भारतको नयाँ दिल्लीमा नेपाल–भारत व्यापार संझौताबारे छलफल
नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको नाडा प्रतिनिधिमण्डलले भारतको राजधानी नयाँ दिल्लीमा भारत सरकार र इन्जिनियरिङ्क एक्सपोर्ट प्रमोशन काउन्सिल अफ इण्डीयासँग द्विपक्षीय व्यापार विस्तारका सम्भावनाबारे पहिलो चरणको महत्वपूर्ण छलफल सम्पन्न गरेको छ।
जनवरी १८ मा सम्पन्न उक्त छलफलमा नेपाल र भारतबीचको व्यापार सम्झौतामा सुधार गर्दै थप प्रभावकारी बनाउन र आयात-निर्यात सम्बन्धलाई सुदृढ बनाउने उपायहरूमाथि छलफल भएको थियो। छलफलमा भारतीय पक्षबाट भारत सरकार, वाणिज्य विभागका सहसचिव विमल आनन्द र इइपिसीका राष्ट्रिय अध्यक्ष पंकज चड्डाको नेतृत्व रहेको थियो भने नाडा प्रतिनिधिमण्डलमा नाडाका निवर्तमान अध्यक्ष डा. ध्रुव थापा, वरिष्ठ उपाध्यक्ष आकाश गोल्छा, संस्थागत उपाध्यक्ष पुष्कर ओझा, उपाध्यक्ष राजनबाबु श्रेष्ठलगायत अन्य पदाधिकारीहरूको उपस्थिति थियो।
छलफलको क्रममा आगामी चरणमा थप विषयमा गहन छलफल गर्न भारतको इइपिसीलाई नेपाल भ्रमणको निमन्त्रणा दिन दुबै पक्ष सहमत भए। आगामी छलफलमा अटोमोवाइल कम्पोनेन्ट, अटोमोवाइल स्पेयर पार्ट्स, र विद्युतीय सवारी साधनसम्बन्धी विषयलाई प्राथमिकता दिइने छ।
यस प्रतिनिधिमण्डलको भ्रमण भारतको नयाँ दिल्लीमा जनवरी १७ देखि २१ सम्म चलिरहेको भारत मोविलिटी अटो प्रदर्शनीको सन्दर्भमा भएको हो। यो प्रदर्शनीले अटोमोवाइल क्षेत्रमा नवीनतम प्रविधि र व्यापारिक अवसरहरूलाई प्रवर्द्धन गर्ने उद्देश्य राखेको छ।
छलफलमा भारतीय पक्षबाट इइपिसीका पूर्वअध्यक्ष अरुण गारोडिया, सह निर्देशक पल्लवी साह, कार्यकारी निर्देशक तथा सचिव अधिप मित्रा र निर्देशक नीशिकान्त जुम्दासहितको सहभागिता रहेको थियो।
यो भ्रमण र छलफलले नेपाल–भारत व्यापार सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ।
प्रतिक्रिया