
सरकारले बालकुमारी घटनाको छानबिनका लागि उच्च स्तरीय जाँचबुझ आयोग गठन गरेको छ ।
सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले पूर्व न्यायाधीश शेखर पौडेलको अध्यक्षतामा उच्च स्तरीय जाँचबुझ आयोग गठन गरेको हो ।
बैठकले पौडेलको नेतृत्वमा पूर्व एआइजी अरुण बिसी र गृह मन्त्रालयका सहसचिव नारायणप्रसाद भट्टराईलाई आयोगको सदस्य तोकेको छ । आयोगलाई प्रतिवेदन बुझाउन एक महिनाको समय दिइएको छ । आयोगले आजैदेखि काम थाल्नेछ ।
बालकुमारी घटनामा भएको मानवीय र अन्य क्षतिको विवरण अध्ययन गर्ने जिम्मेवारी आयोगलाई दिइएको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।
घटनामा भएका कमीकमजोरीहरूको अध्ययन र घटनासँग सम्बन्धित व्यक्ति तथा निकायहरूको भूमिकाको अध्ययन गरी आयोगले प्रतिवेदन बुझाउने छ । बालकुमारीस्थित इपिएस कोरिया शाखा कार्यालयमा परीक्षा फारम भर्ने विषयलाई लिएर भएको प्रदर्शनका क्रममा शुक्रबार अछामको चौरपाटी गाउँपालिका–१ का वीरेन्द्र शाह र दैलेखको महाबु गाउँपालिका–६ का सुजन राउतको ज्यान गएको थियो ।










प्रतिक्रिया