बिहीबार, ६ वैशाख २०८१

मन्त्री पुन र भुटानी अर्थमन्त्रीबीच समान समस्यासँग मिलेर जुध्ने सहमति

समयपोष्ट २०७६ पुष २५ गते १७:१७

Advertisement

नेपाल र भुटानबीच जलवायु परिवर्तनको असरका कारण उर्जा क्षेत्रमा परिरहेको र भविष्यमा पर्न सक्ने असरबारे अन्तर्राष्ट्रिय मञ्चमा समान धारणासहित प्रस्तुत हुने सहमति भएको छ ।

अन्तर्राष्ट्रिय नवीकरणीय उर्जा संघको वार्षिक सम्मेलनमा सहभागी हुन यूएई आउनुभएका उर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन र भुटानका अर्थमन्त्री ल्योन्पो लोकनाथ शर्माबीच शुक्रबार भएको साइडलाइन भेटवार्तामा समान समस्याको समाधान मिलेर गर्ने समझदारी भएको हो ।

भेटमा मन्त्री पुनले भौगोलिक र जलवायुका हिसाबले नेपाल र भुटानबीच धेरै समानता रहेको चचौ गर्दै जलवायु परिवर्तका कारण उस्तै समस्या भोगिरहेको बताउनुभयो । मन्त्री पुनले नवीकरणीय उर्जा र जलविद्युत क्षेत्रका चुनौती समाधानका लागि अन्तर्राष्ट्रिय मञ्चहरुमा एकै आवाज र भावना मुखरित गर्न सके हिमाली देशहरुले भोग्दै आएका जलवायु परिवर्तनका समस्याबारे विश्व समुदायको ध्यानाकृष्ट गराउन सकिने उल्लेख गर्नुभयो । हिमाल पग्लने र खोलाहरुमा बाढी आउने समस्याका कारण जलविद्युत आयोजना र अन्य विकासका पूर्वाधारमा कतिबेला के हुने भन्ने त्रासमा बस्नुपर्ने अवस्था आएको बताउनुभयो ।

जवाफमा भुटानी अर्थमन्त्री शर्माले नेपाल र भुटानको अन्तर्राष्ट्रिय मञ्चमा एउटै आवाज हुने विश्वास दिलाउनुभयो । नेपाल र भुटान दुवैले जलविद्युतमा धेरै लगानी गरिसकेको भन्दै उहाँले वातावरणीय दुस्प्रभावको असरबाट बच्न सहकार्य हुने प्रतिबद्धता जनाउनुभयो ।

मन्त्री शर्माले नेपाल र भुटानले ठूलो परिमाणमा विद्युत उत्पादन गर्न सके भारत र बंगलादेशमा बजारको प्रचुर सम्भावना रहेको औल्याउनुभयो । यस्तै मन्त्री शर्माले नेपालले बायो ग्यासमा राम्रो अनुभव हासिल गरेको भन्दै प्रशंसा गर्नुभयो । बायोग्यासमा नेपालले हासिल गरेको अनुभवबाट सिक्न आफूहरु आतुर रहको मन्त्री शर्माको भनाइ थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री