काठमाडौँबाट हङकङ उडेका २८ यात्रुलाई ‘फुड पोइजन’, छानबिन समिति गठन

काठमाडौँबाट हङकङ उडेका २८ यात्रुलाई ‘फुड पोइजन’ भएको घटनाबारे छानबिन गर्न खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले चार सदस्यीय समिति गठन गरेको छ।
विभागका प्रवक्ता मोहन कृष्ण महर्जनका अनुसार, क्याथे प्यासिफिक एयरलाइन्सको उडानमा विभिन्न मितिमा काठमाडौँबाट हङकङ गएका यात्रुहरूलाई जहाजमा परोसेको खाना खाँदा ‘फुड पोइजन’ भएको हो।
महर्जनले बताए अनुसार, विश्व खाद्य कार्यक्रम र विश्व स्वास्थ्य संगठनद्वारा सञ्चालित ‘इन्टरनेशनल फुड सेफ्टी अथोरिटी नेटवर्क’ (INFOSAN) बाट प्राप्त इमेलको आधारमा विभागले छानबिन अघि बढाएको हो। यस नेटवर्कमार्फत २८ यात्रुमा ‘फुड पोइजन’ भएको जानकारी प्राप्त भएको थियो।
जनवरी ८ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हङकङ उडेको क्याथे प्यासिफिकको उडानमा १० यात्रु र जनवरी ९ को उडानमा १८ यात्रुलाई ‘फुड पोइजन’ भएको पुष्टि भएको छ।
विभागले सुमन धितालको संयोजकत्वमा चार सदस्यीय समिति गठन गरेको छ। समितिलाई सात दिनभित्र अध्ययन प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ।
खाद्य सुरक्षा र यात्रुहरूको स्वास्थ्य सुरक्षाका लागि यो घटना गम्भीर भएको भन्दै विभागले तत्कालीन छानबिन प्रक्रियालाई तीव्र बनाएको छ।
खाद्य सुरक्षा नियमनको दायित्व बोकेको विभागका महानिर्देशकले इन्टरनेशनल फुड सेफ्टी नेटवर्कको इमरजेन्सी कन्ट्याक्ट पोइन्टको रूपमा काम गर्दै आएका छन्। यात्रुहरूको स्वास्थ्य सुरक्षामा कुनै पनि किसिमको लापरवाही नहोस् भनी विभागले थप सतर्कता अपनाएको छ।




























प्रतिक्रिया