सोमबार, १७ वैशाख २०८१

भारतको रङ्ग महोत्सवमा ‘क्लेशाः’

समयपोष्ट २०८० माघ १५ गते १९:४५

Advertisement

विश्वको प्रतिष्ठित नाट्य महोत्सवमध्ये एक भारत रङ्ग महोत्सवको २३औँ संस्करणमा नाटक ‘क्लेशाः’ छानिएको छ । यही माघ १८ देखि फागुन १४ सम्म हुने महोत्सवमा विजया कार्कीको परिकल्पना तथा निर्देशन रहेको नाटक आगामी फागुनको ५ र ७ गते मञ्चन हुनेछ । भारतको नाट्य प्रज्ञा–प्रतिष्ठान मातहत रहेको राष्ट्रिय नाट्य विद्यालय (एनएसडी)ले वार्षिक रुपमा आयोजना गर्ने महोत्सवमा यसपटक ६२ नाटक मञ्चन गरिनेछ ।

“हामी मञ्चन गर्ने कुराले उत्साहित छौँ । कोभिडका कारण सहभागी हुन नपाएको नाटकले पुनः त्यो अवसर पाएको छ । हामी नेपालमा विशेष मञ्चन गरेर भारततर्फ लाग्ने छौँ”, निर्देशक कार्कीले भन्नुभयो ।

प्रतीक्षा कट्टेलले लेख्नुभएको नाटक ‘क्लेशाः’को मुख्य स्रोत रामायण हो । यसले ऋषि वाल्मीकिको कथालाई समसामयिक रुपमा प्रस्तुत गर्ने प्रयास गरेको छ । ‘क्लेशाः’का पाँच तत्व अज्ञानता, अहङ्कार, मोह, विच्छेद र डरको दार्शनिक पृष्ठभूमिसहित नेपालको एक दुर्गम गाउँमा पञ्चायती व्यवस्थाको सामाजिक र सांस्कृतिक परिवेश नाटकमा छ ।

नाटकमा सरिता गिरी, सुरक्षा पन्त, कुशल पाण्डे, सुदीप खतिवडा, विजय बराल, विकास जोशी, रोशनी कार्की, स्वप्निल घिमिरे, सन्दीप श्रेष्ठ, संयोग गुरागाईं, मिलन कार्की, सुजन खतिवडा, सविना थापा र रुजा राउत लगायतका कलाकारले अभिनय गर्नुभएको छ । ‘क्लेशाः’ टोली काठमाडौँको विशेष मञ्चनपछि फागुन २ गते भारत प्रस्थान गर्नेछ । यहाँ माघको २९ गते साँझ ५ बजे र फागुन १ गते दिउँसो १२ र साँझ ५ बजे मण्डला थिएटरमा मञ्चन हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री