शनिबार, ८ वैशाख २०८१

इन्दुशङ्कर उद्योगबाट चालु यामको २० करोड भुक्तानी

rss २०७७ माघ ५ गते २१:४४

Advertisement

हरिवन नगरपालिका– ११ स्थित इन्दुशङ्कर चिनी उद्योगले चालू यामको भुक्तानी शुरु गरेको छ ।

मुलुकका कतिपय चिनी उद्योगले वर्षौंँदेखिको भुक्तानी नगरिरहेका अवस्थामा सो उद्योगले उखु किसानबाट चालु याममै खरीद गरिएको उखुको भुक्तानी शुरु गरेको हो ।

उद्योगले गत वर्ष उखुको मूल्यलाई नै आधार मानेर उखु उत्पादक किसानलाई यस वर्षको उखु खरीद गरेवापतको रकम भुक्तानी शुरु गरेको उद्योगका उखु प्रबन्धक योगनारायण रजकले जानकारी दिनुभयो । गत पुस ६ गतेदेखि सञ्चालित उद्योगले रु सात लाख २२ हजार क्विन्टलभन्दा बढी उखु पेलिसकेको रजकले बताउनुभयो ।
उहाँका अनुसार गत पुस १५ गतेसम्मको उखु खरीदवापतको करीब रु २० करोड बैंक खातामार्फत भुक्तानी भइसकेको र पुस २९ सम्मको भुक्तानी माघ ७ गतेदेखि गर्ने तयारी गरिएको छ ।
पहिलो चरणमा रु १२ करोड र दोस्रो चरणमा रु आठ करोड भुक्तानी गरिसकिएको र सो अवधिमा पेलिएको उखुको बाँकी भुक्तानी बुधबारदेखि शुरु गरिने रजकले बताउनुभयो । हाल सङ्घीय सरकारले उखुको मूल्य कायम नगरेको भए पनि गत सालको मूल्यलाई आधार मानेर भुक्तानी शुुरु गरिरहेको जनाइएको छ ।
सरकारले पछि तोकेको मूल्य अहिले किसानलाई भुक्तानी गरिएको मूल्यभन्दा धेरै हुन आएमा वा फरक परेमा थप रकम उखु उत्पादक किसानका खातामा हालिदिने उद्योगका वरिष्ठ प्रशासकीय अधिकृत ठाकुरप्रसाद नेपालले जानकारी दिनुभयो । जिल्लाकै धनकौलस्थित अन्नपूर्ण सुगर मिलले भने विगत वर्षकै करोडौंँ रकम भुक्तानी नगरेको किसानले गुनासो गर्दै आएका छन् ।
जिल्लाको अर्काे महालक्ष्मी सुगर मिलले भने किसानको बक्यौता भुक्तानी गरिसकिएको जनाएको छ । इन्दुशङ्कर चिनी उद्योगले भने मुलुकभरका अन्य उद्योगका तुलनामा किसानको भुक्तानी समयमै गर्ने गरेको छ जुन किसानको भुक्तानी बाँकी नराख्ने एक मात्र उद्योग पनि हो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री