बिहीबार, १३ वैशाख २०८१

‘सिमेन्टमा १० प्रतिशत बजार हिस्सा जगदम्बाले लिएको छ’

समयपोष्ट २०७३ पुष १९ गते ५:०१

तपाईंले जगदम्बा सिमेन्टमा लामो समय रहेर काम गरिसक्नुभयो, जगदम्बाको पहिले र अहिलेको अवस्था कस्तो छ ?
जगदम्बा सिमेन्टले नेपालमा सिमेन्ट उत्पादन गरेको करिब १३ वर्ष भयो । यसमा म ८ वर्षदेखि निरन्तर रूपमा संलग्न छु । सम्पूर्ण सिमेन्ट उद्योगको नै राम्रो ग्रोथ भइराखेको अवस्था छ । हरेक दिन सिमेन्टको माग बढिराखेको छ । मैले सिमेन्ट उद्योगमा संलग्न हुँदा नेपालमा त्यतिखेर वार्षिक ४ देखि ५ करोड बोराको वार्षिक खपत थियो भने अहिले १२ करोडसम्म भएको छ । खपत दिनहुँ बढिराखेको छ ।

Advertisement

गत वर्षको भूकम्पपश्चात् झन् त्यसको माग अझ बढ्दै गएको अवस्था रहेको छ । सरकारको तथ्यांक हेर्दा अहिले नेपालमा १२ करोड बोरा वार्षिक खपत छ । त्यसको १० प्रतिशत बजार हिस्सा हाम्रो उत्पादनले लिएको छ । यो हिस्सा बढ्दै गइरहेको छ । हाम्रो भैरहवामा जगदम्बा सिमेन्ट इन्डष्ट्रिज प्रालि र पर्सा छातापिपरामा शुभश्री जगदम्बा सिमेन्ट मिल्स प्रालि रहेको छ । यी दुवै उद्योगबाट हामीले दैनिक रूपमा २४ सय मेट्रिक टन सिमेन्ट उत्पादन गर्न सक्छौं । 
स्वदेशी ठुल्ठूला परियोजनाहरूमा नेपाली सिमेन्ट प्रयोग गरिँदैन भन्ने गुनासो सुनिदै आएको छ नि ?
स्वदेशी ठूला परियोजनामा विदेशी सिमेन्टको किन उपयोग गरिन्छ भन्ने चासोको विषय पनि बनेको छ । यो नीतिगत समस्याका कारण हो जस्तो लाग्छ । कुनै पनि विदेशी परियोजना नेपालमा सञ्चालन हुन्छ भने सम्बन्धित राष्ट्र र नेपाल सरकारबीच एउटा सम्झौता हुन्छ । करारनामा नै सम्बन्धित देशले आफ्नो देशको उत्पादन प्रयोग गर्ने भनेर सर्त राखेको हुन्छ । यसले गर्दा नेपाली उद्योगहरूलाई समस्या गर्छ । त्यसैले नेपाली सिमेन्टहरू त्यस्ता परियोजनामा प्रवेश गर्न नपाएको अवस्था छ । यो कुरा नेपाली जनतामाझ प्रस्ट हुन जरुरी रहेको छ ।

सरकारले सिमेन्ट उद्योगहरूलाई मापदन्ड दिएको हुन्छ र सोही मापदण्डअनुरूप नेपाली सिमेन्ट उद्योगहरूले उत्पादन गरेपछि नेपाल सरकारले यो उत्पादन राम्रो छ भन्ने अनि किन्न नचाहने स्थिति रहेको छ । तर, अन्य देशहरूको उत्पादन भने सजिलैसँग भित्रन दिइराखेको छ । त्यसकारण यहाँ सरकारको गम्भीर लापरबाही देखिन्छ । यसमा हामीलगायत सम्पूर्ण सिमेन्ट उद्योगहरूले सरकारको ध्यानाकर्षण गराइराखेका छौं । अब यसको सम्बोधन होस् भन्ने हाम्रो आग्रह रहेको छ र यसलाई सम्बोधन गर्न पनि पर्छ । हामीले मापदण्डमा आधारित भएर सिमेन्ट उत्पादन गरेको हुनाले सरकारलाई हाम्रो त्यो माग पनि हो ।
अब जगदम्बाले नयाँ स्किम के ल्याउँदै छ ? 
नयाँ स्किम भन्नाले त्यस्तो नयाँखालको केही पनि छैन । तर, हामीले ठाउँ–ठाउँमा क्यापेनिङ गरिरहेका छौं। भूकम्प प्रतिरोधात्मक घरहरू कसरी बनाउने, कसरी सुरक्षित निर्माण गर्ने भन्ने विषयमा आममानिसलाई एजुकेट गरिहेका छौं । त्यो भन्दा नयाँखालको कुनै स्किम हाललाई छैन ।
जगदम्बाको होम इन्स्योरेन्स पहल हाम्रो, पाइला तपार्इंको अभियान कत्तिको प्रभावकारी रह्यो ?


roshan-pathak-1

त्यो निकै नै प्रभावकारी रह्यो । ठुल्ठूला कमर्सियल भवनहरू बनाउँदा उहाँहरूले आफैं बीमा गर्नुहुन्थ्यो । व्यक्तिगत आवास निर्माण गर्ने केही व्यक्तिहरूले पनि इन्सुरेन्स त गर्थे तर आम रूपमा व्यक्तिगत आवास निर्माण गर्ने अधिकांश मानिसमा बीमासम्बन्धी ज्ञान थिएन । जगदम्बाको होम इन्स्योरेन्स पहल हाम्रो, पाइला तपाईको अभियानमा हामीले बीमा गर्दाको फाइदा के त भन्ने कुराको आदान–प्रदान सही ढंगले गर्यो ।

हामीले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म यो अभियानलाई अगाडि बढाएका थियौं । आममानिसले त्यो कुरा बुझे । गत वर्षको गोरखा भूकम्पमा जति क्षति देखे मानिसले त्यो कारण पनि बीमाबारे क्लियर भए । यदि इन्सुरेन्स गरेको भए हामीले क्षतिपूर्ति पाउँथ्यौं भन्ने कुरा बुझ्न मानिसलाई गाह्रो भएन । जगदम्बाले गर्न खोजेको कुरा पनि अन्ततः त्यही नै हो ।

आमसर्वसाधारणले दुःखले आर्जन गरेर कमाएको पैसा, त्यस पैसाको लगानी त्यसै खेर नजाओस् । सर्वसाधारणले कुनै विपत्तिबाट क्षति बेहोर्नुपरिहाले पनि त्यस क्षतिको क्षतिपूर्ति बीमा कम्पनीबाट क्लेम गरेर लिन सकून् भन्ने हाम्रो उद्देश्य हो । हामीले आममानिसलाई, हाम्रा ग्राहक, शुभचिन्तकलाई बुझाउन खोजेको त्यही नै थियो, त्यो मानेमा हामी सफल पनि भयौं । करिब नौ महिनासम्म हामीले त्यो क्याम्पेनिङ अगाडि बढाएका थियौं । क्याम्पेनिङ छोटो अवधिको भयो भन्नेसम्मका गुनासा पनि कतिपय ठाउँबाट आए । समग्रमा हामी अभियानमा सफल नै भयौं । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री