एनआरएनए चिकित्सकले अब नेपालमा बिरामीको उपचार गर्न पाउने

गैरआवासीय नेपाली (एनआरएनए) चिकित्सकले अब नेपालमा बिरामीको उपचार गर्न पाउने भएका छन्।
नेपाल मेडिकल काउन्सिलले पहिलो पटक उनीहरूलाई नेपालमा चिकित्सा अभ्यास गर्न लाइसेन्स दिने निर्णय गरेको छ।
हाल मेडिकल काउन्सिलमा तीन जना गैरआवासीय चिकित्सकले नेपालमा चिकित्सा अभ्यास गर्नका लागि निवेदन दिएका छन्। नेपाल मेडिकल काउन्सिलका प्रवक्ता तथा रजिस्ट्रार डा. सतीशकुमार देवका अनुसार तीमध्ये एक जनालाई तत्काल लाइसेन्स प्रदान गरिने भएको छ। पहिलो पटक लाइसेन्स पाउने चिकित्सक अमेरिका–नेपाल मेडिकल फाउन्डेसनका पूर्वअध्यक्ष डा. भूपेश खड्का हुनुहुन्छ। अन्य दुई जनाले भने लाइसेन्सका लागि आवश्यक कागजात र शुल्क पूरा नगरेकाले हाललाई उनीहरूलाई लाइसेन्स दिन नसकिने जानकारी दिइएको छ।
गैरआवासीय चिकित्सकलाई लाइसेन्स दिनका लागि छुट्टै कार्यविधि तयार गरिएको पनि रजिस्ट्रार देवले बताउनुभयो।
हाल अमेरिकामा मात्रै तीन हजार नेपाली चिकित्सक कार्यरत छन्। काउन्सिलका रजिस्ट्रार डा. देवका अनुसार शुक्रबार बसेको काउन्सिलको बैठकले डा. खड्कालाई एक वर्षका लागि लाइसेन्स दिने निर्णय गरेको छ। पाँच वर्षका लागि लाइसेन्स दिन सकिने प्रावधान भए पनि हरेक वर्ष नवीकरण गर्नुपर्ने नियम लागू गरिएको छ।
नेपाल चिकित्सक सङ्घका अध्यक्ष डा. अनिलविक्रम कार्कीले गैरआवासीय चिकित्सकले विदेशमा सिकेको सीप नेपालमा प्रस्तुत गर्दा नेपाली जनताका लागि ठूलो फाइदा हुने बताउनुभयो। साथै, यस निर्णयले नेपालको चिकित्सा क्षेत्रमा ठूलो प्रगति हुने र लाइसेन्स प्राप्त चिकित्सकले अधिकतम दुईवटा संस्थामा मात्रै काम गर्न पाउने जानकारी पनि दिनुभयो।




























प्रतिक्रिया