माथिल्लो तामाकोशी : भौतिक प्रगति ९८ प्रतिशत, चैतको दोस्रो साताभित्र पहिलो युनिटबाट विद्युत् उत्पादन गर्ने लक्ष्य
रमेश लम्साल ठाडो सुरुङमा पाइप जडान चुनौतीपूर्ण
आयोजनामा नियमित खटिएका माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीका प्रवक्ता डा.गणेश न्यौपानेका अनुसार तल्लो ठाडो सुरुङमा पहिलो पाइप जडान, वेल्डिङ लगायतका काम गर्न ३६५ घण्टा लागेको थियो । यस्तै चौथो पाइप जडान गर्दा समय घटेर १२८ घण्टामा झरेको छ । समय क्रमशःघट्दै जाने आयोजनाको भनाइ छ ।
कूल ३७२ मिटर लामो तल्लो ठाडो सुरुङमा पाँच मिटर लम्बाइ र २७ टन तौल भएका ७० वटा पाइप जडान गर्न बाँकी छ । माथिल्लो ठाडो सुरुङको लम्बाई ३१० मिटर रहेको छ । आइतबार स्थलगत निरीक्षणमा पुग्नुभएका कार्यकारी निर्देशक घिसिङले पाइप जडानका लागि लाग्ने समयलाई अझै घटाउन एन्ड्रिज हाइड्रोलाई निर्देशन दिए । तल्लो ठाडो सुरुङमा चार वटा पाइप जडान गरिसकेकाले अब ठेकेदार कम्पनीको आत्मविश्वास बढेकाले कामलाई तीव्रता दिने आयोजनाको विश्वास छ ।
स्वदेशी लगानीमा निर्धाणाधीन आयोजनाको दुई वटा ठाडो सुरुङ २७।५ मिटर पेनस्टक पाइप जडान गरिसकिएको प्रवक्ता डा.न्यौपानेले बताए । आयोजनाको सबैभन्दा जटिल मानिएको तल्लो ठाडो सुरुङमा २० मिटर र माथिल्लो ठाडो सुरुङमा ७.५ मिटर पेनस्टक पाइप जडान गरिएको छ ।
लामो समयको प्रयासपछि अत्यन्तै जटिल र चुनौतीपूर्ण मानिएको तल्लो ठाडो सुरुङमा गत १ असार र माथिल्लोमा ९ असारदेखि पेनस्टक पाइप जडान शुरु गरिएको हो । कार्यकारी निर्देशक घिसिङले पछिल्लोपटक तय गरिएको समयतालिका भित्रै र गुणस्तरीय निर्माण सम्पन्न गर्न आयोजना व्यवस्थापन, परामर्शदाता र ठेकेदार कम्पनीलाई निर्देशन दिए ।
‘जसरी पनि आगामी चैतको दोस्रो साताभित्रमा पहिलो युनिटबाट विद्युत् उत्पादन शुरु गर्नैपर्छ’, कार्यकारी निर्देशक घिसिङले भने । आयोजनामा कूल छ वटा युनिट छन् । त्यसमा पहिलो युनिटबाट ७६ मेगावाट विद्युत् उत्पादन हुन्छ ।
कार्यतालिका अनुसार बाँकी रहने पाँच युनिटबाट आगामी असारभित्रमा अर्थात् चालू आवको अन्त्यसम्म जसरी पनि निर्माण सम्पन्न गर्नैपर्ने तालिका छ । ‘निर्माण सम्पन्न हुने समय तालिकामा चासो छ, यसमा गम्भीर बन्नुहोस्, सँगै भएर निर्माण सम्पन्न गरौँ, यसले सबैलाई खुशी बनाउँछ तालिका अनुसार निर्माण सकेनौँ भने सबैलाई समस्या पर्छ’, कार्यकारी निर्देशक घिसिङले भने । जनशक्ति बढाएर दैनिक तीन चरणमा काम गर्न पनि उनले निर्माण व्यवसायीका प्रतिनिधिलाई निर्देशन दिए ।
ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले गत चैत ९ गते हरेक महीना आयोजनास्थलमा पुगी समस्या समाधान गर्न निर्देशन दिए । मन्त्री पुनले पछिल्लो पटक तय गरिएको तालिकाभित्रै निर्माण सम्पन्न गर्न हरेक महीना आयोजनास्थलमै उच्चस्तरीय बैठक राख्नसमेत आग्रह गरेका थिए ।
पेनस्टक पाइप आपूर्ति तथा जडानको ठेक्का पाएको भारतीय कम्पनी टेक्सम्याकोले काम गर्न ढिलाइ गरेपछि तल्लो ठाडो सुरुङमा पाइप जडानको जिम्मा इलेक्ट्रोमेकानिकल ठेकदार अष्ट्रियन कम्पनी एन्ड्रिज हाइड्रोलाई दिइएको छ । आयोजना, टेक्सम्याको र एन्ड्रिजबीच गत २३ पुसमा आयोजनालाई थप वित्तीय भार नपर्ने गरी यो काम गर्न त्रिपक्षीय सम्झौता भएको थियो । माथिल्लो ठाडो सुरुङमा पाइप जडान भने टेक्सम्याकाले नै गरिरहेको छ ।
काम सन्तोषजनक भएन
माथिल्लो ठाडो सुरुङमा पाइप जडानको काम सन्तोषजनक नपाइएपछि घिसिङले भारतको कलकत्तास्थित टेक्स्याकोका प्रमुख कार्यकारी अधिकृत जिसी अग्रवाललाई आयोजनास्थलबाटै फोन सम्पर्क गरी विगतमा जनाइएका प्रतिबद्धता पूरा गर्न आग्रह गरेका छन् । ‘आयोजनास्थलमा परिचालित व्यवस्थापन ज्यादै कमजोर छ, काममा पर्याप्त जनशक्ति पनि परिचालन भएको छैन । व्यवस्थापन सुधार गरी जनशक्ति थपेर काममा गति दिनुहोस्’, घिसिङको आग्रह छ ।
‘गोरखा भूकम्प’ त्यसपछिका परकम्पन एवं बाढीपहिराले पु¥याएको क्षति तथा अवरोध, तराई–मधेश आन्दोलनका कारण निर्माण सामग्री ढुवानी र इन्धन आपूर्तिमा आएको समस्या, डिजाइन परिवर्तन, हाइड्रोमेकानिकल ठेकेदारको कमजोर कार्यसम्पादन लगायतले गर्दा आयोजनाको निर्माणमा ढिलाइ भएको छ ।
आयोजनाको निर्माण आर्थिक वर्ष २०७३/७४ भित्र सकी विद्युत् उत्पादनको लक्ष्य राखिएको थियो । भूकम्पलगायतका कारणले आयोजनाको निर्माण प्रभावित भएपछि चालू आव २०७५÷७६ को पुस महीनाभित्र निर्माण सक्ने गरी नयाँ एकीकृत समय तालिकाका तय गरिएको थियो ।
तर लट २ को ठेकदारको कमजोर कार्यसम्पादनका कारण निर्माण प्रभावित भएको माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीका प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठले बताए । आयोजनाको विद्युत् गृह निर्माण सम्पन्न भई तयारी अवस्थामा छ भने प्रसारण लाइनको निर्माण अन्तिम चरणमा पुगेको छ ।
प्रतिक्रिया