एप्पलको नयाँ स्मार्टफोन : आईफोन १७ एयर
एप्पलले आफ्ना नयाँ उत्पादनहरू मार्फत विश्वभरका प्रविधि प्रेमीहरूलाई रोमाञ्चित बनाउँदै आएको छ। यही प्रविधि जगतमा, एप्पलले आगामी स्मार्टफोन आईफोन १७ एयर ल्याउने तयारी गरेको चर्चा तीव्र छ। यस फोनलाई कम्पनीकै सबैभन्दा पातलो र अत्याधुनिक फोनको रूपमा प्रस्तुत गरिने अनुमान गरिएको छ।
सबैभन्दा पातलो आईफोन
दक्षिण कोरियाली प्रकाशक सिसा जर्नलका अनुसार, आईफोन १७ एयरको मोटाई मात्र ६.२५ एमएम हुनेछ । यो मोटाईका कारण आईफोन १६ र आईफोन १६ प्लसभन्दा २० प्रतिशत पातलो हुने बताइएको छ। यस फोनमा ६.६ इन्चको ठूलो र पातलो डिस्प्ले रहनेछ। फोनको स्लिम डिजाइनले यसलाई थप आकर्षक बनाउनेछ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार, आईफोन १७ एयरले आईफोनको प्लस भेरियन्टलाई प्रतिस्थापन गर्नेछ। यसको अर्थ, एप्पलले आईफोन १७ प्लस सार्वजनिक नगरी आईफोन १७ एयरलाई प्राथमिकता दिने सम्भावना छ।
स्रोतका अनुसार, यो फोन अमेरिकी बजारमा ८९९ डलरको मूल्यमा उपलब्ध हुने अनुमान छ। तर अन्य देशहरूमा यसको मूल्य फरक हुनेछ। उदाहरणका लागि, बेलायतमा यसको मूल्य ८९९ पाउण्ड हुन सक्नेछ।
नेपालमा भने यसको मूल्यका बारेमा कुनै आधिकारिक जानकारी प्राप्त भएको छैन। यद्यपि, यस फोनको प्रीमियम डिजाइन र विशेषताका कारण यो नेपाली बजारमा समेत लोकप्रिय बन्ने अपेक्षा गरिएको छ।
एप्पलले आधिकारिक रूपमा फोनको लञ्च मिति घोषणा नगरे पनि, यो फोन २०२५ सेप्टेम्बरमा सार्वजनिक हुने सम्भावना रहेको छ।
एप्पलका उत्पादनहरू विश्वभर चर्चित छन्, र आईफोन १७ एयरले पनि प्रविधि क्षेत्रमा नयाँ मापदण्ड स्थापित गर्ने विश्वास गरिएको छ। यसको आधिकारिक जानकारीका लागि अझै केही समय कुर्नुपर्नेछ।
प्रतिक्रिया