विद्युतीय व्यापार विधेयक संसदीय समितिबाट पारित
‘विद्युतीय व्यापारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८०’ आइतबार प्रतिनिधि सभाअन्तर्गतको उद्योग, वाणिज्य तथा श्रम र उपभोक्ता हित समितिबाट सर्वसम्मत रुपमा पारित भएको छ।
समितिको आइतबार बसेको बैठकले लामो छलफलपछि उद्योग, कानून र सञ्चार मन्त्रालयसँगको समन्वयमा तयार गरिएको अन्तिम मस्यौदालाई अनुमोदन गरेको हो। समितिका सभापति अब्दुल खानले सबै सदस्यहरूको सहमतिका साथ विधेयक पारित भएको घोषणा गरे। समितिबाट पारित भएको विधेयक अब संसदमा पेश गरिने उनले बताए।
बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले यो विधेयक नयाँ र महत्वपूर्ण भएको उल्लेख गर्दै ऐनलाई कार्यान्वयन गर्न आवश्यक विधि र कार्यविधि निर्माणमा ध्यान दिनुपर्ने बताए। मन्त्री भण्डारीले यो विधेयक समितिको गम्भीर छलफल र सहकार्यको परिणाम भएको भन्दै यसलाई सरकार र समितिको ‘पूँजी’का रुपमा व्याख्या गरे।
विधेयकले मध्यस्थकर्ता, उत्पादक र बिक्रेतालाई व्यवसायीका रुपमा कानुनी मान्यता दिएको छ। अनलाइन माध्यमबाट अन्य उत्पादनको व्यापार गर्न कानुनी व्यवस्था गरिएको छ।
प्रतिक्रिया