आपूर्तिमन्त्रीकै टेबलमा लेबलबिनाको पानी !

आमउपभोक्तालाई गुणस्तरीय वस्तु आपूर्ति सुनिश्चित गर्न बजारलाई स्वच्छ र अनुशासित बनाउने जिम्मा पाएको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीकै टेबलमा लेबल उल्लेख (म्यादबिना) नभएको खानेपानीको बोतल फेला परेको छ।

Advertisement

उपभोक्ता संरक्षण ऐन कार्यान्वयन गर्ने उक्त मन्त्रालयका विभागीय मन्त्री लेखराज भट्ट र सचिवद्वय वैकुण्ठ अर्याल तथा यामकुमारी खतिवडाको टेबलमा लेबल उल्लेख नभएको सिलबन्दी खानेपानीको बोतल फेला परेपछि उत्पादकलाई कारबाही गरिएको छ। अक्वा मिनरल्स नेपाल प्राइभेट लिमिटेडबाट उत्पादित पाँच सय एमएलको ‘अक्वा हन्ड्रेड’ ब्रान्डको पानीको बोतलमा लेबल उल्लेख नभएको फेला पारिएको थियो।

बोतलमा लेबल उल्लेख नभएको फेला पारिएपछि मन्त्री भट्ट र सचिव अर्यालको विशेष निर्देशनमा पानी उत्पादन गर्ने उद्योगबाट एक लाख रुपैयाँ जरिवाना गराइएको छ। मन्त्रालयकै अनुगमन गर्ने निकाय वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सोमबार उक्त पानी उद्योगबाट आर्थिक जरिवाना गराएको हो।

विभागका अनुगमन अधिकृत दीपक पोखरेलका अनुसार अक्वा मिनरल्स नेपालको ‘अक्वा हन्ड्रेड’ ब्रान्डको पाँच सय एमएलको पानीको बोतलमा उपभोक्ता मूल्य र कारखाना गेटमा उत्पादित वस्तुको मूल्यसूची नराखेको अभियोगमा एक लाख जरिवाना गराइएको हो। यसबाहेक बोतलमा लेबल (उत्पादन मिति, उपभोग्य मिति र ब्याच नम्बर) उल्लेख नभएको अभियोगमा थप कारबाही गर्न गृहकार्य सुरु गरिएको पोखरेलले अन्नपूर्ण पोस्ट्लाई बताए।

‘पानीको बोतल र कारखाना गेटमा मूल्यसूची नराखेको अभियोगमा एक लाख जरिवाना गरेका छौं,’ पोखरेलले भने, ‘लेबल उल्लेख नभएको विषयमा थप कारबाही प्रक्रिया अगाडि बढाएका छौं।’ विभागको अनुगमन टोली बालाजु औद्योगिक क्षेत्रभित्र अक्वा मिनरल्स नेपालको कारखानामा सोमबार पुगेर जरिवाना गराएको हो।

Advertisement

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा विभागीयमन्त्री लेखराज भट्टले आइतबार पत्रकार सम्मेलन आयोजना गरेका थिए। पत्रकार सम्मेलनका क्रममा मन्त्री भट्ट, सचिवद्वय अर्याल र खतिवडालाई वितरण गरिएको पानी बिनालेबलको भेटिएको थियो। अन्नपूर्ण पाेस्ट दैनिकले खबर छापेकाे छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री