बिहीबार, १ जेठ २०८२

निर्जीवन बीमा कम्पनीहरूले ६ महिनामा गरे २१ अर्ब ३० करोडको व्यापार

समयपोष्ट २०८१ माघ ११ गते ९:५७

Advertisement

चालु आर्थिक वर्षको पहिलो छ महिनामा नेपालका निर्जीवन बीमा कम्पनीहरूले २१ अर्ब ३० करोड रुपैयाँ बराबरको व्यापार गरेका छन्। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार, १४ निर्जीवन बीमा कम्पनी र ४ लघुबीमा कम्पनीले उक्त बीमाशुल्क संकलन गरेका हुन्। यो अघिल्लो आर्थिक वर्षको पुस महिनासम्मको तुलनामा ९.६० प्रतिशतले बढी हो।

शिखर इन्स्योरेन्सले सबैभन्दा बढी २ अर्ब ५९ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको छ। यसपछि सगरमाथा इन्स्योरेन्स २ अर्ब ५५ करोड, सिद्धार्थ प्रिमियर २ अर्ब १३ करोड, आईजीआई प्रुडेन्सियल १ अर्ब ७३ करोड र हिमालयन एभरेस्ट १ अर्ब ७१ करोड संकलन गर्दै शीर्ष स्थानमा छन्। अन्य कम्पनीहरूमध्ये नेको इन्स्योरेन्सले १ अर्ब ६६ करोड, एनएलजी इन्स्योरेन्सले १ अर्ब ४० करोड, र ओरियन्टल इन्स्योरेन्सले १ अर्ब ३४ करोड संकलन गरेका छन्।

लघुबीमा कम्पनीहरूमध्ये नेपाल माइक्रो इन्स्योरेन्सले १२ करोड ४१ लाख, प्रोएक्टिभ इन्स्योरेन्सले १० करोड ३५ लाख, स्टार माइक्रो इन्स्योरेन्सले ९ करोड ८२ लाख, र ट्रष्ट माइक्रो इन्स्योरेन्सले ९ करोड ६८ लाख रुपैयाँ बीमाशुल्क सङ्कलन गरेका छन्।

यो अवधिमा अधिकांश निर्जीवन बीमा कम्पनीहरूको वृद्धि दर सकारात्मक देखिएको छ। नेपाल इन्स्योरेन्सले ४५.७१ प्रतिशत र ओरियन्टल इन्स्योरेन्सले ४३.८९ प्रतिशतको उच्च वृद्धि हासिल गरेका छन्। एनएलजी इन्स्योरेन्सले १२ प्रतिशत वृद्धि गर्दै दोहोरो अंकमा प्रगति गरेको छ। अन्य कम्पनीहरूको वृद्धिदर एकल अंकमा रहे पनि प्रभु इन्स्योरेन्स र युनाइटेड अजोडले क्रमशः ६.७९ प्रतिशत र ७.८६ प्रतिशत गिरावट व्यहोरेका छन्।

Advertisement

लघुबीमातर्फ, अघिल्लो वर्ष नयाँ कम्पनीका रूपमा सञ्चालनमा आएका स्टार माइक्रो इन्स्योरेन्सले १९.५१ गुणा वृद्धि गर्दै उत्कृष्ट प्रदर्शन गरेको छ।

प्रदेशगत बीमाशुल्क संकलनमा बाग्मती प्रदेश अग्रस्थानमा रहेको छ। यस प्रदेशमा १४ अर्ब २१ करोड संकलन भएको छ। लुम्बिनीमा १ अर्ब ९० करोड, कोशीमा १ अर्ब ८५ करोड, र मधेशमा १ अर्ब ४३ करोड संकलन भएको छ।

तथ्यांकअनुसार, मोटर बीमातर्फ ६ अर्ब ६४ करोड, सम्पत्ति बीमातर्फ ५ अर्ब ४८ करोड, इञ्जिनियरिङ बीमातर्फ ३ अर्ब ७ करोड, सामुन्द्रिक बीमातर्फ १ अर्ब २२ करोड, हवाई बीमातर्फ १ अर्ब १ करोड, र कृषि तथा बाली बीमातर्फ ६५ करोड ५० लाख रुपैयाँ संकलन भएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री