शनिबार, १५ वैशाख २०८१

काठमाडौँमा मौलिक उत्पादनसहित चौरासी व्यञ्जन मेला

समयपोष्ट २०८० पुष २६ गते १८:१५


काठमाडौँ कपनस्थित मौलिक बजार तथा भान्छाघरले मौलिक उत्पादनका साथै चौरासी व्यञ्जन मेला २०८० को आयोजन गर्न लागेको छ ।

Advertisement

‘बसेपनि सहर, गाउँ कै खाने रहर, स्वादकालागि भन्दापनि स्वास्थ्यकालागि खाऔँ’ भन्ने नारासहित मौलिक भान्छाघरले आगामी माघ १ गतेदेखि ७ गतेसम्म मेला आयोजना गर्न लागेको हो । कपन-१० गैह्रीगाउँमा आज आयोजित पत्रकार सम्मेलनमा मौलिक भान्छाघरका सञ्चालक सुमन दाहालले सात प्रदेश, सात परिकार, सात पंक्षी, सात स्वाद, सात संस्कृति र सात पहिरनका साथ सातै दिन सांस्कृतिक साँझको व्यवस्था हुनेगरी मेला आयोजना गर्न लागिएको बताउनुभयो ।

सो अवसरमा दाहालले मौलिक चाडपर्व, संस्कृति र मौलिक परिकार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्ने उद्देश्यले चौरासी व्यञ्जन मेलाको आयोजना गर्न लगेको बताउनुभयो । उहाँले जैविक विविधता दिवस तथा माघे सङ्क्रान्तिका अवसरमा आयोजना हुन लागेको मेलामा सात प्रदेशका विशेष परिकार पस्किन लागेको जानकारी दिनुभयो ।

मेलामा कोशी प्रदेशको किनेमा र याङबेन, मधेस प्रदेशको भक्का र बगिया, बागमती प्रदेशको योमरी र मासको बारा, गण्डकी प्रदेशको पोखरेली खीर, लुम्बिनी प्रदेशको ढिकृ, कर्णली प्रदेशको मार्सीको कसार विशेष खाना सेट र सुदुरपश्चिम प्रदेशको माडा र रोटासहित माघे सङ्क्रान्ति विशेष तिलको लड्डु, खिचडी, बारा, फपरको फुलौरा रहनेछ ।

मेलामा १५ भन्दा बढी स्थानीय तहसँगको सहकार्यमा स्थानीय पालिकाको उत्पादनको कक्ष, ४२ वटा व्यञ्जनको ‘बुफेट’ रहनेछ । साथै आगन्तुकले एक ‘सेट’ परिकार निःशुल्क चाख्न पाउने छन् । साथै स्थानीय उत्पादन ५० प्रतिशत छुटमा उपलब्ध गराइने छ ।

सञ्चालक दाहालले चाडपर्वमा खाइने विशेष परिकारको महत्व बुझाउन विभिन्न प्रतियोगिता हुने समेत जानकारी दिनुभयो । उहाँले सात सय ५३ वटै स्थानीय तहका मौलिक उत्पादन र परिकार प्रदर्शनीमा प्रवर्द्धन गर्ने, बजारीकरणमा टेवा पुर्‍याइने उद्देश्य लिइएको बताउनुभयो । रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री