सोमबार, १७ वैशाख २०८१

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सकियो, परिक्षण उडानको तयारी

समयपोष्ट २०७८ माघ १६ गते ११:४३

Advertisement

भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य सम्पन्न भएको छ ।

आइसिवी–१ र आइसिवी–२ अन्तर्गतको सम्पूर्ण काम सकिएपछि आगामी फागुन ९ गते ‘क्यालिबे्रशन फ्लाइट’ गर्ने तयारी छ ।

भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षणमा पुगेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले

आगामी फागुन ९ गते ‘क्यालिबे्रशन फ्लाइट’ गर्ने गरी तयारी भएको बताए । उनले भने,“मौसमले साथ दिएमा फागुन ९ गते क्यालिबे्रशन फ्लाइट र बुद्ध जयन्तीमा अन्तर्राष्ट्रिय उडान हुन्छ ।” हुस्सु, कुहिरो र भिजीबिलिटी कम लागेको बेला भने सो फ्लाइट गर्न नमिल्ने प्राविधिकले बताएका छन् ।

मन्त्री आलेले ढिलाइ नगर्न र क्यालिबे्रशन फ्लाइट नगरेसम्म मन्त्रालय, क्यान र आयोजनाका पदाधिकारी, टिम सदस्य दिनरात काममा खटिनसमेत निर्देशन दिए । उनले भने, “कुनै पनि हालतमा, कुनै पनि बहानामा काम नरोकियोस् ।”

गौतमबुद्ध विमानस्थल अन्तरराष्ट्रियस्तरको बनाउन चिनियाँ ठेकेदार कम्पनी नर्थ वेस्ट सिभिल एभिएसन एअरपोर्ट कन्स्ट्रक्सन ग्रुपले पहिलो चरणको कामका लागि अन्तर्राष्ट्रिय बोलपत्र (आइसिबी १) मा सम्झौता भएर निर्माण कार्य २०७१ माघ १ देखि सुरु गरेको थियो ।

आइसिबी–१ अन्तर्गत तीन हजार मिटर धावनमार्ग, चार वटा लिङ्क ट्याक्सी वे, पाँच वटासम्म अन्तर्राष्ट्रिय जहाज पार्किङ गर्नसक्ने क्षमताको जहाज पार्किङस्थल, टर्मिनल भवन, प्रशासनिक भवन, कन्ट्रोल टावर, अग्नि नियन्त्रण भवन, पानी ट्याङ्की, तारवार, नाला, पाँच सय कार अटाउने क्षमता भएको कार पार्किङ, विद्युतीय काम, टर्मिनल बिल्डिङको उपकरणसहितको काम, ट्याक्सी वे लगायतका काम रहेका थिए जुन अहिले सबै निर्माण सम्पन्न भइसकेका छन् ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा तीन तहका काम सम्पन्न भएका छन् । पहिलो (आइसिबी–१ अन्तर्गत छ अर्ब ८२ करोडको । दोस्रो अन्तर्राष्ट्रिय आइसिबी–२ अन्तर्गत रु. ५० करोडको काम र तेस्रो रु. २२ अर्ब ४० करोडको मुआब्जा वितरणको काम सम्पन्न भएको छ । त्यसका अतिरिक्त कार्गो निर्माणका लागि रु. ९० करोडको काम भएको छ । यसरी आयोजनाको सबै काम जोड्दा रु. ३० अर्बभन्दा बढीको लगानीमा भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भएको छ । यो रकममा नेपाल सरकारको ३७ दशमलब ४ र एडिबिको ६२ दशमलब ६ प्रतिशत लगानी छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री