बिहीबार, १३ वैशाख २०८१

अन्ततः टुंगियो सभामुख प्रकरण : अग्नि सापकोटा निश्चित

समयपोष्ट २०७६ माघ ५ गते १४:०१

Advertisement

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ( नेपाल)का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच नेता अग्नि सापकोटालाई सभामुख बनाउने सहमति जुटेको छ ।

आइतबार बिहान बालुवाटारमा सभामुख चयनका लागि प्रधानमन्त्री ओली र नेकपाका अर्का अध्यक्ष प्रचण्डबीच कुराकानी भएको थियो । आजै बेलुका बस्ने सचिवालय बैठकले सापकोटाको नाम अनुमोदन गर्दै सभामुखको उम्मेदवारका रुपमा सार्वजनिक गर्ने तयारी गरेको छ ।

यसअघि नेकपाभित्र सभामुखको उम्मेदवार कसलाई बनाउने भन्नेमा दुई नेताबीच मत बाझिएको थियो ।

महासचिव विष्णु पौडेलले आइतबार बिहान दुई अध्यक्षबीचको छलफलपछि अपरान्ह चार बजेलाई सचिवालय बैठक बोलाइएको जानकारी दिए ।

नेकपामा सभामुखको उम्मेदवार कसलाई बनाउने भन्ने विषयको टुङ्गो नलाग्दा प्रतिनिधिसभाको बैठक लगातार स्थगित हुँदै आएको थियो ।

 

पुस ४ गतेबाट सुरु भएको प्रतिनिधि सभाको बैठक पुस ११,१६ र २७ गते सुचना टाँस गरेर स्थगित हुँदै आएको छ । अर्को बैठक पुस ६ गतेलाई बोलाइएको छ ।  माघ ६ गते बस्ने बैठकमा सभामुखको निर्वाचन प्रकृया सुरु गर्ने तयारी छ ।

यसअघि प्रधानमन्त्री तथा अध्यक्ष ओलीले संसदीय दलका उपनेता समेत रहेका सुवासचन्द्र नेम्वाङलाई अघि सारेका थिए भने प्रचण्डले पुरानो सहमति कार्यान्वयन गर्न पनि पूर्वमाओवादी सहमतिबाट सापकोटाको नाम प्रस्ताव गरेका थिए ।

गत असोज १४ पछि प्रनिधिसभामा सभामुख पद रिक्त छ । तत्कालीन सभामुख कृष्णबहादुर महरा यौन दुरव्र्यवहारमा मुछिएपछि उनले राजीनामा दिएसँगै सो पद खाली भएको हो ।

 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री