शनिबार, १५ वैशाख २०८१

नेपालमा कोरोना भाइरसको संक्रमण भेटिएको पुष्टि

समयपोष्ट २०७६ माघ १० गते १९:४८

Advertisement

चीनबाट नेपाल आएका एक विद्यार्थीको स्वास्थ्य परीक्षणमा कोरोना भाइरसको संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलन गरी कोरोना भाइरसको संक्रमणको पुष्टि भएको जानकारी दिएको हो ।

‘चीनको युवान क्षेत्रबाट नेपालमा आएका एक व्यक्तिलाई प्रारम्भिक जाँच गरी सो को निश्चित निदानका लागि डब्लुएचओ कोल्याबोरेटिङ सेन्टर हङकङमा पठाइएकोमा जाँच पोजेटिभ आएको र हालल उक्त व्यक्ति लक्षणविहीन रहेको र प्रत्यक्ष निगरानीमा रहेको जानकारी गराइन्छ’ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

यसबारे इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सघन निगरानी तथा विस्तृत अध्ययन गरिरहेको मन्त्रालयले जनाएको छ ।

‘बिरामीका नजिकको सम्पर्कमा आएको हुन सक्नेहरुको खोजी गरी पहिचान र परीक्षणको काम हुँदैछ’ मन्त्रालयको विज्ञप्तिमा भनिएको छ ‘यसबारे अन्तर्राष्ट्रिय स्वास्थ्य नियमावलीका प्रावधानअनुसार विश्व स्वास्थ्य संगठनलाई चाँडै विस्तृत परिवतरणसहित जानकारी गराइँदैछ ।

मन्त्रालयले शंकास्पद विरामीको रिपोर्टिङ गर्ने फारम र रोगबारेको सूचना सामग्री सबैले पाउने गरी उपलब्ध गराइसकेको जनाएको छ । त्यस्तै कोरोना भाइरस संक्रमित बिरामी आउन सक्ने स्थानमा तयारी र सतर्कतासमेत अपनाएको छ ।

त्रिभुवन विमानस्थलमा रहेको हेल्थ डेस्कको क्षमता बढाएर उपयुक्त जनशक्ति र उपकरणसहित नेपाल भित्रने शंकास्पद बिरामीको निगरानी भइरहेको पनि मन्त्रालयले जनाएको छ । ‘त्यहाँबाट ज्वरोसहितका बिरामीको पहिचान गरी तोकिएका अस्पतालहरुमा अवलोकन, परीक्षण, उपचारका लागि लैजाने व्यवस्था भइसकेको छ’ मन्त्रालयले भनेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री