सोमबार, १७ वैशाख २०८१

रेसुङ्गा विमानस्थलमा आज ‘डेमोस्ट्रेसन’ उडान

समयपोष्ट २०७९ पुष २४ गते १०:२८

Advertisement

गुल्मीको रेसुङ्गा विमानस्थलमा आज ‘डेमोस्ट्रेसन’ उडान हुँदैछ ।

रेसुङ्गा नगरपालिका–१० सिमिचौरमा निर्माण गरिएको विमानस्थलमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तारा एयरको ट्वीनअटर जहाजले डेमोस्ट्रेसन उडान गर्न लागेको हो ।

यसको तयारीका लागि काठमाडौंमा रहेका सबै दलका मुख्य नेताहरु सोही उडानबाट त्यहाँ पुग्दैछन् ।

आज ११ बजे त्यहाँ पुग्ने विमानमा गुल्मी १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य चन्द्र भण्डारी, पूर्वमन्त्री तथा एमाले उपमहासचिव प्रदीप ज्ञवाली, पूर्वमन्त्री रामकुमारी झाँक्री, प्रदेश सांसद धनेन्द्र कार्की, रेसुंगाका मेयर खिलध्वज पन्थी, कांग्रेस नेता योगराज कंडेल काठमाण्डौबाट तारा एयरको सो विमानबाट विमानस्थल पुग्नेछन् । गुल्मी २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य गोकर्ण विष्ट भने अस्वस्थताका कारणले नजाने भएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तारा एयरको ट्वीनअटर जहाज बिहान १०ः३० मा गुल्मी प्रस्थान गर्नेछ ।

तारा एयर र नेपाल नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरु समेत जहाजमा रहने भएका छन् । यो जहाज रेसुङ्गा विमानस्थलमा झण्डै १ घण्टा रहने र त्यसपछि पुनः काठमाडौं फिर्ता हुनेछ ।

डेमो उडान गरेसँगै नियमित उडानका लागि प्रक्रिया थालिने भएपनि नियमित उडानका लागि केही समय लाग्नेछ । यो अवसर यस अवसरमा रेसुङ्गा नगरपालिका कार्यालयमा बिदा दिइएको छ ।

रेसुङ्गा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद अर्यालले नगरपालिकाको समन्वयमा विमानस्थलमा परीक्षण उडान गर्न लागिएकाले आइतबार नगरपालिकाका सम्पूर्ण सेवा बन्द हुने जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री