
बैंक तथा वित्तीय संस्थामा निक्षेप राख्ने सर्वसाधारणको प्रवृत्तिमा परिवर्तन देखिन थालेको छ । सर्वसाधारणमा बढेको वित्तीय साक्षरता तथा बैंक तथा वित्तीय संस्थाको नीतिका कारण चल्ती र साधारणबाट मुद्दती बचततर्फ सर्वसाधारणको आकर्षण बढ्दै गएको पाइएको छ ।
नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चालू आर्थिक वर्षको मङ्सिरसम्ममा बैंक तथा वित्तीय संस्थामा रहेको कुल ४८ खर्ब रुपैयाँमध्ये मुद्दती निक्षेपको अंश ५४ दशमलव ३ प्रतिशत रहेको छ । अघिल्लो आवको यसै अवधिमा मुद्दती निक्षेपको अंश ५० प्रतिशत रहेको थियो । बैंकमा चल्ती र साधारण बचतको अंश घटेर मुद्दती निक्षेप बढ्दै गएको पाइएको छ ।
लगानीयोग्य रकम (तरलता) अभाव भएपछि बैंकहरूले निक्षेप बढाउन उच्च ब्याजदर र विभिन्न सुविधा दिएपछि मुद्दतीतर्फ निक्षेप बढेको हो । बैंकहरूले साधारण बचतमा दिने न्यूनतम ब्याजभन्दा मुद्दती निक्षेपमा थप ५ प्रतिशत विन्दुले अधिकतम ब्याज दिन पाउँछन् । विप्रेषण बचतमा थप १ प्रतिशत विन्दुले बढी ब्याज दिन पाउने व्यवस्था छ ।
राष्ट्र बैंकको निर्देशनअनुसार कल निक्षेपबाहेकका ब्याज प्रदान गरिने सबै प्रकारका स्वदेशी मुद्राका निक्षेप खाताहरूमा दिइने अधिकतम र न्यूनतम ब्याजदरबीचको अन्तर ५ प्रतिशत विन्दुभन्दा बढीले फरक पार्न पाइँदैन । यो व्यवस्थाअनुसार साधारण बचतमा एकल अंकको मात्र ब्याज पाउने भएपछि सर्वसाधारणले मुद्दती निक्षेपमा रकम राख्ने गरेका छन् ।
राष्ट्र बैंकका अनुसार २०७७ असारमा १० प्रतिशत अंश रहेको चल्ती निक्षेप २०७८ मङ्सिरसम्ममा ७ दशमलव १ प्रतिशतमा झरेको छ । यस्तै साधारण बचतको अंश पनि ३४ दशमलव २ प्रतिशतबाट ३१ दशमलव ५ प्रतिशतमा झरेको छ ।
चालू आर्थिक वर्षको शुरूबाटै बैंक तथा वित्तीय संस्थाहरूमा तरलताको घट्दै गएको थियो । यसका कारण बैंकहरूले आकर्षक ब्याजदर दिएर निक्षेप तान्न थालेका थिए । राष्ट्र बैंकको तथ्यांक विश्लेषण गर्ने हो भने पनि चालू आवको ५ महीना अवधिमै मुद्दती निक्षेपको अंश करिब ५ प्रतिशत विन्दुले वृद्धि भइसकेको छ ।
चालू आवको साउनमा बैंकहरूको कुल निक्षेपमध्ये ४९ दशमलव ५ प्रतिशत अंश मात्र मुद्दती निक्षेपको रहेको थियो । यो अंश मङ्सिरसम्म आइपुग्दा करीब ५५ प्रतिशत नजिक पुगिसकेको छ ।
मुद्दती निक्षेपबाट पाउने प्रतिफल उच्च हुने भएकाले यतातर्फ सर्वसाधारण आकर्षित हुने र यो बैंकिङ उद्योगका लागि सकारात्मक रहेको बताउँछन् मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृतसमेत रहेका डेभलपमेन्ट बैंकर्स संघका अध्यक्ष प्रद्युम्न पोखरेल । ‘चल्ती र सामान्य बचतको अंश घटेर मुद्दतीको निक्षेप बढेको देखिन्छ,’ उनले भने, ‘बैंक तथा वित्तीय संस्थालाई पूँजी व्यवस्थापनका लागि यो सकारात्मक हो ।’ आजको आर्थिक अभियान दैनिकमा यो समाचार छ ।










प्रतिक्रिया