सिमेन्ट उद्योग र निर्माण व्यवसायीबीच आपूर्ति र समन्वयका विषयमा सहमति
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक राजन पौडेलको उपस्थितिमा नेपाल सिमेन्ट उत्पादक संघका प्रतिनिधि र नेपाल निर्माण व्यवसायी महासंघसहित निर्माण क्षेत्रसँग सम्बन्धित अन्य चार व्यवसायी समूहका प्रतिनिधिहरूबीच महत्वपूर्ण सहमति भएको छ।
उक्त बैठकमा सिमेन्ट उद्योगहरूले उत्पादनमा ध्यान दिँदै मागअनुसार सहज आपूर्ति गर्नुपर्ने विषयमा छलफल भएको थियो। उद्योगहरूले सामना गरिरहेका विद्युत आपूर्ति कटौती र लोडसेडिङ समस्यालाई अन्त्य गरी उद्योग सञ्चालनको वातावरण सहज बनाउने विषयमा मन्त्रालयले आवश्यक पहल गर्ने प्रतिबद्धता जनाएको छ।
त्यसैगरी, सिमेन्ट उद्योगी र निर्माण व्यवसायीहरूले एकअर्काका समस्यालाई मनन गर्दै आ-आफ्ना स्थानबाट समन्वय र समझदारी विकास गर्न सहमति जनाएका छन्। बैठकले औद्योगिक उत्पादनलाई वृद्धि गर्दै विकास निर्माणका कार्यहरूलाई अघि बढाउन साझा पहल गर्ने निर्णय गरेको छ।
नेपाल सिमेन्ट उत्पादक संघका एक पदाधिकारीका अनुसार, यो सहमति औद्योगिक उत्पादन र निर्माण क्षेत्रको समग्र विकासमा टेवा पुर्याउने उद्देश्यले भएको हो।
प्रतिक्रिया