बढाएको तथा साना र तयारी नपुगेका आयोजनामा बजेट स्थगन गरी परियोजना प्राथमिकीकरण गरिएकाले अर्थतन्त्र चलायमान भई आर्थिक गतिविधि बढ्ने प्रतिवेदनमा उल्लेख छ ।

राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार गत आर्थिक वर्ष २०८१/८२ मा नेपालको आर्थिक वृद्धिदर उपभोक्ता मूल्यमा ४.६ प्रतिशतप्रचलित मूल्यमा ४ प्रतिशत रहने प्रारम्भिक अनुमान छ । गत वर्षको कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान २५.२ प्रतिशत, उद्योग क्षेत्रको १२.८ प्रतिशत र सेवा क्षेत्रको ६२ प्रतिशत रहने अनुमान छ ।

कूल गार्हस्थ्य उत्पादनमा बागमती प्रदेशको हिस्सा सबैभन्दा बढी ३६.५ प्रतिशत रहेको छ भने कोशी प्रदेशको १५.९ प्रतिशत । कर्णाली प्रदेशको हिस्सा भने सबैभन्दा कम ४.२ प्रतिशत छ ।

गत वर्ष अध्ययनमा समेटिएका उद्योगहरूको औसत क्षमता उपयोग ४४.५ प्रतिशत रहेको प्रतिवेदनले देखाएको छ, जुन अघिल्लो वर्ष २०८०/८१ को ४८.३ प्रतिशतभन्दा कम हो । विसं २०८२ असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कूल कर्जामा औद्योगिक क्षेत्रको अंश ३०.४२ प्रतिशत रहेको छ ।

राष्ट्र बैंकका अनुसार २०८२ असार मसान्तमा औसत कर्जा–निक्षेप अनुपात ७६.६ प्रतिशत छ । बैंक तथा वित्तीय संस्थाको कूल निक्षेप तथा कर्जामा बागमती प्रदेशको अंश उच्च छ– कूल निक्षेपमा ६५.८ प्रतिशत र कूल कर्जामा ५९.५ प्रतिशत छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री