दैनिक संक्रमित २० हजारसम्म पुग्ने

गत २४ घण्टामा परीक्षण भएका नमुनामध्ये ५० प्रतिशतभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ। सो अवधिमा नेपालभरिमा २३ हजार ४ सय ९ नमुना परीक्षण भएकोमा ११ हजार ३ सय ५२ जनामा कोरोना पुष्टि भएको हो। यो अहिलेसम्मकै सबैभन्दा बढी दैनिक संक्रमित संख्या रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

Advertisement

संक्रमणदर अघिल्लो साताको तुलनामा पिसिआर परीक्षणमा २१.६ प्रतिशत र एन्टिजेनमा १४.२ प्रतिशतले वृद्धि भएको छ। गत २४ घण्टामा नेपालमा कोरोना संक्रमणदर ४८.४९ प्रतिशत रहेको छ। अघिल्लो दिनको तुलनामा संक्रमणदर ४ प्रतिशतले वृद्धि भएको हो।

संक्रमण दर तीव्र गतिले बढेकाले अर्को साता बढेर दैनिक २० हजारसम्म पुग्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रक्षेपण छ। अर्को साताभित्र संक्रमणदर उच्च पुगेर बिस्तारै ओरालो लाग्न सक्ने देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. कृष्णप्रसाद पौडेलले बताए। उनले भने, ‘अर्को साता या माघको १५ पछि बिस्तारै संक्रमण ओरालो लाग्ने देखिन्छ।’

संक्रमणदर तीन दिनमै दोब्बरले वृद्धि हुँदै गएकाले सबै सतर्क हुन आवश्यक रहेको डा.पौडेलले बताए। पौडेलका अनुसार अहिलेको संक्रमणमा ओमिक्रोन भेरिएन्टको वर्चस्व बढी रहेकाले संक्रमितको तुलनामा अस्पताल भर्नादर कम छ। यो भेरिएन्टले श्वासप्रश्वास नलीको माथिल्लो भागमा संक्रमण बढी गर्ने भएकाले संक्रमितमा गम्भीर लक्षण कम भएको तर खोप लिएकामा समेत संक्रमण भएको पाइएको छ। यो भेरिएन्ट तीन तहको लक्षणसहित संक्रमित हुने हुनाले धेरै संक्रमित हुने क्रममा अस्पतालमा बिरामीको संख्या बढ्न सक्ने र कतिपयलाई गम्भीर समस्या पनि हुने गरेकाले सही ढंगले मास्क लगाउन र भौतिक दूरी कायम राख्न चिकित्सकले सुझाएका छन्।

घाँटी दुख्ने, रुघा लाग्ने, टाउको दुख्ने र पखाला लाग्नेमध्ये कुनै लक्षण भएका व्यक्तिले स्थानीय निकायमा निःशुल्क एन्टिजेन परीक्षण गराउन सक्ने मन्त्रालयले जनाएको छ। त्यसैगरी लक्षण भएकाको लागि सरकारी प्रयोगशालामा निःशुल्क परीक्षणको व्यवस्था गरेको मन्त्रालयले जनाएको छ। लक्षण नभएकाको हकमा सरकारी प्रयोगशालामा ८ सय र निजीमा १५ सय रुपैयाँ शुल्कमा पिसिआर परीक्षणको व्यवस्था गरिएको छ। आजको नागरिक दैनिकमा यो समाचार छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री