बिहीबार, १३ वैशाख २०८१

हामी दिगो र उत्कृष्ट ढङ्गले अघि बढ्छौं

समयपोष्ट २०७७ माघ १६ गते १२:३२

Advertisement

प्रद्युमन पोखरेल
प्रमुख कार्यकारी अधिकृत- मुक्तिनाथ विकास बैङ्क
प्रथम उपाध्यक्ष- डेभलपमेन्ट बैङ्कर्स एसोसिएसन नेपाल

कोरोना भाइरसको महामारीले बैङ्किङ क्षेत्रमा कस्तो प्रभाव पारेको छ ?

कोभिड–१९ को प्रभाव बैङ्किङ क्षेत्रमा मात्र नभई समग्र आर्थिक परिदृश्यमै परेको छ । साथै, नेपालमात्र नभएर पूरै विश्व नै यसबाट आक्रान्त छ । हामीले यो महामारी झेलेको करिब एक वर्ष पुग्नै लागेको छ । आर्थिक मात्र नभई सामाजिक क्षेत्र पनि कोभिडबाट प्रभावित छ । अझै सम्पूर्ण परिवार, साथीभाइ आपसमा एकीकृत भएर जमघट गर्ने माहोल तयार भइसकेको छैन । नेपाल राष्ट्र बैङ्कले पछिल्लो चार महिना (कात्तिक महिनासम्म)को म्याक्रो इकोनोमिक डेटा निकालेको छ । यसको राम्रो पक्ष भनेको हाम्रो आयात, निर्यात र रेमिट्यान्समा वृद्धि भएको छ । सरकारी खर्च, राजस्व बढेको छ । बैङ्कहरुको कर्जा बढेको छ, बेस रेट घटेको छ । २०७७ कात्तिक भर्सेस २०७६ कात्तिकको डेटा हेर्दा औद्योगिक सामग्रीहरुको आयात पनि बढेको देखिन्छ । यसले उद्योगहरु बढी चलेकोतर्फ इङ्गित गरेको छ । पुँजीगत सामानको जुन आयात बढेको छ, यसले उत्पादनलाई अझ बढी सहयोग गर्दछ । तर, त्यही डेटामा हेर्दा पेट्रोलियम पदार्थ, यातायातका साधनहरुको पार्टपुर्जा, औजार आयातमा नकारात्मक वृद्धि देखिएको छ । पर्यटक आउने सङ्ख्या पनि एकदमै घटेको छ । समग्रमा हेर्दा धेरै सूचकमा वृद्धि देखिए पनि पर्यटनमा नराम्रो किसिमले ‘हिट’ गरेको हुँदा त्यसको प्रभाव छ । अर्थतन्त्र र बजारमा यसले पारेको प्रभावले बैङ्किङ क्षेत्रमा पनि यसको असर परेको छ । बैङ्किङ क्षेत्रमा कोभिड–१९ ले तीनवटा ‘आर’ले असर पारेको छ । पहिलो ‘रेभेन्यु’, दोस्रो ‘रेमिन्युरेसन’ र तेस्रो ‘रिपेमेन्ट’ ले असर गरेको देखिन्छ । उद्योग व्यवसायले जुन हिसाबले पहिला आम्दानी जेनेरेट गर्न सक्दथ्यो त्यो गर्न सकिरहेको छैन । बैङ्कको रेभेन्यु पनि घट्ने क्रममा छ । यस्तै, रोजगारीलाई रेमिन्युरेसनसँग पनि जोड्न सकिन्छ । रोजगारीको अवसर निकै घटेको छ । जुन स्केलमा उद्योग व्यवसायहरु चल्नुपर्ने हो त्यो देखिँदैन । यसले गर्दा बैङ्कका ऋणीहरुलाई रिपेमेन्ट गर्न गाह्रो भएको छ ।

मुक्तिनाथ विकास बैङ्कको कुरा गर्दा हाम्रा धेरैजसो कर्जाहरु लघुवित्त, साना तथा मझौलामा भएको हुँदा यसले धेरै जनताहरु लाभान्वित हुन्छन् भन्ने हाम्रो अपेक्षा छ ।

राष्ट्र बैङ्कले ऋणीहरुलाई दिने भनेको सहुलियतले खराब कर्जा बढाउने सम्भावना कति छ ?

नेपाल राष्ट्र बैङ्कले ऋणीहरुलाई चार किसिमको सहुलियत दिएको छ । ऋण भुक्तानी गर्ने समय बढाइदिने, रिस्ट्रक्चरिङ, रिसेड्युलिङ गरिदिने, टप अप लोन र रिफाइनान्सको सहुलियत दिने भनेको छ । अहिलेको चुनौतीपूर्ण घडीमा यसले बैङ्कहरु र ऋणीलाई राहत नै पुर्याउँछ । तर, जुन सहुलियतमा जाने कर्जाहरु छन्, ती सहुलियतको कर्जाहरु यदि राम्रोसँग दिन सकिएन भने बैङ्कले छनोट गर्दा हामीले टार्गेट गरेको क्षेत्रलाई सुविधा दिन सकिएन भने यसले पक्कै असर पार्छ । मुक्तिनाथ विकास बैङ्कको कुरा गर्दा हाम्रा धेरैजसो कर्जाहरु लघुवित्त, साना तथा मझौलामा भएको हुँदा यसले धेरै जनताहरु लाभान्वित हुन्छन् भन्ने हाम्रो अपेक्षा छ । यद्यपि त्यसमा नीतिगत सुधारको आवश्यकता सधैँ परी नै हाल्छ । खराब कर्जा बढ्ने हो कि भन्ने जुन छ, त्यसको सम्भावना पनि छ ।

नेपाल राष्ट्र बैङ्कले व्यवसायीहरुलाई सहुलियत दिन भनिरहेका बेला कतिपय बैङ्कहरुले भटाभट धितो लिलामका सूचनाहरु जारी गरिरहेका छन् । समस्या कहाँनेर हो ?

राष्ट्र बैङ्कको निर्देशनअनुसार हामीले ग्राहकहरुलाई चार भागमा विभाजन गर्न सक्छौं । एउटा कोरोना महामारीले कुनै असर नपरेको तर व्यवसाय विस्तार गर्न सहयोग गरेको व्यवसायहरु जस्तो– औषधि व्यवसाय, खाद्य व्यवसाय आदि हुन सक्छन् । अर्को निम्न असर परेका, मध्यम असर र अति प्रभाव परेका क्षेत्रहरु छन् । अति, कम, मध्यम प्रभाव परेका क्षेत्रहरुलाई सहुलियत दिनु बैङ्क–वित्तीय संस्थाको धर्म हो, त्यो गर्नुपर्छ । तर, जहाँ आम्दानीको स्रोत छ, जानी–जानी ऋणीहरुले पैसा तिर्दैनन् भने त्यस्तो केसमा बैङ्कले आफ्नो नीतिगत निर्णय गर्न सक्छन् । राष्ट्र बैङ्कले ६ महिनाभन्दा कम ओभर ड्यु भएकाको एक्सपेन्सन नगर्नु भनेको छ । त्यसलाई हामीले फलो गर्नुपर्छ । अहिलेको समयमा व्यवसाय, व्यवसायी र बैङ्क यी तीनै पक्ष जोगिनुपर्ने अवस्था छ । केही समय हामी टिक्न सक्यौं भने गत वर्षको आर्थिक वृद्धिदर २ पल्स प्रतिशतको ग्रोथ देखिन्छ । जुन पहिले ६ प्रतिशत पल्सको ग्रोथ हुने गर्दथ्यो । त्यस्तो वृद्धिदर चालु आर्थिक वर्षमा हासिल गर्ने सम्भावना कम होला तर आगामी समयमा हामीले अवश्य हासिल गर्न सक्छौं ।

हामी जुन क्षेत्रमा लगानी गर्छौं, त्यसमा क्यास फ्लो भइरहेको छैन भने त्यहाँ लगानीको ठूलो जोखिम हुन्छ । क्यास फ्लो भइरहेको क्षेत्रमा बैङ्कले लगानी गरे भने उनीहरुको कर्जाको भोलुम पनि बढ्छ । लोनको ग्रोथ पनि हुन्छ र रिकमेन्ड सेक्योर हुन्छ ।

पछिल्लो समय बैङ्कहरुमा अधिक तरलता छ । व्याजहरु पनि घटिरहेका छन् । यसले अनुत्पादक क्षेत्रमा लगानी बढाउने सम्भावना कत्तिको छ ?

मैले अघि नै भनेजस्तो चार महिनाको हाम्रो म्याक्रो इकोनोमिक डेटालाई हेर्ने हो भने हाम्रो आयात १० प्रतिशतले कम भएको छ । निर्यात १० प्रतिशतले बढेको छ । रेमिट्यान्स ११ प्रतिशतले बढेको छ । हाम्रो व्यालेन्स अफ पेमेन्ट १ सय १० अर्बले सकारात्मक छ । यो भनेको निकै ठूलो अमाउन्टले सकारात्मक हो । हामीले हरेक वर्षको डिपोजिट ग्रोथ अथवा कात्तिक महिनासम्मको ग्रोथ हेर्ने हो भने बीस प्रतिशतले निक्षेप बढेको छ । लगानी जम्मा बाह्र प्रतिशतले बढेको छ । त्यसले गर्दा तरलता सरप्लस भएको छ । तर, लगानी गर्दा अनुत्पादक क्षेत्रमा जाने सम्भावना पनि छ । यस्तो अवस्थामा बैङ्क–वित्तीय संस्था एकदम सजग भएर त्यस्तो स्थानमा लगानी गर्नुपर्छ, जहाँ क्यास फ्लो जेनेरेट होस् । अब अनुत्पादक क्षेत्र भनेको कस्तो त ? प्रुडेन्ट लेन्डिङ प्राक्टिस भन्छौं हामी, त्यस अन्र्तगतमा बसेर हेर्दा हामी जुन क्षेत्रमा लगानी गर्छौं, त्यसमा क्यास फ्लो भइरहेको छैन भने त्यहाँ लगानीको ठूलो जोखिम हुन्छ । क्यास फ्लो भइरहेको क्षेत्रमा बैङ्कले लगानी गरे भने उनीहरुको कर्जाको भोलुम पनि बढ्छ । लोनको ग्रोथ पनि हुन्छ र रिकमेन्ड सेक्योर हुन्छ । तरलता बढी भयो, जता हुन्छ लगानी गरौँ भन्नु हुँदैन । प्रुडेन्ट लेन्डिङ प्राक्टिसले यो कुरालाई मान्दैन । अहिलेका बैङ्क–वित्तीय संस्थाले क्यास फ्लो बेसिसमै लगानी गरिरहेको हुनाले उनीहरुले अनुत्पादक क्षेत्रमा लगानी नगर्लान् ।

बैङ्कहरुले घर, गाडी, सेयरजस्ता सजिला ठाउँमा बढी लगानी गरे, पूर्वाधारका क्षेत्र देशको अर्थतन्त्रलाई सपोर्ट गर्ने ठाउँमा लगानी भएन भन्ने सुनिन्छ । पूर्वाधारमा लगानीका समस्या के हुन् ?

ठूला–ठूला परियोजनाहरुमा लगानी गर्नका लागि पूर्वाधार विकास बैङ्क छ । अर्को, ठूला–ठूला वाणिज्य बैङ्कहरु पनि छन् । विकास बैङ्क, फाइनान्स कम्पनीहरुले साना–साना क्षेत्रमा लगानी गर्ने हुन् । त्यस्ता क्षेत्रमा लगानी गर्दा क्यास फ्लो हुन्छ कि हुँदैन त्यो इन्स्योर गर्छौं । अटो, रियल स्टेट, सेयर यी क्षेत्रले एकै चोटी सिधै उत्पादन नगरे पनि इनडाइरेक्ट्ली योगदान पुर्याउँछन् । अटो क्षेत्रमा थुप्रै व्यवसाय, थुप्रै व्यक्तिको रोजगारी जोडिएको हुन्छ । यसले अर्थतन्त्रलाई चलायमान राख्छ । त्यसकारण यिनीहरुको पनि आफ्नै महत्व छ । यद्यपि हामीले सिधै क्यास फ्लो गर्न सक्ने क्षेत्रमा लगानी गर्दा त्यसले अझै बढी अर्थतन्त्रलाई चलायमान राख्न सक्छ । सानो लेवलमा विकास बैङ्क, लघुवित्त, फाइनान्स कम्पनीहरुले लगानी गरेकै छन् ।

विकास बैङ्कको पनि बिस्तारै पुँजीको आकार बढ्दै गएको छ । हामी पनि जान त गइरहेका छौं तर ठूला परियोजनाहरुमा सबैभन्दा बढी भूमिका वाणिज्य बैङ्क, पूर्वाधार विकास बैङ्कको हुनुपर्छ जस्तो मलाई लाग्छ ।

लगानीमैत्री वातावरण र नीति हामीले स्पष्ट गर्न सक्यौं भने त्यसले देशको अर्थतन्त्रलाई नै फाइदा पुुग्ने गरी लगानी गर्न सक्ने अवस्था आउन सक्छ ।

बैङ्कहरु लगानीकर्ताहरुलाई दिने रिर्टनमै बढी केन्द्रित भएको जस्तो देखिन्छ । बैङ्कहरुले अर्थतन्त्रलाई योगदान दिने नवीनतम् काम गर्न सकेनन् भन्ने सुनिन्छ नि ?

यो कुरा सम्पूर्ण रुपमा सही नहुन पनि सक्छ । तर, बढीभन्दा बढी कर्जाहरु सिधै उत्पादनशीलता बढाउने क्षेत्रमा लगानी गर्न सकिन्छ । नेपालको सन्दर्भमा दुई किसिमका लगानी हुन सक्छन् । एउटा– लेबर इन्टेन्सिभ प्रोजेक्टहरु हुन्छन् । जस्तो– कृषि, साना व्यवसायहरु, जसले रोजगारी वृद्धि गराउँछन्, क्यास फ्लोलाई पनि इन्स्योर गर्छन् । त्यस्तै अर्को– क्यापिटल इन्टेन्सिभ परियोजनाहरु । यसमा ऊर्जा, पूर्वाधारसँग सम्बन्धित परियोजनाहरु हुन सक्छन् । यस्ता क्षेत्रमा ठूला वाणिज्य बैङ्क, पूर्वाधार विकास बैङ्कले लगानी गरेर दुवैलाई सँगै लिएर जान सके देशको समृद्धिमा ठूलो योगदान गर्न सकिन्छ । त्यो ठाउँ प्रशस्त छ । हामीले यसका लागि भारतकै पनि उदाहरण लिन सक्छौं । त्यहाँ थुप्रै सुविधाहरु छन् । हाम्रो यहाँ रेलको सुुविधा छैन । सार्वजनिक सवारी साधनहरु व्यवस्थित गर्न बाँकी नै छ । धेरै स्थानमा एयरपोर्टहरु छैनन् । आईटीको क्षेत्रमा यहाँ धेरै सम्भावनाहरु छन् । पर्यटनको क्षेत्रमा केही गर्ने कोशिस गरेका थियौं तर कोभिडले अलिकति पछि पारिदिएको छ । केही समयपछि पुनः त्यो लयमा फर्कने छौं । नेपाल राष्ट्र बैङ्कको तथ्याङ्क हेर्ने हो भने कुल लगानीको १०–११ प्रतिशत मात्र कृषिमा लगानी गर्न सकेका छौं । यसका कारणहरु विभिन्न होलान् । नीतिगत अस्पष्टता, श्रमिक भन्ने बितिक्कै श्रम ऐनको कुरा आउन सक्ला । यो विषयमा उद्योग वाणिज्य सङ्घका साथीहरुले अझ राम्रोसँग बताउन सक्नुुहुुन्छ । लगानीमैत्री वातावरण र नीति हामीले स्पष्ट गर्न सक्यौं भने त्यसले देशको अर्थतन्त्रलाई नै फाइदा पुुग्ने गरी लगानी गर्न सक्ने अवस्था आउन सक्छ ।

कोभिड–१९ सँगै डिजिटल अर्थतन्त्रमा पनि धेरैको रुचि–चासो बढ्दै गएको छ । यसलाई अझ विकास गर्न के गर्नुपर्ला ?

अहिले नेपालको सन्दर्भमा करिब १५ वटा जति फरक–फरक त्यस्ता माध्यमहरु छन्, जसबाट डिजिटल पेमेन्ट गर्न सकिन्छ । त्यो नेपालबाहिर पेमेन्ट गर्न सकिने अवस्था नभएकाले सङ्कुुचित अवस्थामा छ । बाहिरबाट पेमेन्ट भित्र्याउन सक्ने प्रविधिको विकास हुन बाँकी छ । त्यसमा अझै काम हुने अपेक्षा गरौं । मोबाइल बैङ्किङकै कुरा गर्दा राष्ट्र बैङ्कको तथ्याङ्क अनुसार मासिक करिब ७५–७६ लाखको कारोबार हुन्छ । एटीएमको कारोबार पनि मासिक ६० लाख प्लसको हुने गर्दछ । यो राम्रो कुरा हो तर यसले पुग्दैन । पैसाको कारोबार बढीभन्दा बढी डिजिटल्ली गर्न सकियो भने हामीले बढी नोटहरु छापिरहन पर्दैन ।

डिजिटल इकोनोमीमा हामीले धेरै कुराहरु गर्न अझै बाँकी छ । यसले सरकारी, अर्धसरकारी, निजी क्षेत्र, बैङ्क तथा वित्तीय संस्थाहरुका बीचमा हामीले डिजिटल हाइवे क्रियट गर्न सक्यौं भने डिजिटल अर्थतन्त्रले मूर्तरुप लिन सक्छ ।

अब अहिले पसलहरुमा क्युआर कोडबाट कारोबार हुन थालेको छ । क्युुआर कोडको बढावामा मुक्तिनाथ विकास बैङ्कले धेरै ठूलो भूमिका खेलेको छ । यसमा केही महिनाअगाडि हामी टप बैङ्कमै परेका थियौं । यसमा अन्य बैङ्कहरु पनि लागेका छन् । यो निकै नै राम्रो कुरा हो । डिजिटल इकोनोमीमा हामीले धेरै कुराहरु गर्न अझै बाँकी छ । यसले सरकारी, अर्धसरकारी, निजी क्षेत्र, बैङ्क तथा वित्तीय संस्थाहरुका बीचमा हामीले डिजिटल हाइवे क्रियट गर्न सक्यौं भने डिजिटल अर्थतन्त्रले मूर्तरुप लिन सक्छ । यसले पारदर्शिता त बढ्छ नै सरकारी राजस्व पनि वृद्धि हुन्छ । सबैलाई सजिलो हुन्छ । यसलाई बढाउन हामीले जति प्रोत्साहन गर्यौं, यसमा लाग्ने जुन खर्च छ, सामान्यतया डिजिटल अर्थतन्त्रको कुरा गर्दा यो आईटीसँग सम्बन्धित भएको हुनाले आईटी भनेको क्यापिटल इन्टेन्सिभ प्रोजेक्ट हो, त्यसमा खर्च घटाउन सक्यौं भने यसले राम्रो गर्न सक्छ । त्यसमा सरकारले धेरै मोटिभेटिङ नीतिहरु ल्याउन सक्छ र यसलाई बढावा दिएर अगाडि बढाउन सकिन्छ जस्तो लाग्छ ।

आगामी दिनहरुमा हामी ईजीआई एप्रोचअनुसार अगाडि बढ्छौं । ई भनेको याक्लिसेन्स अर्थात् कुनै पनि काम गर्दा उत्कृष्ट ढङ्गले गर्ने । जी भनेको ग्रोथ, हामीले गरेको काम विस्तार भइराख्नुु पर्यो । हाम्रो व्यालेन्स सिट हरेक वर्ष बढिराख्नुपर्ने जुन एसेट्स छ, त्यो उत्कृष्ट ढङ्गको हुनुपर्ने । र, आई भनेको इम्प्याक्ट अर्थात् प्रभाव पनि एकदमै राम्रो हुँदै जाने । यो अप्रोचको साथ हामी अगाडि बढ्छौं ।

मुक्तिनाथ विकास बैङ्कको अवस्था कस्तो छ ? बैङ्कलाई कसरी अगाडि लैजाँदै हुनुुहुन्छ ?

हामीले भर्खरै मात्र हाम्रो १४ औँ वार्षिक साधारणसभा सम्पन्न गरेका छौं । यस्तो कठिन समयमा पनि यस बैङ्कले लगानीकर्ताहरुलाई रिजनेवल रिटर्न दिएको छ । हामीले यो रिर्टन ल्याउन हाम्रा ऋणीहरुलाई दुःख दिएका छैनौं । बैङ्क र व्यवसायी दुवै बच्ने हिसाबले हामीले गएको आर्थिक वर्षमा पनि रिजनेवल रेट अफ रिर्टन दिएका छौं । कोभिडले निकै नै धेरै चुनौतीहरु ल्याएको छ । तर, कुनै पनि ठाउँमा चुनौतीमात्र आउँदैन, आफूसँगै त्यसले सम्भावना पनि बोकेर ल्याउँछ ।

कात्तिक ०७७ र कात्तिक ०७६ को तथ्याङ्क हेर्दा धेरै सूचकहरुमा म्याक्रो इकोनोमिक इन्डिकेटरहरुमा राम्रो गरेको देखिन्छ । हामीले आगामी दिनहरुमा त्यो अवसरलाई हेरेर ईजीआई एप्रोचअनुसार अगाडि बढ्छौं । ई भनेको याक्लिसेन्स अर्थात् कुनै पनि काम गर्दा उत्कृष्ट ढङ्गले गर्ने । जी भनेको ग्रोथ, हामीले गरेको काम विस्तार भइराख्नुु पर्यो । हाम्रो व्यालेन्स सिट हरेक वर्ष बढिराख्नुपर्ने जुन एसेट्स छ, त्यो उत्कृष्ट ढङ्गको हुनुपर्ने । र, आई भनेको इम्प्याक्ट अर्थात् प्रभाव पनि एकदमै राम्रो हुँदै जाने । यो अप्रोचको साथ हामी अगाडि बढ्छौं ।

भूकम्पको समयमा हाम्रो जीडीपीको ग्रोथ एकदम सङ्कुचित भएर २ प्रतिशतमा बसेको थियो । त्यसको अर्को वर्षदेखि निरन्तर करिब साढे ६ प्रतिशतको हाराहारी जीडीपीको ग्रोथ भयो । कोरोनाको पनि एउटा समयसीमा होला जहाँसम्म यसको प्रभाव पर्छ । खोप पनि नेपालमा आउँदै छ । त्यसपछि हामी जिउन सक्छौं । अहिले जुन अवसरहरुबाट हामी बञ्चित भएका छौं, त्यो पनि थपिँदा हाम्रो आउँदो समय झन् राम्रो हुन्छ जस्तो लाग्छ ।

सबैभन्दा महत्वपूर्ण कुरा मुक्तिनाथ विकास बैङ्कको नाम मेट्न दिनुुहुुन्छ जस्तो लाग्दैन । यो कुरा सञ्चालक समिति र लगानीकर्ताको विषयको कुरा हो तर प्रमुख कार्यकारीको हैसियतमा मेरो पनि आँकलन हुन्छ ।

मर्जरबारे फेरि बजारमा हल्ला चल्न थालेको छ । मर्जरबारे मुक्तिनाथको अवधारणा के छ ?

हामीले कुनै पनि कुरा सोच्दा केका लागि भनेर सोच्नुुपर्छ । हामीले साधनभन्दा पनि साध्यका लागि बढी विचार गर्नुपर्छ । मुक्तिनाथ कसका लागि भन्दा आफ्ना स्टेकहोल्डरका लागि । हाम्रा स्टेकहोल्डरहरु को हुन् भन्दा हाम्रा ग्राहक । दोस्रो हाम्रो रेगुुलेटर राष्ट्र बैङ्क, तेस्रो हाम्रो लगानीकर्ता, चौथो जहाँ हामीले गएर काम गर्छौं त्यो कम्युनिटी र पाँचौं हाम्रा स्टाफ हुन् । यी पाँच स्टेकहोल्डरका लागि हामीले काम गर्ने हो । यिनीहरुलाई सन्तुुष्ट बनाएर हामीले काम गर्दै गयौं भने बिस्तारै क्यापिटल, व्यालेन्ससिट बढ्दै जान्छ । बढ्दै गएपछि हाम्रो जुन पुँजी छ नेपाल राष्ट्र बैङ्कले वाणिज्य बैङ्कका लागि तोकेको, त्यो पुुग्न समय लाग्दैन । राम्रो काम गरेको छ, पुँजी पनि पुुगेको छ भने भोलि नियामक निकायले पनि तपाईं वाणिज्य बैङ्कमा अपग्रेड हुनुुहोस् भन्न सक्छ । नभने पनि हामीले जुन काम गरिरहेका छौं, त्यसमा मैले अघि भनेका पाँच स्टेकहोल्डरलाई चित्त बुुझाएर उहाँहरुको लाभका लागि काम गर्न सक्यौं भने संस्था टिकिरहन्छ । हामी दिगो र उत्कृष्ट ढङ्गले अघि बढ्छौं, निरन्तर ग्रोथ गर्छौं र यसको प्रभाव हाम्रा पाँचै स्टेकहोल्डरलाई दिन्छौं भने हामीलाई अर्को कुनै संस्थासँग विलय हुन जरुरी नै पर्दैन । सबैभन्दा महत्वपूर्ण कुरा मुक्तिनाथ विकास बैङ्कको नाम मेट्न दिनुुहुुन्छ जस्तो लाग्दैन । यो कुरा सञ्चालक समिति र लगानीकर्ताको विषयको कुरा हो तर प्रमुख कार्यकारीको हैसियतमा मेरो पनि आँकलन हुन्छ । त्यो हेर्दा मुक्तिनाथको नाम अमर रहन्छ । यो संस्था अगाडि बढिरहन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री