
एभरेष्ट बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ ।
विवरण अनुसार बैंकले १ अर्ब ५० करोड ९८ लाख रुपैयाँ खुद नाफा गरेको छ । यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ७ करोड ९९ लाख रुपैयाँ बढी हो।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा सामान्य बढेसँगै खुद नाफामा पनि सामान्य सुधार भएको हो। गत आर्थिक वर्षको पुस मसान्तसम्ममा २ अर्ब ६७ करोड १० लाख खुद ब्याज आम्दानी गरेको यस बैंकले चालु आर्थिक वर्षको सोही अवधिमा २ अर्ब ९० करोड २४ लाख रुपैयाँ आम्दानी गरेको छ।
समीक्षा अवधिमा बैंकको सञ्चालन मुनाफा ११ करोड ३९ लाख रुपैयाँ बढेर २ अर्ब १५ करोड ६९ लाख रुपैयाँ पुगेको छ।
८ अर्ब ५१ करोड २ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको प्रतिशेयर आम्दानीमा पनि सामान्य सुधार भएको छ। गत आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा बैंकको वेसिक प्रतिशेयर आम्दानी २ पैसा बढेर ३५ रुपैयाँ ६५ पैसा कायम भएको छ भने डाइलुटेड प्रतिशेयर आम्दानी ३ पैसा बढेर ३५ रुपैयाँ ४८ पैसा कायम भएको छ।
पुस मसान्तसम्ममा बैंकको जगेडा कोषमा ७ अर्ब २६ करोड ७४ लाख रुपैयाँ सञ्चित छ। त्यसैगरी, बैंकको शेयरधनी कोषमा १ अर्ब ५६ करोड १ लाख रुपैयाँ र शेयर प्रिमियम २३ करोड ८४ लाख रुपैयाँ रहेको छ। सो अवधिसम्ममा बैंकले ८६ करोड ४९ लाख रुपैयाँ वितरण योग्य मुनाफा आर्जन गरेको छ।
बैंकले दोस्रो त्रैमासको अन्त्यसम्ममा १ खर्ब ४१ अर्ब १९ करोड रुपैयाँ निक्षेप सङ्कलन गरी १ खर्ब १४ अर्ब ३३ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। सो अवधिसम्ममा बैंकको निष्क्रिय कर्जा ०.१९ प्रतिशतबाट घटेर ०.१६ प्रतिशतमा सीमित भएको छ।
गत आर्थिक वर्षको पुस मसान्तको तुलनामा बैंकको प्रतिशेयर नेटवर्थ १२ रुपैयाँ ५९ पैसा बढेर २०७ रुपैयाँ ४ पैसा कायम भएको छ। त्यसैगरी, समीक्षा अवधिमा बैंकको रिटर्न अन इक्वीटी १८.२३ प्रतिशतबाट घटेर १७.२२ प्रतिशतमा झरेको छ।










प्रतिक्रिया