बढ्यो हिमालयन बैंकको खुद नाफा

हिमालयन बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार, बैंकको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य बढेको छ।

Advertisement

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंकले १ अर्ब ५१ करोड ८७ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ०.९८ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब ५० करोड ३९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। खुद ब्याज आम्दानी घटेपनि इम्पेरमेन्ट चार्ज घटेका कारण बैंकको खुद नाफा बढ्न पुगेको हो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १०.०४ प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी १३.१२ प्रतिशत घटेको छ। त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी ८.०३ प्रतिशत घटेको छ। समीक्षा अवधिमा बैंकको इम्पेरमेन्ट चार्ज १ अर्ब ९४ करोडबाट घटेर १८ करोड ४६ लाख रुपैयाँमा झरेको छ। जसका कारण बैंकको सञ्चालन मुनाफा ४१.२२ प्रतिशत बढेको छ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि सामान्य बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी १४ पैसा बढेर १४ रुपैयाँ ३ पैसा पुगेको छ। पुस मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १७६ रुपैयाँ ११ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १६.६८ गुणा रहेको छ। सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा भने ३ अर्ब ९५ करोड ९ लाख रुपैयाँ ऋणात्मक रहेको छ।

२१ अर्ब ६५ करोड ६६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा १६ अर्ब ४८ करोड रुपैयाँ सञ्चित छ। पुस मसान्तसम्ममा बैंकले २ खर्ब ९८ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ३० अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री