आइतबार, २२ असार २०८२

फेसबुक, इन्टाग्राम खाता बन्द गरेबापत ट्रम्पलाई मेटाले साढे दुई करोड डलर क्षतिपूर्ति तिर्ने

समयपोष्ट २०८१ माघ १७ गते १९:०७

Advertisement

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको फेसबुक तथा इन्टाग्राम खाता बन्द गरेबापत मेटाले साढे दुई करोड अमेरिकी डलर क्षतिपूर्ति तिर्ने भएको छ। फेसबुकको मातृ कम्पनी मेटाले सन २०२१ बाट २०२४ जुलाईसम्म ट्रम्पको खाता बन्द गरेको थियो।

बेलायती सञ्चारमाध्यम बीबीसीका अनुसार, २०२१ जनवरी ६ मा अमेरिकाको क्यापिटोल हिलमा भएको दंगापछि ट्रम्पको फेसबुक खाता बन्द गरिएको थियो। त्यस निर्णयविरुद्ध ट्रम्प अदालत गएका थिए। मुद्दा मिलान गर्ने क्रममा मेटाले क्षतिपूर्ति स्वरूप उक्त रकम तिर्ने सहमति जनाएको हो। यो खबर पहिलोपटक वाल स्ट्रिट जर्नलले सार्वजनिक गरेको थियो।

मुद्दा मिलाइएका दुई करोड २० लाख डलर ट्रम्पको पुस्तकालय स्थापनामा खर्च गरिने बताइएको छ।

गत नोभेम्बरमा अमेरिकी राष्ट्रपति चुनाव जितेपछि मेटा कम्पनीका मालिक मार्क जुकरबर्ग ट्रम्पलाई भेट्न फ्लोरिडास्थित उनको रिसोर्ट मार-ए-लागोमा पुगेका थिए।

Advertisement

फेसबुक, इन्टाग्राम तथा ट्विटरबाट प्रतिबन्ध लगाइएपछि ट्रम्पले आफ्नै स्वामित्वमा सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ सञ्चालनमा ल्याएका थिए।

ट्विटर (हाल एक्स) को स्वामित्व एलन मस्कले लिएपछि मात्रै ट्रम्पको प्रतिबन्ध फुकुवा गरिएको थियो। आगामी राष्ट्रपतीय चुनावमा ट्रम्पले पुनः उम्मेदवारी दिने र जित्ने अनुमान भइरहेका बेला मेटाले उनको प्रतिबन्ध फुकुवा गरेको हो।

प्रतिक्रिया

सम्बन्धित सामाग्री