बिहीबार, १३ वैशाख २०८१

असम्भवलाई सम्भव बनाउन सफल कुलमानका चुनौति

समयपोष्ट २०७३ पुष २० गते ४:४५

गत वर्षसम्म एउटा भनाइ प्रसिद्ध थियो, ‘जीवन र दिन व्यक्तिको इच्छाले होइन, लोडसेडिङ तालिकाले चलाउँछ ।’ हुन पनि लोडसेडिङको समस्याले भयावह रूप लिएको बेलाको पीडा पनि यस्तै थियो तर अहिले जीवन र दिन व्यक्तिको इच्छाअनुसार चल्न थालेका छन् ।
 तिहारपछि काठमाडौं उपत्यका लोडसेडिङमुक्त बनाउने योजना बन्यो । योजनामात्र बनेन, अहिलेसम्म लोडसेडिङमुक्त अवस्थाले निरन्तरता नै पाइरहेको छ । लोडसेडिङबाट मुक्ति पाएपछि धेरै जेनेरेटरमात्र थन्किएनन्, भित्तामा टाँसिएका लोडसेडिङको तालिका के काम भनेर च्यातिन थाले भने लोडसेडिङ थाहा पाउन बनेका धेरै मोबाइल एप्स काम नलाग्ने अवस्थामा पुगेका छन् । 
उपत्यकावासीले झन्डै १३ वर्षदेखि भोगेको लोडसेडिङको पीडा कसरी अन्त्य भयो ? दैनिक १८ घन्टासम्म लोडसेडिङ भोगेकालाई यो अचम्मकै विषय बनेको छ । पर्दापछाडि ज–जसको भूमिका भए पनि अहिले उपत्यकालाई लोडसेडिङमुक्त बनाएर चमत्कार गर्ने कुलमान घिसिङ अहिले सबैभन्दा बढी चर्चामा छन् । लोडसेडिङमुक्त बनाउनका लागि सबैभन्दा ठूलो कठिन महिना पुस र माघ आउँदै छ, त्यो बेला के होला, त्यो त कुनैपर्छ तर तिहारपछि निरन्तर उपत्यकालाई लोडसेडिङमुक्त बनाएर उनले चमत्कार नै देखाएका छन् । असहज, समस्या र चुनौतीलाई पार गरेर असम्भवलाई सम्भव बनाउन सफल  उनले नेपाल विद्युत्प्राधिकरणमा गत भदौ अन्तिममा नियुक्त पाएर उनले तिहारपछि नै उपत्यकालाई झिलिमिली बनाइरहेका छन् । उनको नेतृत्वको प्राधिकरण टिमले झिलिमिली काठमाडौंलाई निरन्तरता दिइरहेको छ । 
रामेछापको एउटा दुर्गम गाउँ डहुमा जन्मिएका कुलमान विद्युत्प्राधिकरणको कार्यकारी निर्देशकसम्म बन्दाको यात्रा कम्ती संघर्षपूर्ण छैन तर उनको संघर्ष सफलतातिर अघि बढिरहेको छ । अस्कल क्यापसबाट आईएस्सी गरेपछि उनी छात्रवृत्तिमा भारतमा जम्सेदपुरबाट सन् १९९४ मा इलेक्ट्रिकल इन्जिनियरिङ गरे । पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट पावर सिष्टम इन्जिनियरिङमा मास्टर्स गर्दा उनले ‘इन्टिग्रेटेड रिसोर्स प्लानिङ विथ डिमान्ड साइड म्यानेजमेन्ट’ मा थेसिस गरेका थिए । 
टुकीकै भरमा गाउँमै प्राथमिक शिक्षा पूरा गरेका र काठमाडौं आएपछि मात्र बिजुली देखेका उनको नाम अहिले बिजुलीसँग जोडिन थालेको छ । धेरैले बिजुली आएपछि कुलमान आयो र गएपछि कुलमान गयो भन्ने अवस्था सिर्जना भएको छ । विद्युत्को अधिकतम उपयोग गर्न जानेकै कारण उनले अहिले आफ्नो परिचयलाई इन्जिनियरमा मात्र सीमित राखेका छैनन्, बिजुली वितरणमा पनि कुशल नेतृत्व र व्यवस्थापन प्रदर्शन गरेका छन् । 
राधा ज्ञवाली ऊर्जामन्त्री भएको बेला चिलिमे जलविद्युत्कम्पनीको प्रमुखबाट हटाएपछि उनमा बढेको राजनीतिक प्रतिशोध र तिक्तताले उनलाई कार्यकारी निर्देशक तहमा त पुर्यायो धेरैले उनले कुशल व्यवस्थापन गर्न नसक्ने आरोप लगाइरहेका थिए । तर उनले काम गरेरै देखाए । आगामी माघ–फागुनमा पनि उनले उपत्यकालाई लोडसेडिङमुक्त बनाएर देखाए भने उनी त झन् चर्चाको शिखरमा पुग्ने नै छन्, लोडसेडिङ गराउने निकायका रूपमा चिनिएको प्राधिकरणको नाम पनि उच्च हुनेछ ।
 सन् १९९४ मा इन्जिनियरिङ सकेपछि करिब ०५१ तिर उनी स्वदेश फर्केर सातौं तहको इन्जिनियर भएका कुलमानले चिलिमेमा स्थानीय जनतालाई शेयर दिएर ठूलो चर्चा कमाएका थिए । चिलिमेबाट हटेपछि राहुघाटको आयोजना प्रमुख बनाइएका उनी कुशल व्यवस्थापनले धेरै कुराको सम्भाव्यता रहेको देखाएका छन् । 

Advertisement


kulman-1

चुनौतीमुक्त छैनन् कुलमान 
अहिले काठमाडौं उपत्यकालाई लोडसेडिङमुक्त र उपत्यकाबाहिर कम लोडसेडिङ गरिरहेका कुलमानका लागि यसको निरन्तरता दिनु सबैभन्दा ठूलो चुनौतीपूर्ण छ । चुहावट नियन्त्रण, बक्यौता असुली, घाटामा गएको प्राधिकरणलाई नाफामा लैजानु, विद्युत्प्राधिकरणमा रहेको परम्परागत सेवालाई आधुनिकीकरण गरी स्मार्ट सेवामा रूपान्तरण गर्नुलगायतका दर्जनौ काम उनले गर्नुपर्नेछ । 
अहिले पनि विद्युत् प्राधिकरणले बनाइरहेका ६० मेगावाटको त्रिशूली ३ ए, ३० मेगावाटको चमेलिया, १४ मेगावाटको कुलेखानी तेस्रो र ३२ मेगावाटको राहुघाट जलविद्युत् आयोजना रोगी अवस्थामा छन् यी आयोजनाको समय र लागत दोब्बरभन्दा बढी भइसकेको छ । यी समयमै बनाउनु अर्को चुनौतीपूर्ण काम उनका लागि छ । यसैगरी, माथिल्लो अरूण, दूधकोसी, उत्तरगंगालगायतका ६ आयोजनालाई चिलिमे मोडलमा लगेर बनाउने उनले घोषणा गरेका छन् । यसलाई पूरा गर्नु पनि उनका लागि चूनौतीपूर्ण छ । अहिले भारतबाट बिजुली आयात गरेर लोडसेडिङ न्यूनीकरण गरिँदै आएको छ । यसलाई अझ बढाउने लक्ष्य प्राधिकरणको छ । यसका लागि अन्तरदेशीय प्रसारण लाइनबाट बिजुली ल्याउनका लागि ढल्केबर सबस्टेसन निर्माण सम्पन्न भइसकेको छैन । यो सम्पन्न गराएर थप बिजुली ल्याउनका लागि तत्काल कठिन छ । 
अहिले मुजफ्फपुरमा एक सय एमभीएको अस्थायी ट्रान्सफर्मर राखेर ८० मेगावाट थप बिजुली ल्याउने कुरा भएको छ, यसलाई भारत सरकारसँग समन्वय गरेर ल्याउनका लागि समेत कूटनीतिक प्रयास गर्नुपर्ने अवस्था छ । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री