
आम नागरिकले कोभिडविरुद्धको खोप पाएका छैनन्। उपचार नपाएर अकालमा मृत्यु हुनेको संख्या पनि उल्लेख्य छ। सडक, सिँचाइलगायत विकासका पूर्वाधार निर्माणले तीव्रता पाउन सकेको छैन। तर सरकारले मन्त्री क्वार्टरको सजावटमा मात्र करिब २४ करोड रुपैयाँ खर्चिने तयारी गरेको छ। छँदाछँदैको मन्त्री क्वार्टर को सट्टा नयाँ निर्माण थाल्दा राजनीतिक नेतृत्वको चर्को आलोचना भएको थियो। आम नागरिकको आलोचनाबीच सरकारले १ अर्ब ३ करोड रुपैयाँको लागतमा ललितपुरको भैंसेपाटीमा २७ वटा मन्त्री क्वार्टर निर्माण गरिरहेको छ।
१ अर्ब रुपैयाँभन्दा बढी रकम खर्चिएर आवास बनाइरहेको विशेष भवन निर्माण परियोजनाले ती भवनको आन्तरिक सजावटमा मात्र करिब २४ करोड रुपैयाँ थप खर्च गर्ने भएको हो। आगामी दसैंसम्म नयाँ आवासमा मन्त्रीलाई सार्ने योजना बनाएको परियोजनाले आन्तरिक सजावटमा मोटो रकम खर्चन लागेको हो। निर्माणाधीन मन्त्री क्वार्टरकोे ‘इन्टेरियर डिजाइन’देखि अन्य सजावटका सामग्री खरिदका लागि २४ करोड रुपैयाँको बजेट बनाएको विशेष भवन निर्माण आयोजना समन्वय कार्यालयले जनाएको छ। २४ करोडमा इन्टेरियर डिजाइनदेखि मन्त्री क्वार्टरका फर्निचर, बेड, मिटिङ हलका कुर्चीदेखि पर्दा, किचन सामग्रीलगायत रहेको आयोजनाका निर्देशक दिलीपशेखर श्रेष्ठले बताए।
‘२४ करोडको बजेट भए पनि टेन्डर आह्वान गरेपछि घटाघटमा न्यूनतम ३०/३५ प्रतिशत कम पर्छ,’ श्रेष्ठले नागरिकसँग भने, ‘नयाँ संरचनामा धेरै सामग्री हुने भएकाले धेरै देखिएको हो।’ केही समयमा क्वार्टर सजावटका लागि बोलपत्र आह्वान गर्ने तयारी भइरहेको उनले बताए। श्रेष्ठले भनेअनुसार सजावटको रकम २४ करोडमा करिब ३० प्रतिशत कम टेन्डर पर्दा पनि करिब १७ करोड रुपैयाँ हुन्छ। पहिलो चरणमा १ अर्ब ३ करोडको सम्झौता भएर काम अघि बढिरहेको छ। दोस्रो चरणमा करिब ३४ करोड ७७ लाख रुपैयाँको लगानीमा सुरक्षा भवन, हेल्थ क्लब, स्विमिङ पुल बनाउन सम्झौता गर्ने तयारी छ। तेस्रो चरणमा आन्तरिक सजावटका लागि २४ करोडको बजेट बनाएको हो।
मन्त्री क्वार्टर निर्माणको करिब ७० प्रतिशत काम सम्पन्न भएको छ। ललितपुरको पुल्चोकमा रहेको मन्त्री आवास व्यवस्थित, सुविधा सम्पन्न नभएको र अपुग पनि भएको भन्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले ललितपुरको भैंसेपाटीमा नयाँ मन्त्री क्वार्टर निर्माण गर्ने निर्णय गरेको थियो। आवास निर्माणका लागि २०७६ कात्तिकमा श्रीको हनुमान जेभीसँग सम्झौता भएको थियो। सम्झौतामा आयोजनाको निर्माण अवधि दुई वर्ष तोकिको भए पनि कोभिडका कारण निर्माणमा ढिलाई भएको छ। आजको नागरिक दैनिकमा यो समाचार छ ।









प्रतिक्रिया